फेरि मिल्दै लिङ्देन र थापा 

२०७८ महाधिवेशनमा हारेपछि कमल थापाले छाडेका थिए राप्रपा 

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Lingden and Thapa reunite

What you should know

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा, नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । दुवै जनाले पार्टी एकताका लागि सहमतिपत्रमा हस्ताक्षर गर्न लागेका हुन् ।

उनीहरूले राप्रपा पार्टी कार्यालय धुम्बराहीमा सहमतिपत्रमा हस्ताक्षर गर्न लागेका हुन् । 

पार्टी एकताको घोषणा कार्यक्रम भने पुस १६ मा गर्ने तयारी भइरहेको छ । दुवै अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गर्न लागेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, 'पार्टी एकताको सहमतिपत्रमा आज साँझ ७ बजेतिर हस्ताक्षर गर्ने कार्यक्रम छ ।'

लिङ्देन र थापाबीच प्रतिनिधिसभा चुनावको सम्मुखमा एकता हुन लागेको हो । यसअघि राप्रपा अध्यक्षमा लिङ्देनले जितेपछि थापाले पार्टी छोडेका थिए । उनी २०७९ को निर्वाचनमा एमालेको चुनाव चिह्नमा हेटौंडाबाट उम्मेदवार बनेर राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएका थिए ।

महाधिवेशनमा हारेपछि थापाले छाडेका थिए राप्रपा

नेपाली राजनीतिमा राप्रपा फुट र एकताको लामो इतिहास छ । पछिल्लो पटक २०७८ मा महाधिवेशनमा हारेपछि कमल थापाले राप्रपा छाडेको घोषणा गरेका थिए । २०७८ मंसिर २५ गते हेटौंडा पुगेर उनले भारी मनका साथ राप्रपा छाडेको बताएका थिए ।

पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । उनले पुन: पुरानै दल राप्रपा, नेपाल ब्युँताएका हुन् । महाधिवेशनमा लिङ्देनले १ हजार ८ सय ४४ मत ल्याएका थिए । थापाले भने १ हजार ६ सय १७ मत प्राप्त गरेका थिए । 

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाएका थिए । 

त्यसअघि २०७६ सालमा राप्रपा थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीले एकताको घोषणा गरेका थिए । ०७५ कात्तिकमा दुई राप्रपाको एकता प्रक्रिया फेरि सुरु भयो । त्यसअघि २०७३ मंसिरमा एकीकरण भएको राप्रपा २०७४ को साउनमा विभाजित भएको थियो ।

०७४ साउनमा सरकार प्रवेशको विषयमा मतभेद भएपछि राप्रपा अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्यो र राणाले पार्टी फुटाएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully