भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृतिले बनाउँछ : साम्पाङ

स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए ।

मंसिर २७, २०८२

डम्बरसिं राई

A country ruined by corruption will be built by labor culture: Sampang

What you should know

खोटाङ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् । 

दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए । 

दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले स्वर्गजस्तो देश भए पनि गरिब हुनु परेको साम्पाङले बताए । ‘नेता भएपछि दृष्टिकोण हुनु पर्छ, दृष्टिकोणबिनाको नेतालाई चुन्दा दुःख पाएको हो,’ साम्पाङले भने, ‘समस्या पहिचान गर्न नसक्ने नेता हुन सक्दैन, समस्या पहिचान गर्न सके पनि समाधान गर्न सक्दैन, त्यस्तोलाई नेता सम्झ्यौं, अब त्यस्तो गल्ति गर्नु हुँदैन ।’

विदेशीको ऋण लिएर विकास गर्छु भन्ने अनि ऋण लिएर आधाको काम गर्ने र आधाले आफ्नो घर बनाउने नेतालाई भुलेर पनि नेता मान्न नहुने साम्पाङको भनाइ छ । अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गर्नुपर्ने समेत साम्पाङले बताए । ‘विदेशी ऋण लिएर विकास गर्छु भन्ने, ऋण लिएर आधाले काम गर्ने, आधाले आफ्नो घर बनाउनेलाई नेता मान्नु हुँदैन, घरी युद्धको नाममा, घरी के को नाममा सत्तामा पुगेर भ्रष्टाचार गर्ने न्यूनतम मान्छेसमेत नभएकालाई नेता मान्नै हुँदैन,’ साम्पाङले भने, ‘अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गनु पर्छ ।’

साम्पाङले देश विदेशीले चलाएको समेत आरोप लगाए । विदेशीले नचाहँदा सरकार ढल्नु पर्ने, चाहँदा सरकार बन्नु पर्ने, विदेशीले बनाइदिएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने, गृहमन्त्री हुनु पर्ने बाध्यताको अन्त्य गर्न श्रम संस्कृति पार्टी जन्मिएको साम्पाङले बताए । ‘विदेशीले नचाहँदा सरकार ढल्नु पर्ने, चाहँदा सरकार बन्नु पर्ने, विदेशीले बनाइदिएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने, गृहमन्त्री हुनु पर्ने बाध्यता छ,’ साम्पाङले भने, ‘त्यसैले यसको अन्त्यका लागि गरिब, सोझा–साझा जनताले देश चलाउनका लागि श्रम संस्कृति पार्टी जन्मिएको हो ।’

शिक्षा, स्वास्थ्य, रोगजारीका लागि पुरानो गल्तीलाई दोहोर्‍याउन नहुने समेत साम्पाङले बताए । यसका साथै स्वाधीन देशका लागि श्रमदान गर्नुपर्ने साम्पाङले सुनाएका छन् । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully