पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ महासचिवमा उम्मेदवारी दिन चाहे पनि अन्तिममा उनी अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको टीमबाट उपाध्यक्षमा उठे ।
लमजुङ — नेकपा एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनमा लमजुङबाट उपाध्यक्षसहित ९ जनाले उम्मेदवारी दिएका छन् ।
पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ महासचिवमा उम्मेदवारी दिन चाहे पनि अन्तिममा उनी अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको टीमबाट उपाध्यक्षमा उठे । महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिएपछि गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
खुल्ला केन्द्रीय सदस्यमा यसअघिका केन्द्रीय सदस्य डा. भीष्मनाथ अधिकारी र जमीन्द्रमान घलेले उम्मेदवारी दिएका छन् । अधिकारी ओली टिममा परे पनि घले यो टीममा अटाएनन् । घले लमजुङ जिल्ला इन्चार्जसमेत हुन् ।
खुला केन्द्रीय सदस्यमा जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले पनि उम्मेदवारी दिएका छन् । उनी ओली टीममा अटाएका छन् ।
महिला खुला टुकाभद्र हमाल र यशोदा रिमालले उम्मेदारी दिएका छन् । हमाल अनेमसंघको अध्यक्ष हुन् भने रिमाल गण्डकी प्रदेश सभा सदस्य हुन् । दुवैजना ओली समूहको लिष्टमा छन् । दलित युवा (४० वर्षमुनी) तर्फ हिरालाल विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
उनी ओली समूहको लिष्टमा परेका छैनन् । पार्टीको गण्डकी प्रदेश सदस्यमा भने उनी लोकप्रिय मतका साथ विजयी भएका थिए । सम्पर्क समन्वय कमिटी महिलाबाट भगवती थापा क्षेत्री (कल्पना) ले उम्मेदवारी दिएका छन् । उनी यसअघि पनि केन्द्रीय सदस्य थिइन् । अनुशासन आयोग सचिवमा डा. राजेन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् ।
