मन्त्री खरेलले शुक्रबार बिहान तीनै जना नेतालाई छुट्टाछुट्टै भेट्न लागेका हुन् । देउवा, ओली र दाहाललाई भेट्न मन्त्री खरेल तीनै नेताको निवास जाने कार्यक्रम रहेको छ ।
काठमाडौँ — सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाललाई भेट्दैछन् ।
मन्त्री खरेलले शुक्रबार बिहान तीनै जना नेतालाई छुट्टाछुट्टै भेट्न लागेका हुन् । देउवा, ओली र दाहाललाई भेट्न मन्त्री खरेल तीनै नेताको निवास जाने कार्यक्रम रहेको छ ।
मन्त्री खरेलका प्रेस संयोजक सीबी अधिकारीका अनुसार चुनावको वातावरण बनाउनेबारे छलफल गर्न तीन नेतालाई भेट्ने कार्यक्रम तय भएको हो । 'सरकारको तर्फबाट निर्वाचनको वातावरण बनाउने सन्दर्भमा मन्त्रीज्यूले तीनवटै दलका प्रमुख नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्रीहरूलाई भेट्न लाग्नुभएको हो,' अधिकारीले भने ।
खरेलले बिहान ९:३० बजे नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि मन्त्री खरेल ओलीलाई भेट्न भक्तपुरको गुण्डु जानेछन् । ११ बजे गुण्डुमा ओलीलाई भेटेपछि दाहाललाई भेट्ने कार्यक्रम रहेको छ । दाहाललाई १२ बजे भेट्ने समय तय भएको अधिकारीले जानकारी दिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित तीनैजना नेताहरूलाई राष्ट्रपति निवासमा छलफल गरेका थिए । निर्वाचनका सम्बन्धमा उनीहरूबीच छलफल भएको थियो ।
