ओलीले सचिव पदमा दोहोर्याएर उम्मेदवार बन्न प्रस्ताव गरेका नेता लेखराज भट्टले आफू सचिव पदको उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनी यसअघि नै सचिव थिए।
काठमाडौँ — एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताअघि नेताहरूको रस्साकस्सी चलिरहेको छ।
अध्यक्षमा तेश्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट उम्मेदवारको टुंगो लगाइरहेका छन्। त्यसक्रममा ओलीले सचिव पदमा दोहोर्याएर उम्मेदवार बन्न प्रस्ताव गरेका नेता लेखराज भट्टले आफू सचिव पदको उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनी यसअघि नै सचिव थिए।
‘म सचिवको उम्मेदवार हुन्नँ,’ उनले भने, ‘अरु कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो लागेको छैन।' उनले उपमहासचिव पदमा आकांक्षा राखेका थिए। तर ओलीले उनलाई सचिवमै दोहोरिन प्रस्ताव गरेका थिए।
संस्थापन पक्षका नेताहरुको व्यवस्थापनमा जटिल बनेपछि ओलीले महासचिवका आकांक्षी पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने भएका छन्।
