उनले थपे, ‘अब छलछाम गरेर अधिवेशन टार्ने बाटोतिर कोही लाग्न हुँदैन । यदि त्यो पनि गर्न सकिन्न भन्ने लाग्छ भने दायाँ–बायाँ नगरी सिधै विशेष अधिवेशन गरेर जानुपर्छ ।’
What you should know
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले वडा र क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सारेका छन् । थापाले बुधबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सबै तहका अधिवेशन गर्न समयको चाप परेकाले दुई तहको अधिवेशन गरेर सिधै महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
वडा र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गरेपछि केन्द्रीय महाधिवेशनका लागि ढोका खुल्छ । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् र तिनै प्रतिनिधिहरूले प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्छन् । थापाले कांग्रेसका सातै तहका अधिवेशन गरेर आगामी पुस २६–२९ को तालिकाभित्र केन्द्रीय महाधिवेशन नसकिने बताएका हुन् । तर थापाको यो प्रस्तावलाई संस्थापन पक्षले भने स्वीकार गरिरहेको छैन ।
यो प्रस्तावलाई स्वीकार नगर्ने हो भने विशेष महाधिवेशनमा जानुपर्ने उनको वैकल्पिक प्रस्ताव छ । उनले कतिपय जिल्लामा नियतबस क्रियाशील सदस्यता फाराम वितरण रोकिएको बताउँदै त्यो नरोकियोस् भनेर आफूले काम गरिरहेको बताए । उनले भने, ‘तर अवस्था हेर्दा अधिवेशन नगर्ने नियतका साथ क्रियाशील फाराम रोकिरहेको देखिन्छ । अब अलमल नगरी सरासर वडा, क्षेत्र र सिधै केन्द्रीय अधिवेशन गरेर जानुपर्छ ।’
उनले फागुन २१ को चुनावअघि पार्टीको नीति र नेतृत्व परिवर्तन गरेर जानुपर्ने अडान राख्दै आएका छन् । उनले थपे, ‘अब छलछाम गरेर अधिवेशन टार्ने बाटोतिर कोही लाग्न हुँदैन । यदि त्यो पनि गर्न सकिन्न भन्ने लाग्छ भने दायाँ–बायाँ नगरी सिधै विशेष अधिवेशन गरेर जानुपर्छ ।’
बुधबारदेखि सुरु केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि सानेपास्थित पार्टी कार्यलयमा जारी छ ।
