वैकल्कि राजनीतिक शक्ति निर्माणमा लागेको प्रलोपाले नयाँ दलहरु ‘पपुलिज्म र हिराइज्म’ को पछि लाग्नु चिन्ताजनक भएको भन्दै वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व ‘अलौकिक र रहस्यमय पात्र’ हुन नसक्ने जनाएको छ।
What you should know
काठमाडौँ — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले वैकल्पिक शक्तिको रुपमा उदाएका दल लोकप्रियतावाद र महानायकवादको पछि कुद्नु चिन्ताजनक भएको निष्कर्ष निकालेको छ । वैकल्कि राजनीतिक शक्ति निर्माणमा लागेको प्रलोपाले नयाँ दलहरु ‘पपुलिज्म र हिराइज्म’ को पछि लाग्नु चिन्ताजनक भएको भन्दै वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व ‘अलौकिक र रहस्यमय पात्र’ नभएको जनाएको छ ।
केन्द्रीय समितिबाट पारित राजनीतिक प्रतिवेदनमा लोकप्रियतावादलाई बढी महत्व दिँदा दीर्घकालीन रूपमा राजनीतिक शक्ति नहुने उल्लेख गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीतिर संकेत गर्दै प्रलोपाले यो विश्लेषण गरेको हो ।
‘नेपालमा र विश्वका विभिन्न देशहरूमा नयाँ र वैकल्पिक शक्तिको रूपमा उदाएका दल र नेतृत्वको प्रवृत्ति प्रायः पपुलिज्म र हिरोइज्मतिर उद्यत भइरहेको देखिनु चिन्ताजनक छ,’ प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो देश र समाजका बहुआयामिक संरचनात्मक समस्याहरूलाई वस्तुनिष्ठ, वैज्ञानिक र अग्रगामी ढंगले पहिचान र समाधान गर्नुको सट्टा आम जनताको असन्तुष्टि र आवेगात्मक आक्रोशलाई केही सांकेतिक मुद्दाहरूमा केन्द्रित गरेर शक्ति आर्जन गर्नु र वास्तविक समस्याको दिगो समाधान नगर्नु पपुलिज्म वा लोकप्रियतावादको चारित्रिक विशेषता हो ।’
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक, पूर्व माओवादी उपमहासचिव जनार्दन शर्मा नेता र अध्यक्ष परिषद्मा रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियार, दुर्गा सोब, ओजस्वी भट्टराई र सुदन किराँती सदस्य छन्।प्रलोपाले संक्रमणको बेला उदाउने लोकप्रियतावाद र बहादुरी प्रवृत्तिमा असहमति जनाएको हो।
‘एक युग वा ऐतिहासिक चरणबाट अर्को युग वा ऐतिहासिक चरणमा संक्रमणको बेला यस्तो प्रवृत्तिले टाउको उठाउने गर्छ । पपुलिज्म अक्सर राष्ट्रवाद, धार्मिक आस्था, आर्थिक संकट, भ्रष्टाचार आदि लोकप्रिय मुद्दाहरूको आड लिएर आउने गर्छ,’ प्रलोपाको प्रतिवेदनमा भनिएको छ, ‘आफ्नो छुट्टै र दिगो आर्थिक–सामाजिक आधार नभएका चलायमान वा चलनचल्तीको भाषामा “भुइँफुट्टा” समूह पपुलिज्मको मुख्य आधारशिला भएको मानिन्छ ।’
कुनै व्यक्तिविशेषलाई अलौकिक र रहस्यमय पात्रको रूपमा प्रस्तुत गरेर जनअसन्तोष भजाउने र शक्ति आर्जन गर्ने ‘हिरोइज्म’ (महानायकवादी) प्रवृत्ति पनि प्रकारान्तरमा सामाजिक अग्रगमनका निम्ति हानिकारक हुने विश्लेषण गरिएको छ ।
‘क्षमतावान, दूरदर्शी, इमानदार, क्रियाशील र लोकप्रिय नेतृत्व कुनै पनि अभियान, आन्दोलन वा दलका निम्ति आवश्यक र महत्वपूर्ण हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर नेतृत्वलाई सामूहिकताको केन्द्रीकृत अभिव्यक्तिका रूपमा भन्दा अलौकिक, सर्वशक्तिमान निजी “हिरो” का रूपमा स्थापित गरियो भने त्यो अवैज्ञानिक र हानिकारक दुवै हुन्छ ।’
