घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प : दाहाल

दाहालले निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको भएको भन्दै संसद् पुनःस्थापनाको हल्ला चिरेर अघि बढ्नुपर्ने बताएका छन् ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको भएको भन्दै संसद् पुनःस्थापनाको हल्ला चिरेर अघि बढ्नुपर्ने बताएका छन् ।

'साँच्चै फागुन २१ गते निर्वाचन होला त ? मानिसहरुको मनमा संसद् पुनःस्थापना होला कि निर्वाचन होला भन्ने प्रश्न जन्मिरहेको छ,' काठमाडौंको भृकुटीमण्डपमा आज आयोजित नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, 'निर्वाचन नै सहज बाटो हो, निर्वाचनमार्फत नै मुलुकलाई नयाँ दिशा दिन सकिन्छ ।' उनले संसद् पुनःस्थापनाको बाटो सहज नभएको बताए ।

निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहिरहेका बेला केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेको उनको भनाइ थियो । मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको उनले बताए ।

'घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता निर्वाचनका लागि तयार भइरहेका छन्,'  दाहालले भने, 'निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको चाहनालाई कसैले भ्रमित नगरोस् ।' 

संयोजक दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सुशासनको पक्षमा लड्ने, उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको पहिचान र अधिकारका लागि योगदान गर्नेे नै जेन-जी पुस्ताको अभिभावक र प्रतिनिधि भएको बताए ।

देशको वाम इतिहासमा आफूहरुले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उनले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे ।

कान्तिपुर

Link copied successfully