माओवादीले पुस २० देखि युवा मार्च गर्ने

युवा मार्चको अभियानमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ज्ञापनपत्रलाई लिएर जनजागरण अभियान पनि चलाउने भएको छ ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Maoists to hold youth march from December 20

काठमाडौँ — नेकपा माओवादीले पुस २० गतेदेखि युवा मार्च गर्ने भएको छ । माओवादीको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले मेचीदेखि महाकालीसम्म युवा मार्च गर्ने निर्णय गरेको नेता सन्तोष बुढामगरले जानकारी दिए । 

त्यस्तै युवा मार्चको अभियानमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ज्ञापनपत्रलाई लिएर जनजागरण अभियान पनि चलाउने भएको छ । राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा सर्वपक्षीय सरकार र त्यही सरकारले संविधान संशोधन गर्ने लगायतका माग राखेको थियो । 

माओवादीले संघर्ष र चुनावी कार्यक्रमलाई पनि सँगसँगै लैजाने निर्णय गरेको छ । चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत उसले राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्र लगायतका विषयमा पनि जनतामाझ कुरा राख्ने जनाएको छ । 

निर्वाचन आयोगमा पहिलोपटक दर्ता भएको नेकपा माओवादीले चुनाव चिह्न गुलाब लिएर महासचिव नेत्रविक्रम चन्दको नेतृत्वमा चुनावी मैदानमा जाने निर्णय गरिसकेको छ । प्रतिनिधिसभा समानुपातिक बन्द सूची तयार गर्ने विषयमा पनि नेकपा माओवादीले बिहीबार बैठकमा छलफल गरेको छ । 

नेता सन्तोष बुढामगरले आयोगले तोकेकै मितिमा ११० जना समानुपातिक उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउने जानकारी दिए । 

कान्तिपुर

Link copied successfully