चुनाव नहुने हल्ला र भ्रम फैलाइएको भन्दै उनले त्यसमा विश्वास नगर्न पनि आग्रह गरे
काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मै निर्वाचन हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन् । लहानस्थित प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै मन्त्री खनालले हरहालतमा ताकिएकै मितिमा चुनाव हुने दाबी गरेका हुन् ।
चुनाव नहुने हल्ला र भ्रम फैलाइएको भन्दै उनले त्यसमा विश्वास नगर्न पनि आग्रह गरे । 'चुनाव हुन्न, यस्तो हुन्छ, त्यस्तो हुन्छ भन्ने हल्ला फैलाइएको छ,' उनले भने, 'त्यसमा एकरति पनि विश्वास नगर्नुस्, चुनाव निश्चित हुन्छ ।'
यो सरकारको विभिन्न काममध्ये चुनाव मुख्य अभिभारा भएको र त्यसका लागि वातावरण निर्माण हुँदै गएको उनको भनाइ छ । चुनाव सौहार्द र स्वच्छ ढंगले गराउनेमा सरकार प्रतिबद्ध रहेको खनालले बताए ।
