पार्टी सभापति लामिछाने हुने र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने खाका तयार तय भएको छ भने उम्मेदवार र केन्द्रीय कमिटीको हिस्सा तथा चुनाव चिह्नका विषयमा छलफल चलिरहेको छ।
What you should know
काठमाडौँ — राजनीतिक सहकार्य गर्न रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह पक्षबीच छलफल जारी छ । लामिछाने र बालेनलाई एकै ठाउँमा ल्याउने ‘मोडालिटी’ तयार गर्न जिम्मेवारी पाएको समूहले शुक्रबार अबेरसम्म गरेको छलफल निष्कर्षमा पुग्न नसकेपछि शनिबार फेरि बस्ने तय गरेको छ ।
रास्वपाबाट पूर्वशिक्षामन्त्रीसमेत रहेका शिशिर खनाल र पूर्वसांसद असिम शाह तथा बालेनका तर्फबाट उनका सल्लाहकार कुमार बेन र स्वकीय सचिव भूपदेव शाह शुक्रबार बिहानदेखि छलफलमा बसेका थिए । ‘छलफल सकारात्मक छ तर कतिपय विषय टुंगो लागिसकेको छैन,’ रास्वपाका एक नेताले भने, ‘भोलि (शनिबार) फेरि भेटेर छलफल हुनेछ, त्यसपछि स्वयम् रविजी र बालेनजी एक ठाउँमा बस्नुहुनेछ अनि सम्झौताले अन्तिम रूप पाउनेछ ।’
शुक्रबार दिउँसो दुवै पक्षका नेताहरूले पहिलो खाका तयार पारेका थिए । त्यसमा रास्वपा सभापति लामिछाने हुने र चुनावबाट संसद्मा बहुमत प्राप्त भए बालेनलाई प्रधानमन्त्री बनाउने खाका तयार गरिएको छ । यसमा लामिछाने तयार भएको रास्वपा नेताहरूको दाबी छ ।
बालेन पक्षले राखेका समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारबारे समेत कतिपय प्रस्तावमा टुंगो लागिसकेको छैन । चुनाव चिह्नबारे समेत छलफल भइरहेको रास्वपाका एक नेताले जानकारी दिए । उनका अनुसार मेयर बालेन शुक्रबार काठमाडौं महानगरको कार्यक्रममा व्यस्त भएकाले पनि समझदारीलाई अन्तिम रूप दिन प्राविधिक कठिनाइ भएको हो । ‘भोलि फेरि कुराकानी गरेर टुंगो लगाउँछौं,’ बालेनका एक सहयोगीले भने ।
रास्वपा सभापति लामिछानेले सोमबार बेलुकी ७ बजेदेखि राति १ बजेसम्म बालेनसँग सहकार्यबारे छलफल गरेका थिए । बालेनलाई प्रधानमन्त्री बनाएर जान सकिनेबारे रास्वपा नेताहरूले प्रस्ताव गरेका थिए, तर लामिछानेबाट स्पष्ट प्रस्ताव आएको थिएन ।
पछि चितवन पुगेर लामिछानेले छलफल त्यस चरणमा पुगिनसकेको भन्दै खण्डन गरेका थिए । त्यसपछि बालेनले आफ्नो नेतृत्वमा लौरो चुनाव चिह्न भएको देश विकास पार्टीलाई अघि बढाउने गरी छलफल थालेका थिए । मेयरमा उम्मेदवारी दिनुअघिबाटै साथ दिँदै आएका कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा बालेनले बुधबार अपराह्नदेखि बिहीबार अबेरसम्मै राजनीतिक भेटघाट गरेका थिए ।
यसक्रममा उनले विभिन्न राजनीतिक दलका नेता, चिकित्सक, अवकाशप्राप्त कर्मचारी, उद्यमी–व्यवसायी, जेन–जी अभियन्ता, सञ्चारकर्मीलाई भेटेका थिए । ती भेटघाटका क्रममा उनले नयाँ पार्टीमार्फत अघि बढ्न खोजेको भन्दै सुझाव मागेका थिए । त्यही क्रममा उनले समानुपातिकका लागि सूची बनाइरहेको समेत सुनाएका थिए ।
बालेनले राजनीतिक गृहकार्य थालेपछि बिहीबार रास्वपा सभापति लामिछानेले ज्वागल पुगेर उनीसँग पुनः भेट गरेका थिए । त्यसपछि दुवैतर्फका दोस्रो वरीयताका नेताहरू बालेन र लामिछानेलाई एक ठाउँमा ल्याउन छलफलमा जुटेका थिए ।
दुई पक्षबीच सहमति भए समानुपातिकदेखि प्रत्यक्षतर्फ उम्मेदवारमा समेत दुवै पक्षको हिस्सा हुनेछ । बालेन पक्षले उम्मेदवारदेखि हरेक तहमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरेको छ । रास्वपा पक्षबाट यो विषय टुंगो लागिसकेको छैन । ‘सहमति भएन भने बालेनजी देश विकास पार्टीमार्फत नै अघि बढ्नुहुन्छ,’ बालेनका एक सहयोगीले भने, ‘बालेनजी मिले एकता गर्ने, गठबन्धन मात्र चाहिँ नगर्ने भन्नेमा स्पष्ट हुनुहुन्छ ।’
