प्रतिनिधिसभा निर्वाचन : कांग्रेसमा को-को भए एकल सिफारिस ? 

विवादरहित एकल सिफारिस हुनेहरूले टिकट पाउने निश्चितजस्तै

पुस १, २०८२

कुलचन्द्र न्यौपाने

House of Representatives election: Who is the sole recommendation in the Congress?

What you should know

काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी २१ फागुनमा हुने निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट एकल सिफारिसमा परेका छन्। डडेलधुरा क्षेत्रीय कार्यसमितिले देउवाको नाम मात्र सिफारिस गरेर केन्द्रमा पठाएको हो। ०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट चुनाव जित्दै आएका देउवाले आठौं पटक पनि प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

देउवासँगै कांग्रेसका अन्य प्रमुख नेताहरु पनि विभिन्न निर्वाचन क्षेत्रबाट एकल सिफारिसमा परेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट, महामन्त्री गगन थापा काठमाडौं–४ बाट सिफारिस भएका छन्। यद्यपि उनको नाम काठमाडौंबाहेक धनकुटा–१, रोल्पा–१ र सर्लाही–४ बाट पनि सिफारिस भएको छ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट एकल सिफारिसमा परेका छन्। उनी गत ०७९ को चुनावमा यसै क्षेत्रबाट निर्वाचित भएका हुन्।

यसैगरी कांग्रेस नेता शेखर कोइराला मोरङ–६ बाट, सुनील शर्मा मोरङ–३ बाट, पूर्व उपसभापति विमलेन्द्र निधि धनुषा–३ बाट एकल सिफारिस भएका छन्। निधि यसअघि समानुपातिकबाट सांसद भएका थिए। रौतहट–२ बाट डा. फिरदोस आलम पनि एकल सिफारिसमा परेका छन्। आलम मोहम्मद अफताब आलमका छोरा हुन्।

काठमाडौं–३ बाट सन्तोष चालिसेलाई एकल सिफारिस गरिएको छ। यद्यपि उनको सिफारिस विवादमा परेको छ। एकपक्षीय रूपमा क्षेत्रीय कार्यसमितिबाट सिफारिस गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका छन्। उनीहरुले क्षेत्रीय कार्यसमितिको कार्यालयमा तालाबन्दी समेत गरेका छन्।

यसै क्षेत्रबाट नेविसंघका अध्यक्ष दुजाङ शेर्पा सिफारिस हुन चाहेका थिए, तर उनलाई आउन नदिइ सन्तोष चालिसेको नाम एकल रूपमा सिफारिस भएपछि चर्को बिरोध भएको हो। गत ०७९ को चुनावमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित चालिस अहिले भ्रष्टाचार मुद्दामा परेका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ।

यसैगरी पर्सा–४ बाट रमेश रिजाल, पर्सा–१ बाट अनिल रुगंटा, सिरहा–२ बाट रामचन्द्र यादव, पाल्पा–१ बाट सन्दीप राना, रसुवा–१ बाट मोहन आचार्य, सिन्धुपाल्चोक–१ बाट मोहन बस्नेत पनि एकल सिफारिसमा परेका छन्।

नुवाकोट–१ बाट प्रकाशशरण महत एकल सिफारिसमा आएका छन्। यसअघि दाजु रामशरण महतले प्रतिस्पर्धा गर्दै आएको उक्त क्षेत्रमा यसपटक उनी अवसर पाएका छन्। यद्यपि उनको नाम काठमाडौं–५ बाट समेत सिफारिस भएको छ। तर उनले नुवाकोटबाट चुनाव लड्ने सार्वजनिक घोषणा गरिसकेका छन्।

भक्तपुर–१ बाट बाबुराज जोशी एकल सिफारिसमा आएका छन्। यस क्षेत्रबाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले चुनाव जित्दै आएको छ। गत निर्वाचनमा नेमकिपाका प्रेम सुवाल निर्वाचित भएका थिए।

दार्चुला–१ बाट दिलेन्द्रप्रसाद बडु र नवलपरासी–२ बाट देवेन्द्रराज कँडेल पनि एकल सिफारिसमा परेका छन्।

क्षेत्रीय तहबाट एक जनाको मात्र नाम आएको हुँदा केन्द्रीय संसदीय समितिले टिकट वितरण गर्दा उनीहरुलाई प्राथमिकता दिँदै टिकट दिने गरेको छ। विगतका निर्वाचनमा पनि एकल सिफारिस भएकाहरूले सहजै टिकट पाएका थिए, यसपटक पनि विवादविहीन एकल सिफारिसमा आएका उम्मेदवारले सहजै टिकट पाउने देखिन्छ।

पार्टी विधानअनुसार, क्षेत्रीय कार्यसमितिले एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ। सहमति भए सहमतिमा, र सहमति नभए बहुमतका आधारमा नाम सिफारिस गर्नुपर्ने व्यवस्था विधानमै छ।

तर अधिकांश क्षेत्रीय कार्यसमितिले यस सीमालाई अटेर गर्दै आकांक्षी सबैको नाम पठाएका छन्। कतिपय जिल्लाबाट ५० भन्दा बढी नाम केन्द्रमा पुगेका छन्, जसले केन्द्रीय संसदीय समितिलाई उम्मेदवार टुंगो लगाउन जटिलता थपेको छ।

यस्तो अवस्थामा एकल सिफारिस भएका नेताहरुको स्थिति भने सहज छ। क्षेत्र, जिल्ला र प्रदेश हुँदै सबै सिफारिस केन्द्रमा आउने क्रम सुरु भएको छ। सभापतिको अध्यक्षतामा रहेको केन्द्रीय संसदीय समितिमार्फतै ती उम्मेदवारको अन्तिम नाम टुंगो लाग्नेछ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully