कांग्रेसमा उम्मेदवार बन्न चाहनेको लर्को, डडेल्धुराबाट आठौँ पटक उम्मेदवार बन्दै देउवा

राजनीतिकरुपमा प्रतिकुल अवस्था भएपनि कांग्रेसमा उम्मेदवारका आकांक्षीहरुको लर्को देखिएको छ। एउटा निर्वाचन क्षेत्रबाट कतिपय जिल्लामा दर्जनौँ नेताहरू उम्मेदवारका लागि सिफारिस भएका छन्।

मंसिर २९, २०८२

कुलचन्द्र न्यौपाने

A flurry of candidates seeking to become candidates in the Nepali Congress, Deuba is running for the eighth time from Dadeldhura.

What you should know

काठमाडौँ — आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसमा उम्मेदवार सिफारिसको लर्को लागेको छ । पुराना अनुहारदेखि जेन-जी उमेरका युवासम्म उम्मेदवारका आकांक्षी देखिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नाम डडेल्धुराबाट एकल सिफारिस भएको छ । उनी २०४८ सालदेखि यहाँबाट निरन्तर चुनाव जित्दै आएका छन्। डडेल्धुरा कांग्रेसले ८० वर्षीय देउवालाई आठौँ पटक उम्मेदवार बनाउन सर्वसम्मत नाम सिफारिस गरेको हो। 

जेन-जी आन्दोलनको दबावमा उपसभापति पुर्णबहादुर खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर देउवा पार्टीको नेतृत्वबाट अलग भएका थिए। तर, संसदीय राजनीतिबाट भने देउवाले विश्राम नलिने संकेत दिएका छन् ।

आगामी महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वको हस्ताक्षरबाट मात्रै टिकट वितरण हुने भनेर महामन्त्री गगन थापाले दबाव बढाइरहेका बेला देउवा भने पुस १८ र १९ गते निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक उम्मेदवारको सुचीमात्रै नभई प्रत्यक्ष तर्फका टिकट समेत आफ्नै नेतृत्वमा बाँड्ने गृहकार्यमा जुटेका छन् ।

कांग्रेसको केन्द्रीय महाधिवेशन पुस २६–२८ गते तोकिएको छ । तोकिएकै मितिमा महाधिवेशन हुने वा नहुने भन्ने अन्योल बढिरहेको छ भने केन्द्रको निर्देशन अनुसार देशभरबाट उम्मेदवारको सिफारिस गर्ने क्रम चलेको छ। 

केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार संघीय निर्वाचन क्षेत्रबाट सिफारिस हुने उम्मेदवारको सुची क्षेत्रबाट जिल्ला कार्यसमिति, जिल्ला कार्यसमितिबाट प्रदेश कार्यसमिति हुँदै केन्द्रमा आईपुग्छ । अहिलेसम्म केन्द्रमा उम्मेदवारको सुचीहरु आइसकेको छैन । ‘भोलि प्रदेश कार्यसमितिको बैठक बस्छ, त्यसपछि मात्रै केन्द्रमा पठाउने क्रम सुरु हुन्छ,’ पौडेलले भने।

प्रतिनिधिसभाअन्तर्गतको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशबाट उम्मेदवार सिफारिस भई जिल्लामा गएका छन्। कतिपय जिल्लाहरुले प्रदेशमा समेत पठाइसकेका छन् । कतिपयमा भने विवादले रोकिएका छन् । क्षेत्रले आकांक्षी सबैको नाम समावेश गरेर सिफारिस गर्ने गरेकाले कतिपय नेताहरु अझै तलमाथि हुनसक्ने देखिएको छ ।

यसपटक तत्कालीन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका ३२ जना सांसदहरु पुनः समानुपातिक दोर्‍याउन नपाउने भएपछि ती मध्ये अधिकांश प्रत्यक्षतर्फनै आकांक्षा राखेका छन् । कांग्रेस विधानको धारा ३३(२) ले दोर्‍याएर समानुापतिक सांसद हुन नपाउने व्यवस्था गरेको छ ।

