समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप्न कांग्रेसको आग्रह

पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न प्रधानमन्त्री कार्कीलाई कांग्रेसको सुझाव

पुस ७, २०८२

कान्तिपुर संवाददाता

Congress urges extension of deadline for submission of proportional list

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् ।     

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन २१ को निर्वाचन सम्पन्न गर्नुलाई ध्यान दिनका लागि सुझाव दिए ।

'समानुपातिकको बन्दसूची बुझाउने समय अपुग छ । दुई-चार दिन सार्नुपर्छ । मूलतः फागुन २१ गते हो,' यादवले भने । निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिक बन्दसूची बुझाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

सहमहामन्त्री यादवले राजनीतिक दलका प्रमुख नेताहरूसँग छलफल गर्न पनि प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन् । 'निर्वाचनको लागि राजनीतिक दल नै महत्त्वपूर्ण हुन्छ । राजनीतिक दलका प्रमुख, शीर्ष नेताहरूसँग तपाईंले छलफल गर्नुस्,' यादवले प्रधानमन्त्रीलाई भने, 'अहिले नेपालको प्रथम नागरिक तपाईं हो । नेपाललाई निकास पनि दिनुछ, जेन-जी लगायत सबैको दायित्व हो । विगतमा केही कमजोरी भयो होला तर अब यसलाई सुधार्नु हामी सबैको दायित्व हो ।'

फागुन २१ को निर्वाचन मितिलाई तलमाथि नगरी अगाडि बढ्न सरकारलाई कांग्रेसको आग्रह थियो । कांग्रेसले आन्तरिक तयारी गरिरहेको पनि यादवले बताए । कांग्रेसले जिल्लाबाट उम्मेदवार चयन थालेको जानकारी दिँदै उनले भने, 'हामीले आन्तरिक तयारी गरिरहेका छौं । उम्मेदवार सिफारिस ल्याएका छौं । सरकारको दायित्व पनि हो । राष्ट्रपतिले पनि बारम्बार भनिरहनुभएको छ । सरकारले पनि भनिरहेको छ । सुरक्षा निकाले पनि केही काम अगाडि बढाएका छन् ।'

नेताहरूलाई लगाएको स्थानहदको विषय पनि कांग्रेसले प्रधानमन्त्रीसँगको छलफलमा उठाएको छ । 'आम निर्वाचनमा हाम्रो संविधानले दिएको अधिकार अनुसार कुनै पनि नागरिक वा कुनै दलका नेता १६५ निर्वाचन क्षेत्र जहाँबाट पनि लड्न पाउँछ,' उनले भने, 'खाली निर्वाचन भनेर हुँदैन । निर्वाचनको वातावरण बन्नुपर्‍यो । जनताले निर्वाचन चाहिरहेका छन् ।' 

सरकारले नेताहरूको सुरक्षा खोसेको कुरा पनि कांग्रेसले प्रश्न उठाएका छन् । 'नेताहरूको सुरक्षा खोसेको अवस्था छ । सबैले स्वीकार गरेको छ, अहिले भयको वातावरण छ । सबैलाई सुरक्षा चाहिन्छ तर थ्रेट भएका कसैमाथि घटना घट्यो भने त्यसको जिम्मेवार सरकार हुन्छ,' उनले भने ।

निर्वाचन भएन भने त्यसको भोलिपल्टको अवस्था आँकलन गरेर सरकार अगाडि बढ्नुपर्ने र संविधानमा प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र नयाँ संसद् आउनुपर्ने व्यवस्था ख्याल राख्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । तोकिएको मितिमा चुनाव भएन भने प्रधानमन्त्रीसँगै राष्ट्रपतिमाथि पनि प्रश्न उठ्ने यादवले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully