पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने- ‘निर्वाचनमा जानुको विकल्प छैन’

उनले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने सन्दर्भमा रास्वपा सरकारसँगै रहेको बताए।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Returning to party responsibilities, Ravi Lamichhane said, 'There is no alternative to going to the elections'

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको उनको भनाइ छ ।

उनले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने सन्दर्भमा रास्वपा सरकारसँगै रहेको स्पष्ट पारे। उनले जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने समेत बताए। निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए।

उनले भने, ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । जेन–जी विद्रोहले गरेका अपेक्षा पुरा गर्नुको समेत विकल्प छैन । हामीले सरकारलाई भनेका छौँ- जेन-जीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन । रास्वपा पनि सँगै छ । तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निःशर्त होइन । जेन–जी विद्रोहमा जुन हाम्रो दाजुभाईले ज्यान गुमाए, त्यो बिर्सन पाइँदैन । त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्ने छ । निर्वाचन विथोल्नका निमित्त  भागेका केही शक्तिहरु लागिपरेका छन् । त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि ।’

उनले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्ति आफ्नो रोटी सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए।

कान्तिपुर संवाददाता

Link copied successfully