कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

कार्यसम्पादन समिति बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताए ।

पुस १०, २०८२

रासस

पाटन — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए । 

कार्यसम्पादन समिति बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरौँ भन्ने प्रस्ताव रहेको जनाए । 

'नेपाली कांग्रेसको महाधिवेशनबाट नेतृत्व चयन गर्ने मात्रै भन्दा सकारात्मक खालको के सन्देश दिने भन्ने हो, अहिले हामी महाधिवेशनमा केन्द्रित छौँ, जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव हुन असम्भव छ, यसका लागि सरकारले वातावरण बनाउनुपर्छ, चुनाव फागुनमा भन्दा वैशाखमा गर्नु उपयुक्त हुन्छ,' उनले भने ।

महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय हामी सबैले मान्नुपर्छ भन्दै महाधिवेशनको मिति केही दिन हेरफेर पनि हुनसक्ने बताए । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीका विषयलाई कसैले अतिरञ्जित तरिकाले सार्वजनिक गर्नुभन्दा पार्टीको बैठकमा राख्नु उचित हुने बताए । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको थियो ।

रासस

Link copied successfully