भागेका कैदी र फेला नपरेका हतियारले समाजमा अराजकताको अवस्था छ : राउत
काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले फागुन २१ गते नै प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष राउतले सरकारको कदमलाई आफूहरूले सकारात्मक रूपमा लिएको र निर्वाचनमा भाग लिने कुरा सुरुदेखि नै गर्दै आएको बताएका हुन् ।
जेन-जी आन्दोलनको मर्मअनुसार काम हुनुपर्ने र नयाँ जनादेश आउनुपर्ने पनि उनको भनाइ छ । भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै नभई समाजमा रहेको त्रासको सामना गर्नसक्ने परिस्थिति सरकारले निर्माण गर्नुपर्ने अध्यक्ष राउतको भनाइ छ ।
‘सरकारको कदमलाई सकारात्मक रुपले हेरेको छ । निर्वाचनमा भाग लिने सुरुमै नै निर्णय गरिसकेका छौँ । फागुन २१ गते निर्वाचन हुनुपर्छ । आन्दोलनको मर्म जुन थियो, त्यसको कदर हुनुपर्छ । नयाँ जनादेश लिनुपर्छ । हामी निर्वाचनको पक्षमा छौँ । मूल रूपमा भागेका कैदी र फेला नपरेका हतियारको विषयमा मात्रै होइन, समाजमा नै अराजकताको स्थिति छ, त्यसको सामना गर्ने विषयमा सरकारसँग कुरा भएको छ,’ उनले भने ।
