जनताका मुद्दा बोल्दा माइक काट्ने संसद् ब्युँताइनुको औचित्य छैन : रवि लामिछाने

लामिछानेले जनताका मुद्दा राख्न नपाइने संसद् ब्यँताउनुको अर्थ र औचित्य नभएको बताएका हुन् ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

There is no justification for reviving Parliament to cut off the microphone when people's issues are raised: Ravi Lamichhane

What you should know

काठमाडौँ — विघटित प्रतिनिधिसभाका पहिलो र दोस्रो दलहरू कांग्रेस र एमाले संसद् पुनःस्थापनाका लागि रिट लिएर सर्वोच्च अदालत पुगेको अवस्थामा रास्वपाका सभापति रवि लामिछानेले भने चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार पार्टी सभापतिको जिम्मेवारी सम्हाल्नु अघि लामिछानेले संसद् पुनःस्थापनाले जनताका मुद्दा राख्न नसकिने बताएका हुन् । 

काठमाडौं चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले संसद् पुनःस्थापना अहिलेको राजनीतिक समस्याको समाधान नभएको बताएका हुन् । उनले संसद्मा जनताका मुद्दा राख्न नपाएको स्मरण गर्दै त्यस्तो संसद्को पुनःस्थापनाको औचित्य नभएको बताएका हुन् ।

'कुन संसद् पुनःस्थापनाको कुरा गर्नुभयो तपाईंले ? दुई-तिहाईको दम्भ राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद् फेरि ब्युँताउन खोज्नुभएको ? जनताका मुद्दा बोल्दाबोल्दै माइक काट्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको होइन ? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठ्दा-उठ्दै छानबिन होइन, संख्याको बलमा सामसुम पार्ने संसद् ब्युँताउन खोज्नुभएको ?,' लामिछानेले प्रश्न गरे । उनले थपे, 'खियो तपाईंको दुई-तिहाइ, हिजोका कुरा नेपाली जनताले बिर्सेका छैनन् र चुनावसम्म झन् बिर्सनु हुँदैन।'

कांग्रेस र एमाले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा लिएर सर्वोच्च अदालत पुगेका छन् । उनीहरूले छुट्टाछुट्टै रिट सर्वोच्च अदालतमा दर्ता गराएका छन् । ती रिटमाथि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गरिसकेको छ भने अन्तिम सुनुवाइका लागि पेसी चढाउन बाँकी छ ।

जेन-जी आन्दोलनमा बल प्रयोगको दोषी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलाको उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेकाहरू पनि दोषी रहेको लामिछानेको भनाइ थियो । 'सरकारका संयन्त्रमा रहेका, मन्त्री र प्रधानमन्त्री भएका र उच्चस्तरीय संयन्त्र बनाएर सघाउने ती सबैको अनुहारमा निर्दोष केटाकेटीको रगतको छिटा परेको छ । षड्यन्त्रको शृंखला अब बन्द गर्नुहोला,' उनले भने, 'म पार्टीको जिम्मेवारीमा फर्केको छु र आफ्नो न्यायका साथै सिंगो देशमा भएको अन्यायको विरुद्ध लड्नेछु । हाम्रो यो अभियानलाई मुख्य अभियान बनाउन देश र विदेशमा रहेका नेपालीहरू एकजुट हुँदै हुनुहुन्छ ।'

लामिछानेले आवश्यक परेको खण्डमा नयाँ शक्तिहरू एकठाउँमा हुने बताए । विभिन्न ठाउँबाट उदाएका नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने जनताको भावना आफूले बुझेको उनको भनाइ थियो । 'देश अहिले कमजोर अवस्थामा पुगेको बेला विभिन्न ठाउँबाट चलखेल गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरू सलबलाएका छन् । मुलुकलाई लुछ्ने सोच कसैले नराख्नुहोला, किनकी यसलाई जोगाउन रास्वपा र नयाँ शक्तिहरू एक ढिक्का भएर अगाडि बढ्दै छन् । अब निर्वाचनमा जानुको विकल्प छैन र जेन-जी पुस्ताका अपेक्षाहरू पूरा गर्नैपर्छ । सुशासन कायम गर्ने र निर्वाचन गराउने सन्दर्भमा सरकारको साथमा रास्वपा उभिएको छ,' उनले भने । 

कान्तिपुर

Link copied successfully