विधानमै यस्तो प्रबन्ध राखिएका कारण तत्कालीन ससद्मा समानुपातिकबाट सांसद रहेका सह–महामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, पूर्व उपसभापति बिमलेन्द्र निधि यसपटक प्रत्यक्षबाट सिफारिस भएका छन् । पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवासहित अधिकांश महिला नेतृहरुपनि यसपटक प्रत्यक्षतर्फ आकांक्षा देखाएका छन ।

महिला नेतृहरु अम्बिका बस्नेत, इश्वरी न्यौपाने, सरिता प्रसाई, प्रतिमा गौतम, नागिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरीलगायतले यसपटक सामानुपातिकको सुविधा पाउने छैनन्। उनीहरुमध्ये अधिकांशको प्रत्यक्ष उम्मेदवारमा नाम सिफारिस छ ।

मंसिर १५ गतेको बैठकको निर्णयसँगै उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसले १ सय ६५ निर्वाचन क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको थियो । विधान अनुसार प्रदेश क्षेत्रीय कार्यसमितिलाई प्रत्यक्षतर्फ तीन जनाको र समानुपातिक तर्फ एक महिला सहित दुई जनाको नाम सिफारिस गर्नुपर्ने विधानको व्यवस्था छ ।

विधानले तोकेको भन्दा बढी आकांक्षी भएमा क्षेत्रीय कार्यसमितिले आफ्ना क्षेत्रका महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय प्रतिनिधिसमेतको बैठकबाट सहमति भए सहमति अनुसार सहमति नभए बहुमतका आधारमा प्रत्यक्षतर्फ तीन र समानुपातिक तर्फ दुई जनाको नाम छनोट गर्नुपर्ने अधिकार दिएको छ ।

तर, अधिकांश क्षेत्रीय कार्यसमितिले बहुमतमा निर्णय नगरी सबै आकांक्षीको नाम सिफारिस गरेर पठाउने गरेका छन् । केही सिमित क्षेत्रले मात्रै मतदानबाट नाम छनोट गरेर विधानले तोकेकै संख्या पठाएका छन् । कांग्रेसले माघ ११ गते राष्ट्रियसभा निर्वाचनका लागि पनि उम्मेदवार माग गरेको छ ।

राष्ट्रियसभाका लागि एक तिहाई सदस्यका निर्वाचनका लागि प्रदेश मातहतका जिल्लालाई एक पदका योग्यता पुगेका कम्तिमा तीन जनाको नाम पठाउन निर्देशन गरिएको छ । मुख्य सचिव पौडेलले समानुपातिक, प्रत्यक्ष र राष्ट्रियसभाको उम्मेदवारको सुची एकैसाथ तलबाट आउने बताउँछन ।

तलबाट सिफारिस भएर आएको सुचीबाट केन्द्रीय कार्यसमिति अन्तर्गतको संसदीय समितिले उम्मेदवार छनोट गर्छ । क्षेत्रबाटै एकल सिफारिसमा परेका नेताहरुको टिकट भने सुरक्षित भइसकेको छ । यसरी एकल सिफारिसमा पर्नेमा कांग्रेसका कार्यवाहक सभापति पुर्णबहादुर खडका सुर्खेत–१ बाट छन् ।

महामन्त्री गगन थापा काठमाडौं–४ बाट एकल सिफारिसमा परेका छन्। एद्यपि उनको नाम काठमाडौँबाहेक तेह्रथुमबाट पनि एकल सिफारिस भएको छ भने धनकुटा–१, रोल्पा–१ र सर्लाही–४ बाटपनि सिफारिस भएको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा–१ बाट एकल सिफारिस भएको छ ।

कांग्रेस नेता शेखर कोइराला मोरङ–६ र सुनील शर्मा मोरङ–३ बाट एकल सिफारिसमा परेका छन्। एकल सिफारिसमै पर्नेमा पूर्व उपसभापति बिमलेन्द्र निधिको नाम धनुषा–३ बाट सिफारिस भएको छ । रौतहट–२ बाट डा फिरदोस आलम पनि एकल सिफारिसमा परेका छन् । उनी मोहम्मद आफ्ताब आलामका छोरा हुन्।

