जिल्ला जिल्लामा किचलो, अधिकांश पुरानै अनुहार
What you should know
सुर्खेत — कांग्रेस रुकुम पश्चिमले शनिबार जिल्ला कार्यसमिति बैठकबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व राज्यमन्त्री गोपालजीजंग शाह र जिल्ला सभापति प्रेमप्रकाश ओली तथा समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीलाई उम्मेदवार सिफारिस गरेको सार्वजनिक गर्यो ।
तर आकांक्षीहरू शिव आचार्य र राजु केसीले एकपक्षीय ढंगबाट उम्मेदवार सिफारिस गरिएको भन्दै विरोध जनाएपछि किचलो सुरु भएको छ ।
कालीकोटमा जिल्ला कार्यसमिति बैठकले शुक्रबार प्रत्यक्षतर्फ भुपेन्द्रजंग शाही, पार्टी सभापति अम्बहादुर शाही र सीता रावलसहित समानुपातिकतर्फ ३ नेताहरुको नाम सिफारिस गर्यो । तर महामन्त्री गगन थापा पक्षका नेताहरू पूर्व पार्टी सभापति हर्षबहादुर बम, उपसभापति मीनबहादुर बोगटी, महासमिति सदस्य नारायणप्रसाद भट्टराईसहितले शनिबार छुट्टै सिफारिस पठाएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसलाई सकस परेको छ । धेरै जिल्लामा पुरानै उम्मेदवारलाई निरन्तरता दिइएको छ । जुम्लामा कांग्रेस जिल्ला कार्यसमितिको बैठक बुधबारदेखि चार दिनसम्म लगातार बसे पनि आकांक्षी धेरै भएपछि टुंगो लगाउन सकेको छैन ।
‘छलफलै छलफलमा चार दिन बित्यो,’ पार्टी प्रवक्ता मेघराज गिरीले भने,‘अझै निर्णयमा पुग्न सकिएको छैन ।’ उनका अनुसार प्रत्यक्षतर्फ पूर्वसांसद कान्तिका सेजुवाल, सभापति कर्णबहादुर शाही र पूर्वउपसभापति खड्कबहादुर सेजुवाललगायत उम्मेदवारमा ७ जनाको दाबी छ । समानुपातिकतर्फ १५ जनाले दाबी गरिरहेका छन् ।
कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले प्रत्यक्षतर्फको खुलामा दुई उम्मेदवार सिफारिस भइसकेको दाबी गरे । उनले प्रत्यक्षतर्फ एकजना महिलाको नाम भने सिफारिस भएको बताए । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी केसीले भने कार्यसमितिको बैठकको निर्णयबिनै सभापतिले ‘मिडियाबाजी’ गरेको आरोप लगाए ।
कालीकोटमा असन्तुष्ट पक्षले ५ जना प्रत्यक्ष, ५ समानुपातिक र २ जना राष्ट्रिय सभा गरी १२ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रत्यक्षतर्फ हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशरजंग बम र जीवन सुवेदी प्रत्यक्षमा सिफारिस भएका छन् । पूर्वसभापति हर्षबहादुर बमले पत्रकार सम्मेलन गरेर पार्टीलाई कमजोर बनाउनेगरि जिल्ला कार्यसमितिले एकपक्षीय नाम सिफारिस गरेको आरोप लगाए ।
सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई एकल सिफारिस गरिएको छ । अन्य जिल्लामा आकांक्षी धेरै भएपछि समस्या भएको कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री कृष्णबहादुर रोकायाले बताए । उनका अनुसार केन्द्रीय समितिको निर्णयअनुसार उम्मेदवारको सिफारिसका लागि मंसिर १५ गते प्रदेश, जिल्ला, क्षेत्र र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई पत्राचार गरेको थियो ।
२५ गतेसम्म आफ्नो रायसहित प्रदेश समितिलाई नाम सिफारिस गर्न निर्देशन दिए पनि आकांक्षी धेरै हुँदा ढिलाइ भएको उनको भनाइ छ । कांग्रेसले विधानको दफा ३३, ३३ (२) तथा ६९ अनुसार योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फ बढीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिइएको थियो । जसमा १० बुँदे मापदण्ड उल्लेख गरिएको छ ।
सुर्खेत-२ मा पूर्वसांसद हृदयराम थानी, उपेन्द्र थापा, नारायण कोइरालासहित ६ जनाको नाम सिफारिस गरिएको छ । विजयी हुने आधारसहित उम्मेदवारको सिफारिस गरिएको कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेलले बताए । ‘उम्मेदवार छनोटका क्रममा केन्द्रीय कार्यसमितिले गरेको निर्णयलाई फ्लो गरेका छौँ,’ उनले भने, ‘उहाँहरूको योग्यता, जनतामा लोकप्रियता र प्रतिबद्धतालाई पनि आधार मानिएको छ ।’
कांग्रेसको आन्तरिक विवाद केन्द्रदेखि वडातहसम्मै भएकाले उम्मेदवारको सिफारिसमा विलम्ब भएको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दुर्गाप्रसाद सापकोटाले बताए । ‘सबै नेताहरूका आ-आफ्नै स्वार्थ छन्, त्यो कुरा पार्टीमा पनि देखियो,’ उनले भने, ‘सिफारिसमा केन्द्रले बनाएका मापदण्डको पनि पालना भएन ।’
डोल्पामा केन्द्रीय सदस्य कर्णबहादुर बुढाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने समानुपातिकमा ३ जनाको नाम सिफारिस गरिएको छ । आकांक्षीको संख्या धेरै भएपछि दैलेख क्षेत्र नं. १ बाट जिल्ला सभापति मणिराम रेग्मीसहित खेमराज ओली, खेमराज केसी, गणेश उपाध्यायसहित प्रत्यक्षतर्फ १३ जना र समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट सीताकुमारी राना, दिक्पालकुमार शाही, मधुरविक्रम खनाल र रञ्जना शाहीको नाम सिफारिस गरिएको छ ।
मुगुमा पूर्व वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसहित ७ जनाको नाम सिफारिस गरिएको छ भने जाजरकोटमा कांग्रेसले खड्गबहादुर बुढा, मैना कार्की, मुक्तिप्रसाद आचार्यसहित ५ जनाको नाम पठाएको छ ।
सबै उम्मेदवारलाई संगठनमा सक्रियता, भूमिगत योगदान र जनसम्पर्क क्षमताका आधारमा छनोट गरिएको कांग्रेस जाजरकोटका प्रवक्ता छवि पन्तले बताए । सिफारिस प्रक्रिया पूर्ण रूपमा पारदर्शी, सहमतिमूलक र संगठनात्मक निर्देशिकाअनुसार सम्पन्न गरिएको उनको भनाइ छ । हुम्लामा प्रत्यक्षतर्फ कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, जयपति रावल र रीता शाहीको नाम सिफारिस गरिएको छ ।
