बालेनलाई बाबुराम भट्टराईको सुझाव - अग्रगामी, अर्थिक समृद्धि र सुशासनसहित वैकल्पिक शक्ति बनाउनुहोस्

ललितपुरमा दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहेका बालेनले आफू सक्रिय राजनीतिमा आएको उल्लेख गर्दै सुझाव सल्लाहका साथै अभिभावकीय भूमिकामा रहन भट्टराईलाई आग्रह गरेका थिए ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Baburam Bhattarai's suggestion to Balen - Create an alternative force with progressive, economic prosperity and good governance

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा निर्वाचनका लागि सक्रिय देखिएका काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई मुलुकमा वैकिल्पक राजनीतिक शक्ति एक हुनेबेला भएको उल्लेख गर्दै अग्रगामी, आर्थिक समृद्धि र सुशासनको मुद्दासहित अघि बढ्न सुझाव दिएका छन् ।

ललितपुरमा दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहेका बालेनले आफू सक्रिय राजनीतिमा आएको उल्लेख गर्दै सुझाव सल्लाहका साथै अभिभावकीय भूमिकामा रहन भट्टराईलाई आग्रह गरेका थिए । ‘म सक्रिय राजनीतिमा आउने भएँ, तपाईंको पूर्ण सहयोग हुन्छ कि हुँदैन ? म अब कसरी अघि बढ्नु पर्ला ?,’ बालेनको प्रश्नमा भट्टराईको भनाइ थियो, ‘वैकल्पिक विभाजित भएर होइन, एक भएर अघि बढनुपर्‍यो । अग्रगामी, प्रगतिशील आर्थिक समृद्धि र सुशासनको पक्षमा दृढतापूर्वक उभिनु पर्‍यो । मेरा पूर्ण साथ सहयोग रहने छ ।’

बालेनले आगामी संसद्‍मा भट्टराई हुनेगरी तयारी गर्न समेत आग्रह गरेका थिए । ‘तपाईं आगामी संसद्‌मा आउनुपर्छ । गएको संसद्‌मा भिजिनरी नेताको अभाव देखियो,’ बालेनको भनाइ थियो, ‘तपाई| र प्रदीप गिरी संसद्‌मा हुनुभएन । त्यही भएर संसद्‌मा आउनुबारे सोच्नुहोला ।’ 

भट्टराईले आफूले १० वर्ष अघिदेखि नै वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि माओवादी त्यागेको उल्लेख गर्दै अब एकजुट हुन थालेकाले खुशी व्यक्त गरे ।

भट्टराईले विचार मिल्ने दलहरु एउटै पार्टी बनाउनुपर्ने, त्यो संभव नभए चुनावी गर्न सकिने सुझाव दिएका थिए । 

बालेनसँगको भेटमा सहभागी मानुषी यमी भट्टराईले वैकल्पिक शक्ति निर्माणका लागि सकारात्मक कुराकानी भएको बताइन् ।

कान्तिपुर

Link copied successfully