त्यस्तै, नवलपरासी–२ बाट देवेन्द्रराज कँडेलको नाम एकल सिफारिसमा परेको छ । ताप्लेजुङबाट गजेन्द्रप्रसाद तुम्याहाङ पनि एकल सिफारिस भएका छन् । राजनीतिकरुपमा प्रतिकुल अवस्था भएपनि कांग्रेसमा उम्मेदवारका आकांक्षीहरुको लर्को देखिएको छ। एउटा निर्वाचन क्षेत्रबाट कतिपय जिल्लामा दर्जनौँ व्यक्तिहरु सिफारिसमा परेका छन् । नेताहरुका अनुसार प्रदेश र स्थानीय तहको निर्वाचन एकैचोटि नपरेकाले उम्मेदवारको आकांक्षीहरु अझ कम भएको हो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो निर्वाचन क्षेत्रमा यसपटक छोरा श्यामप्रसाद सिटौलालाई सिफारिस गराएका छन् । यसअघि उक्त निर्वाचन क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग चुनाव हारेका सिटौला त्यसलगतै राष्ट्रियसभामा सांसद बनेका थिए ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेकी सभापति देउवा पत्नी आरजु राणा देउवाको नाम कैलाली–५ र बर्दिया–२ बाट सिफारिस भएको छ । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरुबाट देउवा दम्पतिमाथि सांघातिक आक्रमण भएको थियो । राणाको नाम एकल सिफारिसमा भने आउन सकेन।

दुवै निर्वाचन क्षेत्रमा उनीसहित अरुको नाम पनि सिफारिस भएको छ । राणा यसअघि तीनपटक सम्म समानुपातिकबाट सांसद भइसकेकी छिन् । लगातार दोर्‍याएर समानुपातिक हुन नपाउने व्यवस्थाका कारण उनी प्रत्यक्षतर्फनै भिड्न खोजेकी हुन् ।

पार्टी उपभासपति धनराज गुरुङको नाम स्याङजाको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । स्याङजाको निर्वाचन क्षेत्र १ बाट गुरुङसहित तत्कालीन सांसद राजु थापासहित ११ जनाको नाम सिफारिस भएको छ भने २ बाट पूर्व उसभापति गोपालमान श्रेष्ठसहित १२ जनाको नाम सिफारिस भएको छ । 

पार्टीका प्रवक्ता प्रकाशरण महतको नाम काठमाडौं र नुवाकोटबाट सिफारिस भएको छ । काठमाडौं–५ बाट महत, पूर्व मन्त्री प्रदीप पौडेलसहित ६ जनाको नाम सिफारिस भएको छ । ०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका प्रभावशाली नेता इश्वर पोखरेललाई पौडेलले पराजित गरेका थिए । पौडेलको नाम तनहूँ–१ बाट पनि सिफारिस भएको छ । महतको नुवाकोट–१ बाट सिफारिसमा परेका छन । महतले नुवकोट–१ बाट चुनाव लड्ने प्राथमिकता बनाएका छन् ।

कांग्रेस नेता एनपी सावद कंचनपुर–२ बाट सिफारिस भएका छन । यस क्षेत्रबाट सावदसहित तीनको नाम सिफारिस भएको छ । कंचनपुर–१ मा क्षेत्रीय कार्यसमितिको निर्वाचनबाट दुई जनाको नाम सिफारिस गरिएको छ । चारजना आकांक्षी बीच भएको निर्वाचनबाट गोपालप्रसाद उपाध्याय र भरत विष्टको नाम सिफारिस गरिएको हो ।

कंचनपुर–३ मा भने नाम टुंगो लागिसकेको छैन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको संखुवासभाबाट पूर्व मन्त्री दीपक खडकासहित ९ जनाको नाम सिफारिस छ । तनहूँ–१ बाट गोविन्द भट्टराई, रामचन्द्र पोखरेल, दीपक भट्टराईसहित १० जनाको नाम सिफारिस भएको छ ।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त पदमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई पराजित गरेर रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले सांसद भएका थिए । त्यस्तै, तनहुँ–२ बाट तत्कालीन सांसद शंकर भण्डारी र प्रदीप पौडेलसहित ७ जनाको नाम सिफारिस भएको छ ।

