कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्छ : शेखर कोइराला

'कांग्रेसको अधिवेशनमा यत्रो चिन्ता किन लागेको ? एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार-चार वर्षमा हुनुपर्छ, भइरहन्छ भन्ने बुझ्नुस् ।'-कोइराला

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Congress convention may be postponed for some time: Shekhar Koirala

What you should know

काठमाडौँ — कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिनसक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन कुनै नौलो कुरा नभएको बताएका हुन् । 

महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको समेत उनको भनाइ छ ।

आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको  पनि उनको दाबी छ ।  नेता कोइरालाले सरकारले निर्वाचन फागुन २१ मा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै नदेखिएको उनको भनाइ छ । 

के भन्छन् शेखर ? 

नेपाली कांग्रेसको अधिवेशनले तपाईं, हामी सबैलाई हुँदा हुँदा मिडियालाई पनि किन चिन्ता लागेको हो मैले बुझेको छैन । नेपाली कांग्रेसको अधिवेशनमा यत्रो चिन्ता किन लागेको ? एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार-चार वर्षमा हुनुपर्छ, भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि नेपाली कांग्रेसको अधिवेशनको बारेमा सोध्छ ।

मलाई त दिक्क पनि लाग्छ कहिलेकाहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ? नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ । अब यो पत्रकारहरूले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर । मैले सार्न खोजेको होइन । म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हुँ ।

तर क्रियाशील सदस्य नयाँ थपिए । नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभरी सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला । अर्कैले पठाएको होला । मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।

कान्तिपुर संवाददाता

Link copied successfully