'१६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी चम्किलो ताराझैँ चम्किरहेको छ। हामी कसैलाई दोषारोपण गर्न नभई जनताकै बीच आएका हौँ।'-नेपाल
नेपालगन्ज — नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगामीहरूले दोष मात्र देख्ने तर जिम्मेवार नभएका कारण जनतामा निराशा र आक्रोश बढेको बताएका छन्। पूर्वप्रधानमन्त्री नेपालले जेन-जीका नाममा भदौ २४ गते भएको लुटपाट र आगजनीमा संलग्नलाई छुट दिन नहुने पनि बताए।
‘समर्पणको भावना, देश बनाउने हुटहुटी र चिन्ता नहुँदासम्म देश बन्ने अवस्थामा पुग्दैन। हामीलाई देश र जनताको चिन्ता छ,’ नेपालले भने, ‘नेपालको राजनीतिलाई स्वच्छ बनाउने काम अब नेपाली कम्युनिस्ट पार्टीले अगुवाइ गर्छ।’
नेपालले त्यही एकता सन्देश दिन नेपालगन्ज आएकोसमेत बताए। विगत स्मरण गर्दै उनले हिन्दीमा कविता पनि भन्न भ्याए, 'यादों की कीमत वो क्या जाने, जो खुद यादों को मिटा दिया करते हैं ।'
‘१६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी चम्किलो ताराझैँ चम्किरहेको छ। हामी कसैलाई दोषारोपण गर्न नभई जनताकै बीच आएका हौँ। जनता नै अदालत हुन्, जनताले नै सही-गलतको फैसला गर्नेछन्,’ उनले भने।
नेता शक्तिबहादुर बस्नेतले समाजवादी एकताका कारण यो पार्टी निर्माण भएको उल्लेख गर्दै अब यो एकता विभाजन नहुने दाबी गरे। ‘यो पार्टी एकता मात्र होइन, समग्र मुलुकलाई एकतामा ल्याउने अभियान हो,’ उनले भने। ‘मुलुकलाई आन्तरिक द्वन्द्वबाट जोगाउन अब एक–अर्कालाई गाली गरेर देश बन्दैन। प्रदेश–प्रदेशमा एकताको सन्देश घरघरमा पुर्याउँछौँ। देश बनाउन देशप्रति माया आवश्यक छ,’ बस्नेतले थपे।