वीपी पुत्र शशांक कोइराला यसपटक पनि नवलपुर–१ बाट सिफारिसमा परेका छन । उनीसहित यस क्षेत्रबाट १३ जनाको नाम सिफारिस छ । नवलपुर–२ मा विष्णु कार्कीसहित तीन जनाभन्दा बढीको नाम सिफारिस भएको छ। 

कास्कीमा भने उम्मेदवार सिफारिसलाई लिएर विवाद भएको छ। कास्की क्षेत्र नम्वर १ को क्षेत्रीय कार्यसमितिले सिफारिस नै नगरी जिल्लाले सिधै सिफारिस गरेपछि बिबाद भएको हो । क्षेत्रीय समितिले आकांक्षीहरुको नाम संकलन गर्दा प्रत्यक्षमा १२ जना र समानुपातिक तर्फमा ८ जनाको नाम टिपाएका थिए ।

त्यस्तै कास्की–२ बाट वीरेन्द्रनारायण विजुक्छेसहित १३ जनाको नाम सिफारिस भएको छ भने कास्की–३ मानै १६ जनाको नाम सिफारिस भएको छ । नवलपरासी–२ बाट देवेन्द्रराज कँडेल, नवलपरासी–१ बा विनोद चौधरीसहितको नाम सिफारिस भएको छ । कडेलको नाम भने एकल रुपमा सिफारिस भएको छ ।

झापा–२ मा सरिता प्रसाई, छत्रबहादुर गिरीसहित तीन जनाको नाम सिफारिस भएको छ भने झापा ४ मा ३,, झापा–५ मा पाँच जनाको नाम सिफारिस भएको छ । केन्द्रमा नजादा सम्म नाम तलमाथि हुनसक्ने जनाईएको छ । झापा ५ बाट सात जनाको नाम सिफारिस भएको छ ।

मोरङ–१ मा डिकबहादुर लिम्बुसहित तीन जना, मोरङ–२ मा मिनेन्द्र रिजालसहित तीन, मोरङ–४ मा महेश आचार्य, गुरुराज घिमिरेसहित पाँच, मोरङ–५मा पनि पाँच जनाको नाम सिफारिस छ । उदयपुर–१ बाट नारायण खडकासहित तीनजना, उदयपुर–२ बाट तीन जनाको नाम सिफारिस भएको छ ।

कैलाली–४ बाट पूर्व मन्त्री बीरबहादुर बलायर, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरसहित सात जनाको नाम सिफारिस भएको छ । कैलाली–१ बाट इश्वरी न्यौपानेसहित पाँच जनाको नाम सिफारिस भएको छ । न्यौपाने तत्कालीन संसदमा समानुपातिक तर्फबाट सांसद थिइन्। कैलाली–२ बाट कृष्णराज पाण्डे, बीरबहादुर थारुसहित १० जनाको नाम सिफारिस छ । कैलाली–३ बाट चार जनाको नाम सिफारिस भएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत भइसकेका प्रकाशमान सिंहको नाम यसपटक पनि काठमाडौं–१ बाटै सिफारिस भएको छ । सिंह सहित यस क्षेत्रबाट चार जनाको नाम सिफारिस छ ।

काठमाडौं–८ बाट अमितसिंह कार्कीसहित ७ जनाको नाम सिफारिस भएको छ । काठमाडौं–२ बाट प्रतिमा गौतम, लोकेश ढकालसहित पाँच जनाको नाम सिफारिस भएको छ । गौतम तत्कालीन संसदकी समानुपातिक सांसद हुन् । काठमाडौंका अरु केही क्षेत्रमा अझै सिफारिसको प्रकृया अघि बढीरहेकाले सार्वजनिक हुन सकेको छैन।

