एमाले निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले छिटो मतदान गर्नेले ९ मिनेट र ढिला गर्नेले २ घन्टा ४ मिनेटसम्म लगाएको बताए । उनका अनुसार मध्यम समयमा मतदान सकाउने मतदाताले ३० देखि ३५ मिनेट लगाउने गरेको छ ।
काठमाडौँ — एमालेको ११ औं महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी निर्वाचनमा बुधबार साँझ ५ बजेर २ मिनेटसम्ममा ८ सय २ मत खसेको छ ।
एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले प्रेस ब्रिफिङका क्रममा उक्त जानकारी दिएका हुन् ।
एमाले निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले छिटो मतदान गर्नेले ९ मिनेट र ढिला गर्नेले २ घन्टा ४ मिनेटसम्म लगाएको बताए । उनका अनुसार मध्यम समयमा मतदान सकाउने मतदाताले ३० देखि ३५ मिनेट लगाउने गरेको छ ।
उपाध्यक्ष पोखरेलका अनुसार मतदान बीचमा रोक्न नमिल्ने भएकाले रातभर चल्ने छ । मतदानमा ८० वटा मेसिन प्रयोग गरिएको जनाउँदै उनले अहिलेसम्म कुनै पनि मेसिनमा समस्या नआएको जनाए ।
महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् ।
महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेका छन् । पदाधिकारीतर्फ अध्यक्ष (१) पदमा २, उपाध्यक्ष (५) पदमा ११, महासचिव (१) पदमा २, उपमहासचिव (३) पदमा ७ र सचिव (९) पदमा २० जनाले उम्मेदवारी दिएका छन् ।