कुनै पनि विभेद र हिंसा रहँदासम्म समाज समुन्नतिको मार्गमा अघि बढ्न सक्दैन : महत

पूर्वअर्थमन्त्री महतले संविधान र कानुनले अधिकांश विभेद र हिंसालाई निषेध गरे पनि व्यवहारमा त्यस्ता विभेद र हिंसा अन्त्य हुन नसकेका प्रति दुख व्यक्त गरे।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Society cannot move forward on the path of progress as long as there is any discrimination and violence: Mahat

काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री प्रकाशसरण महतले समाजमा कुनै पनि विभेद र हिंसा रहँदासम्म देशले समुन्नतिको बाटो समात्न नसक्ने बताएका छन्।

उनले संविधान र कानुनले अधिकांश विभेद र हिंसालाई निषेध गरे पनि व्यवहारमा त्यस्ता विभेद र हिंसा अन्त्य हुन नसकेका प्रति दुख व्यक्त गरे।

पूर्वअर्थमन्त्री महतले नेपालको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको दलित समुदायमाथिको भेदभाव अन्त्य गर्न सरकार र राजनीतिक दलहरूले नै विशेष र प्रतिबद्धता देखाउनुपर्ने बताए ।

मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ साधारण सभामा बोल्दै महतले भने, 'दलित समुदायमाथि जेजस्तो विभेद र व्यवहार अझैपनि भइरहेको छ, यो ठिक छैन। यस्तो विभेद र हिंसाका कुनै पनि रुपहरू समाजमा रहँदासम्म देशले समुन्नतिको मार्ग समाउन सक्दैन। भेदभावजन्य व्यवहारहरूको अन्त्य हुनैपर्छ।'

उनले दलित समुदायमाथिको उत्पीडनको अन्त्यका लागि कांग्रेसले सरकारमा हुँदा र नहुँदा निरन्तर पहल गर्दै आएको बताए। 'कांग्रेसले ००९ सालमै पार्टीको महामन्त्री नै दलित समुदायको व्यक्तिलाई बनाएको इतिहास छ। दलित आयोगको गठनदेखि छात्रवृत्तिसम्म, नीतिगत व्यवस्थादेखि कानुन निर्माणसम्म कांग्रेसले नेतृत्व गरेको छ,' उनले भने, 'कांग्रेसले पार्टीमा पनि समावेशिताको नीतिलाई अधिकतम अभ्यास गरेको छ।'

राजनीतिमा दलितको समावेशी प्रतिनिधित्व हुन नसकेका प्रति इंगित गर्दै उनले अब आगामी चुनावहरुमा दलितले दलितसँगमात्रै प्रतिस्पर्धा गर्ने गरी निर्वाचन क्षेत्रहरू तोकेरै आरक्षणको व्यवस्था गर्नुपर्ने बताए। 

कान्तिपुर

Link copied successfully