सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि मन्त्री खरेलको भनाइ छ ।
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गरेका छन् । बुधबार जनमत पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उचित वातावरण बनिसकेको जिकिर गरेका हुन् ।
सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी गरिरहेको पाएको पनि मन्त्री खरेलको भनाइ छ । मन्त्री खरेलका अनुसार जनमत पार्टी पनि निर्वाचनका लागि तयारी अवस्थामा छ ।
‘चुनावको वातावरण तयार गर्न सरकारको तर्फबाट मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल गरेका हौँ । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा छ । फागुन २१ मा सरकारले चुनाव गर्दैछ । हामी जति राजनीतिक दलहरुको पार्टी कार्यालयमा गएका छौँ, उहाँहरूले चुनावको लागि वातावरण बनिसकेको र चुनावको लागि तयार भएको सन्देश पाएका छौँ । हामी सबै चुनावमा होमिनुपर्छ भनेर सरकार उत्साहित भएर अघि बढेको छ,’ मन्त्री खरेलले भने ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरूको कार्यालयमा गइरहेका छन् ।