त्यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादव धनुषा–४ बाट, सिफारिस भएका छन् । उनी सोही निर्वाचन क्षेत्रबाट ०७९ को चुनावमा पराजित भएका थिए । अहिले उनीसहित पूर्व राष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रकान्त यादवसहित तीन जनाको नाम सिफारिस भएको छ ।

धनुषा–१ बाट तीनजनाको नाम सिफारिस भएको छ । धुनषा–२ सिफारिस पठाउन बाँकी छ । । सहमहामन्त्री भीष्मराज आङ्गदम्बेको नाम पाँचथरबाट सिफारिस भएको छ । मकवानपुर–१ बाट महालक्ष्मी उपाध्यायकसहितका नेताहरु सिफारिसमा परेका छन् ।

सुनसरी–१ बाट उमेश थापासहित ९ जना, सुनसरी–२ बाट राजीव कोइरालासहित तीन जना, सुनसरी ३ बाट विजयकुमार गच्छदार र देव गच्छदार, ४ बाट ज्ञानेन्द्रबहादुर कार्की र गफार अन्सारीलगायत आधा दर्जन नेतारुको नाम सिफारिस भएको छ ।

तीन निर्वाचन क्षेत्र रहेका ललितपुर–१ बाट उदयशम्शेर राणासहित सात जनाको नाम सिफारिस भएको छ । त्यस्तै, ललितपुरकै २ बाटै दीवाकर नेपालसहित ती जना, ललितपुर–३ बाट मदनबहादुर अमात्य, धना खतिवडासहित पाँच जनाको नाम सिफारिस भएको छ ।

बाँके १ बाट पोषण केसी, नारायणप्रसाद पौडेलसहित ९ जनाको नाम सिफारिस भएको छ । बाँके–२ बाट गजेन्द्र हमाल, सुदीपनरसिंह रानासहित ६ जना को नाम सिफारिस भएको छ । बाँके–३ बाट सहमहामन्त्री किशोरसिंह राठोरसहित ६ जनाको नाम सिफारिस भएको छ । राठोरको नाम बर्दिया–२ बाट पनि सिफारिस भएको छ । राठौरले बर्दिया–२ बाट चुनाव जितेका थिए ।

बर्दिया –१ बाट पुर्व मन्त्री संजयकुमार गौतमसहित ४ जना, बर्दिया–२ बाट आरजु राणा र किशोरसिंह राठोरसहित १० जनाको नाम सिफारिस भएको छ । रोल्पा–१ मा महामन्त्री थापाका अतिरिक्त अमरसिंह पुन, मनोजमणि आचार्यसहित ५ जनाको नाम सिपारिस भएको छ ।

भुटानी शरणार्थी प्रकरणमा आरोपित नेता बालकृष्ण खाण रुपेन्देही –३ बाट नाम सिफारिस भएको छ । यस क्षेत्रबाट अन्य पाँच जनाको नाम समेत सिफारिस छ । कपिलबस्तु–२ बाट सुरेन्द्रकुमार आचार्यसहित ४ जना, सिन्धुली–१ बाट तत्कालीन संसदका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतका व्यक्तिहरु सिफारिसमा परेका छन् ।

त्यस्तै कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम सिफारिस भएको छ । कपिलबस्तु–१ बाट अतहर कमालसहित, कपिलबस्तु–२ बाट सुरेन्द्रराज आचार्यसहित चारजना, कपिलबस्तु–३ बाट वीरेन्द्रकुमार कनौडियासतिको नाम सिफारिस भएको छ ।

भक्तपुर –१ बाट बाबुराजा जोशीको नाम एकल सिफारिस गरेको छ । यस क्षेत्रबाट नेपाल मजुदर किसान पार्टीका प्रेम सुवालले यसअघिका चुनाव जितेका थिए। भक्तपुर–२ बाट दुर्लभ थापा, कविर राणासहित ८ जनाको नाम सिफारिस भएको छ । काभ्रे–१ मा गणेश लामासहित पाँचजनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । बैतडीमा चतुरबहादुर चन्दसहित तीन जनाको सिफारिसमा परेको छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully