बालेनले आफ्ना साथी कुमार बेनको ललितपुरस्थित घरमा बुधबार दिनभर चिकित्सक डा. भगवान कोइरालादेखि राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउतसम्मलाई भेटेका हुन् ।
What you should know
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीति पार्टीमार्फत अघि बढ्ने गरी ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार र सञ्चारकर्मीसँग भेट गरेका छन् ।
बालेनले आफ्ना साथी कुमार बेनको ललितपुरस्थित घरमा बुधबार दिनभर चिकित्सक डा. भगवान कोइरालादेखि राप्रपा नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउतसम्मलाई भेटेका हुन् ।
महानगरका सल्लाहकार सुनिल लम्सालसमेतको उपस्थितिमा भएको बैठकमा पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डे, अभियन्ता सागर ढकाल, जेनजी अभियन्ता रक्षा बम, केपी खनाललाई भेटेका छन् । उनले कलाकार निश्चल बस्नेत, कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया, सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला लगायतसाग पनि बेग्लाबेग्लै भेट गरेका थिए ।
भेटघाटमा सहभागी उपाध्यायले कान्तिपुरलाई बताए अनुसार, बैठकमा बेग्लाबेग्लै र एकल कुराकानीसमेत भएका थिए । ‘मैले एक्लै भेटेको हुँ, अरु धेरै साथीहरु पनि हुनुहुन्थ्यो,’ उनले कान्तिपुरसँग भने, ‘भेटघाटबाट उहाँहरु चुनावमा जाने संकेत देखेको छु, त्यसका लागि सम्भावित मानिसहरु उहाँहरुले भेट्नु भएको जस्तो लाग्यो ।’
बालेन काठमाडौंको मेयरमा उठ्दै गर्दासमेत सहयोग गरेको बताउँदै उपाध्यायले अहिले पनि वैकल्पिक शक्तिलाई एकठाउँमा ल्याउने कुरामा सहयोग हुने जानकारी गराएको बताए । ‘मैले चाहिँ आफू सक्रिय रुपमा राजनीतिमा लाग्दिनँ, तर बाहिर बसेर सहयोग गर्छु भनेँ,’ उनले भने, ‘परिवर्तनका लागि जे सहयोग गर्नुपर्ने हो म गर्न तयार छु भनेर बताएको छु ।’
भेटघाटका क्रममा रास्वपा सभापति रवि लामिछानेसँग सोमबार बेलुकी ७ बजेदेखि राति १ बजेसम्म चलेको बैठकमा भएको कुराकानीबारे समेत बालेनले ब्रिफिङ गरेका थिए । ‘रविजीसँग एककिसिमको छलफल भएको थियो, तर ठोस प्रस्ताव आएन,’ बालेनको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिलेलाई बेग्लै तरिकाले अघि बढ्ने गरी कुराकानी भइरहेको छ ।’
उनका अनुसार, बालेनका सहयोगी देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्, यसको चुनाव चिह्न लौरो छ । ‘पछि बेग्लै तरिकाले जानुपर्ने अवस्थामा यसलाई प्रयोग गर्ने भन्ने कुरा थियो,’ उनले भने, ‘त्यही अनुसार अहिले अघि बढ्न लागिएको हो ।’ पहिले यो पार्टी अनन्तराज घिमिरेको नाममा थियो । तर, पछि परिवर्तन गरेर बालेनको सहयोगीको नाममा ल्याइएको थियो ।
भेटघाटका क्रममा बालेनले रविसँग चुनावी सहकार्यबारे थप छलफल हुनसक्ने भए पनि आफू लगभग नयाँ तरिकाले अघि बढ्ने निष्कर्षमा पुगेको सुनाएका छन् । ‘उहाँको प्रस्ताव मिलेर जाउँ भन्ने त भयो, तर अरु ठोस कुराहरु भएनन्,’ बालेनको भनाइ उदृत गर्दै उनले भने, ‘तर, अरु कतिपय कुरा हेर्दा त्यता मिल्न सकिने अवस्था नदेखिएको उहाँको भनाइ छ ।’
बैठकमा सहभागी अर्का एक सदस्यका अनुसार, बालेनले अधिकांशलाई ‘मैले पार्टी घोषणा गरेर गएँ भने के हुन्छ ? तपाईंको समर्थन रहन्छ कि रहँदैन भनेर सोधेका थिए ?’ त्यस्तोमा भेटघाटमा सहभागी अधिकांशले सकारात्मक जवाफ दिएको बालेनको सचिवालयका एक सदस्यले बताए । बालेन पुराना राजनीतिक दलका केही नयाँ अनुहारसँग समेत निरन्तर संवादमा रहेको भेटघाटमा पुगेकाहरुले बताएका छन् ।
रास्वपा नेताहरुले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्न सकिने विकल्पबारे समेत छलफल गरेका थिए । तर, दुईबीच भएको भेटवार्ताको अर्को दिन रविले चितवनमा पत्रकारहरुसँग कुरा गर्दै त्यो चरणमा संवाद प्रवेश गरिनसकेको बताएका थिए । उनले आ–आफ्नो संवाद अनुसार विषय व्याख्या गरिएको भन्दै अरु शक्तिसँग पनि छलफल भइरहेको बताएका थिए ।
