जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पुरानै अनुहार सिफारिस भएका छन्।
What you should know
पर्सा — कांग्रेसले पर्साबाट प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
प्रतिनिधि सभातर्फ जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा पुरानै अनुहार सिफारिस भएका छन्।
प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट अनिलकुमार रुँगटाको एकल नाम सिफारिस भएको छ। उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्यसमेत हुन्। उनी ०७९ को निर्वाचनमा यहाँबाट पराजित भएका थिए।
समानुपातिकतर्फ ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, राधेश्याम चौरसिया, शान्ति कार्की, किरण सरकार, बुनेल राम र कसिना खातुनको नाम सिफारिस भएको छ। राष्ट्रिय सभामा शम्भु हजरा दुसाद र अनामिका कुमारी यादवको नाम सिफारिस गरिएको छ।
क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ अजयकुमार चौरसिया, राजेन्द्रबहादुर अमात्य र मदनप्रसाद यादवको नाम सिफारिस भएको छ। चौरसिया निवर्तमान सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्।
यस क्षेत्रबाट महिलातर्फ सवनम खातुन र लालमुनि रामको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ गम्भीरा साह तेली र राजनाथ ठाकुरको नाम सिफारिस भएको छ। समानुपातिक महिलातर्फ रिता देवी गुप्ता, जुनमाया बल, विद्या श्रेष्ठ, रूपादेवी श्रेष्ठ र उत्तमा प्याकुरेलको नाम सिफारिस गरिएको छ।
यस क्षेत्रबाट राष्ट्रिय सभातर्फ राकेश सिंह, श्यामकुमार पोखरेल, कन्हैयालाल बनियाँ, संजय पासवान, सुखल हजरा र प्रेमचन्द्र दुबेको नाम सिफारिस भएको छ।
निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ सुरेन्द्रप्रसाद चौधरी, जनार्दन सिंह क्षेत्री, शम्भु चौहान, भगवती चौधरी र असर्फी साहको नाम सिफारिस गरिएको छ। सुरेन्द्र चौधरीले २०४८ यताका सबै संसदीय निर्वाचनमा सोही क्षेत्रबाट टिकट पाएर चुनाव लड्दै आएका छन्। कांग्रेसका पूर्व केन्द्रीय सदस्य उनी यसअघिको संसदीय निर्वाचनमा पराजित भएका थिए।
यस क्षेत्रबाट समानुपातिकतर्फ ध्रुव कुशवाहा, मुकेशप्रसाद कुर्मी, मनोज यादव, युगेश्वर यादव, पंचम गौरो र श्रीजा पाण्डेयको नाम सिफारिस भएको छ। यस क्षेत्रबाट राष्ट्रिय सभातर्फ ललन द्विवेदी र सिन्धु मेहताको नाम सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रमेश रिजालको नाम मात्र सिफारिस भएको छ। उनी केन्द्रीय सदस्य तथा सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन्। २०४८ यताका सबै संसदीय निर्वाचनमा उनले टिकट पाएर उम्मेदवारी दिँदै आएका छन्।
यस क्षेत्रबाट समानुपातिकतर्फ वृहस्पति कृष्ण श्रेष्ठ र सुजाता देवीको नाम सिफारिस भएको छ। राष्ट्रिय सभा सदस्यमा रमेश पाण्डेयको नाम मात्र सिफारिस गरिएको छ।
