राष्ट्रपतिसामु प्रधानमन्त्री र तीन पूर्वप्रधानमन्त्रीबीच के कुराकानी भयो ?

निर्वाचन सफल बनाउन तीन दल र सरकारबीच समझदारी भएको राष्ट्रपति कार्यालयको दाबी

पुस ८, २०८२

कान्तिपुर संवाददाता

What was the conversation between the Prime Minister and the three former Prime Ministers before the President?

काठमाडौँ — फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दाबी गरे । 

पोखरेलका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । 'देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,' राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने । 

भेटमा प्रधानमन्त्री कार्कीले विषम् परिस्थितिमा तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

राष्ट्रपति  पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए । 

 जेन-जी आन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग प्रत्यक्ष कुराकानी गरेकी हुन् । 

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा कुराकानी भएको हो । राष्ट्रपति पौडेलले नै छलफल डाकेका हुन् । छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन दलका शीर्ष नेताहरू देउवा, ओली र दाहाल सहभागी थिए ।

कान्तिपुर

Link copied successfully