वैकल्पिक राजनीतिक शक्तिहरूले ‘पपुलिज्म र हिरोइज्म’ प्रवृत्तिबाट जोगिँदै राजनीतिक गतिविधि अगाडि बढाउनुपर्ने प्रलोपाको भनाइ छ ।
‘खासगरी भीड जुटाउने वा चुनाव जित्ने नाममा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समाजवादजस्ता आधारभूत मुद्दाहरू (कोर इस्यु) मा अडान स्पष्ट नगरी सन्ध्या भाषामा कुरा गर्दा क्षणिक रूपमा प्रतिगामी र ढुलमुल शक्तिहरूको भोट वा साथ–सहयोग त मिल्न सक्छ, तर त्यसले अन्ततः देश र जनताको हितमा प्रतिकूल असर पार्न सक्छ,’ प्रलोपाले चेतावनी दिएको छ, ‘यसले नयाँ र वैकल्पिक राजनीतिक शक्तिलाई पुरानै यथास्थितिवादी वा प्रतिगामी शक्तिमा रूपान्तरण र प्रदूषित गरिदिन सक्छ ।’
दलहरूमा दोहोरो प्रवृत्ति हाबी
प्रलोपाले नेपालमा दुई प्रवृत्तिका दल रहेको जनाएको छ । केन्द्रीय समितिले पारित गरी कार्यान्वयनका लागि तल्ला समितिमा पठाएको राजनीतिक प्रतिवेदनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई पहिलो प्रवृत्ति र प्रतिगमनको पक्षपोषण गर्नेहरूलाई दोस्रो प्रवृत्ति भनिएको छ । वैकल्पिक राजनीतिक शक्तिले नै यी दुई प्रवृत्तिको विश्लेषण गर्नुपर्ने प्रलोपाको निष्कर्ष छ ।
‘नेपालमा अहिले दुई प्रकारका सोच भएका राजनीतिक दलहरू क्रियाशील छन् : पहिलो, अहिलेकै मरणासन्न गणतन्त्र, खास धर्मको पोषण गर्ने धर्मनिरपेक्षता र नेताहरूको मनमाफिक चल्ने समावेशी प्रजातन्त्रसँगै अहिलेकै राजनीतिक संस्कृति, सोच र शैली जोगाइ राख्न चाहने यथास्थितिवादीहरू । दोस्रो, यही प्रणालीअन्तर्गत आम जनतालाई प्राप्त थोरै अधिकारहरूको पनि अपहरण गरी पुरानै निरङ्कुशतन्त्र फर्काइ ल्याउने पश्चगामीहरू,’ प्रलोपाको भनाइ छ, ‘हामी तेस्रो कित्ताकाट गर्ने पक्षमा छौँ ।’
वैकल्पिक शक्तिका लागि उसले नयाँ कार्यदिशा अघि सारेको छ । ‘गणतन्त्रलाई सामाजिक जीवनका हरेक पहलुभित्र लागू गर्नु हाम्रो पहिलो अभिष्ट हो,’ उसको राजनीतिक लक्ष्यमा भनिएको छ, ‘जात व्यवस्था, पितृसत्तात्मक सोच र चलन, सामन्ती संस्कार, अन्धभक्ति र विश्वास गणतन्त्रको पहिलो निशानामा पारिनुपर्दछ ।’
उसले समावेशी प्रजातन्त्रको पक्षमा उभिएको उल्लेख गरेको छ । ‘समावेशी प्रजातन्त्रको मर्म भनेको उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र जातिका जनताको मुक्तिका लागि नीति निर्माण, कार्यक्रम र व्यवहारमा उत्पीडितहरूको विशेष सहभागिता हो,’ उसले नीति अघि सारेको छ, ‘यो सम्भ्रान्तहरूले दया गरेर भिक्षा दिने कुरा होइन । हाम्रो वैचारिक प्रभावमा रहने सबै जनवर्ग, जनसङ्गठन र विशेषतः जातीय मोर्चाहरूले जात व्यवस्थाको अन्त्य (दलितको मुक्ति) लाई आफ्नो मुक्तिको पूर्वशर्तका रूपमा स्वीकार गरेर तदनुसार नै नीति, कार्यक्रम र व्यवहार अगाडि बढाउनेछन् ।’
समाजमा व्याप्त भोक, रोग, अशिक्षा र असमानताको मूल कारण शोषण र विभेद भएकाले यसको उन्मूलन गरी स्वतन्त्र समाज निर्माण गर्नु साझा लक्ष्यका रूपमा अघि सारिएको छ । गरिबी निवारणका लागि गरिब परिवारलाई परिचयपत्र दिई आधारभूत आवश्यकताका सामानहरू करमुक्त दरमा उपलब्ध गराउने प्रलोपाको प्राथमिकता रहेको उल्लेख छ ।
