प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा कांग्रेसबाट थप ५७ जनाको हस्ताक्षर

महामन्त्री गगन थापा पक्षका सांसदहरुले हस्ताक्षर गर्न मानेनन् 

पुस ६, २०८२

कान्तिपुर संवाददाता

57 more signatures from Nepali Congress in favor of the restoration of the House of Representatives

What you should know

काठमाडौँ — अदालतमा विचाराधिन प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी रिटमा तत्कालीन प्रतिनिधिसभाका बहुमत सांसदहरुको हस्ताक्षरसहित पुरक निवेदन दिने प्रयोजनका लागि कांग्रेसका ५७ जना सांसदहरुले हस्ताक्षर गरेका छन् । 

यसअघि कांग्रेसका तत्कालीन प्रमुख सचेतक र सचेतकसहित सात सांसद र एमालेबाट तत्कालीन मुख्य सचेतक र सचेतकका तर्फबाट प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी छुट्टाछुट्टै रिट दायर भएको थियो । 

कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने संस्थागत निर्णय गरे पनि पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको परामर्शपछि प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दालाई पनि सँगै अघि बढाउन लागिएको हो । तर, पार्टीभित्र यस मुद्दामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षको भने सहमति छैन । 

हस्ताक्षर गर्नेमा संस्थापन र इतरपक्षका नेता शेखर कोइराला पक्षका सांसदहरु छन् । महामन्त्रीद्वय थापा र शर्मापक्षका सांसदहरुले भने हस्ताक्षर गरेका छैनन् । उनीहरुले अहिलेको संकटकालीन अवस्थाको निकास निर्वाचनमात्रै भएको भन्दै पुन:स्थापनाको पक्षमा कांग्रेस जान नहुने विचार राख्दै आएका छन् ।  

तीन दिनदेखि भइरहेको हस्ताक्षरमा आइतबार कांग्रेसका ५७, जनमतका दुई र एक स्वतन्त्र गरी ६० सांसदको हस्ताक्षर भएको छ । यसअघि तत्कालीन प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङसहित सात सांसदको संयुक्त हस्ताक्षरबाट रिट दायर गरिएको थियो । उनीहरुसमेत गर्दा कांग्रेसबाट प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा उभिने तत्कालीन सांसदहरुको संख्या ६४ जना पुगेको छ । 

कांग्रेस संसदीय दलमा भइरहेको हस्ताक्षरमा जनमतका दुई सांसद र एकजना स्वतन्त्र सांसदले समेत हस्ताक्षर गरेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीका चार जना तत्कालीन सांसदले समेत पुन:स्थापनाको पक्षमा सोमबार हस्ताक्षर गर्न पठाउने बताएको कांग्रेसका एक नेताले बताए । त्यसैगरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको गठबन्धनमा सामेल नागरिक उन्मुक्ति पार्टीका सांसदले पनि हस्ताक्षर गर्ने जनाउ दिएका छन् ।

एमालेले आफ्ना ७५ जना तत्कालीन सांसदको हस्ताक्षर भइसकेको दाबी गरेको छ । कांग्रेसका ६४ र एमालेका ७५ गर्दा १४० संख्या पुग्छ । पुरक निवेदन दिने समयसम्म अरु साना दलका समेत गर्दा १ सय ५० जना तत्कालीन सांसदहरुको हस्ताक्षर पुग्ने दाबी कांग्रेस र एमालेका नेताहरुले गरेका छन् । ‘हस्ताक्षर सकिए सोमबार, बाँकी भएमा अर्को दिन पुरक निवेदन लिएर जान्छौं,’ कांग्रेसका अर्का एक नेताले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully