प्रधानमन्त्रीले बोलाइन् सात दल, निर्वाचन आयोग र सुरक्षा निकायको संयुक्त बैठक

प्रधानमन्त्रीले प्रमुख सात राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजका प्रतिनिधिसँग सिंहदरबारमा छलफल गर्न लागेकी हुन् ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Prime Minister calls joint meeting of seven parties, Election Commission, and security agencies

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजलगायतको संयुक्त बैठक बोलाएकी छन् । 

प्रधाानमन्त्री कार्कीले सोमबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई बोलाइएको उनले जानकारी दिए । 

संयोजक रावलले भने, 'प्रधानमन्त्रीले प्रमुख सात राजनीतिक दल, निर्वाचन आयोग, नागरिक समाजका प्रतिनिधि, सुरक्षा निकायको बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १ बजेका लागि बोलाइएको हो ।'

निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको रावलले बताए । 'सुरक्षा र निर्वाचन कानुनको विषयमा गृह मन्त्रालयले र निर्वाचन तयारीको विषयमा आयोगले ब्रिफिङ गर्ने कार्यतालिका रहेको छ । त्यसपछि सहभागीबीच छलफल हुने र प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ,' रावलले भने ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रधानमन्त्री कार्यालयमा बोलाइएको बैठकमा आयोगका तर्फबाट उपस्थिति र प्रस्तुति रहेको जानकारी दिए । 'प्रधानमन्त्री कार्यालयमा छलफलमा बोलाइएको छ । राजनीतिक दलहरूसहितको बैठकमा आयोग सहभागी हुँदैछ,' उनले भने । 

प्रधानमन्त्री कार्कीले यसअघि पनि राजनीतिक दलहरूका दोस्रो तहका नेताहरूलाई छलफलमा बोलाएकी थिइन् । उनले राजनीतिक दलका शीर्ष नेतृत्वसँग भने छलफल गरेकी छैनन् । 

कान्तिपुर संवाददाता

Link copied successfully