गायिका ज्योति पनि युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै प्रचारमा देखिएकी हुन् ।
काठमाडौँ — गायिका ज्योति मगर पनि एमाले महाधिवेशनको प्रचार-प्रसारमा देखिएकी छिन् । नेतृत्व चयनका लागि मतदान हुन केही समय बाँकी रहँदा प्रचार-प्रसार तीव्र पारिएको छ । आ-आफ्ना पक्षका नेताहरूलाई भोट माग्नेको प्रदर्शनीमार्गमा लर्को लागेको छ ।
त्यसैक्रममा गायिका ज्योति पनि युवाहरू नेतृत्वमा आउनुपर्ने भन्दै प्रचारमा देखिएकी हुन् । केही समयअघि उनी पूर्णबहादुर गुरुङलाई मत माग्दै गरेको अवस्थामा भेटिइन् । गुरुङ आदिवासी खुलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार छन् । तनहुँ घर भएका उनी एमाले गण्डकी प्रदेश सदस्यसमेत हुन् ।
एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ ।
पदाधिकारीतर्फ अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७, सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेका नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन गराएका छन् ।
