शनिबारदेखि सुरु हुने महाधिवेशनमा ओली पुरानो विरासत जोगाउने कसरतमा लागेका छन् भने पोखरेल त्यसलाई तोड्ने प्रयासमा छन् ।
What you should know
काठमाडौँ — एमालेको ११ औं महाधिवेशन नजिकिँदै जाँदा मुख्य नेतृत्वका लागि प्रतिस्पर्धाको तयारीमा रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एक–अर्काबीच आरोप–प्रत्यारोपमा उत्रेका छन् । शनिबारदेखि सुरु हुने महाधिवेशनमा ओली पुरानो विरासत जोगाउने कसरतमा लागेका छन् भने पोखरेल त्यसलाई तोड्ने प्रयासमा छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा उम्मेदवारी दिएका पोखरेल संस्थापनविरुद्ध प्यानल बनाएर नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् । महाधिवेशन सुरु नहुँदै आमनेसामने भएका ओली र पोखरेल यतिबेला सार्वजनिक रूपमा नै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
पोखरेलले जेन–जी आन्दोलनमा भएको घटनाको प्रसंग उल्लेख गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार प्रमुखका नाताले अध्यक्ष ओलीले लिनुपर्ने जिकिर गरेपछि ओली पनि त्यसको प्रतिवादमा उत्रेका छन् । ओलीले खुला रूपमा नै पोखरेलले अहिलेको सरकारसँग मिलेमतो गरेको आरोप लगाएका छन् । ओलीले २३ र २४ भदौमा भएका घटनाको जाँचबुझ गर्न बनेको आयोग नै अवैध भनिरहेका बेला वरिष्ठ उपाध्यक्ष पोखरेलले आयोगमा बयान दिन अध्यक्ष ओली जानुपर्ने सल्लाह दिएका थिए ।
‘सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वाभाविक हो, म भए अगाडि नै गएर बयान दिन्थें । यद्यपि आयोगको निष्पक्षतामाथि प्रश्न भने छ,’ पोखरेलले गत बुधबार एक कार्यक्रममा भनेका थिए, ‘आयोगमा बयान दिन अध्यक्ष जानुपर्छ, जानुहुनेछ । यसलाई अन्यथा मान्नु हुँदैन ।’ उनले आयोगप्रति प्रश्न उठाएको भए पनि घटनाको सत्यतथ्यबारे आफ्नो भनाइ राख्नु अनुचित नभएको बताएका थिए ।
त्यसो त अध्यक्ष ओलीले २३ र २४ भदौका घटनामाथि छानबिन गर्न गठन भएको जाँचबुझ आयोगमा बयान नदिने बिहीबार पनि दोहोर्याएका छन् । सरकार नै असंवैधानिक भएको टिप्पणी गर्दै ओलीले त्यसको क्रियाकलाप पनि अस्वीकार गर्ने बताएका हुन् ।
‘उपाध्यक्षज्यू (पोखरेल) लाई किन सन्चो भएन, मलाई थाहा भएन । बयान दिन जाने, नजाने मेरो कुरा हो । कानुनी कुरा मलाई पनि थाहा छ । त्यसबापत सजाय भोग्ने कुरा मलाई थाहा छ,’ ओलीको आक्रोश थियो, ‘प्रधानमन्त्री (सुशीला) कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्ष (पोखरेल) जीलगायत मित्रहरूको चाहना एउटै छ ।’
प्रतिस्पर्धा गर्न नसक्नेले अध्यक्ष छाड्न भन्दैमा आफूले नछाड्ने ओलीले बताए । ‘म्याराथनमा तीन पटक होइन, सात पटक कुदेर स्वर्ण पदक लिन पाइन्छ । सक्नुहुन्छ भने कुद्नुस्’ उनले पोखरेललाई कटाक्ष गर्दै भने, ‘कुद्न नसक्ने, छोड्दे–छोड्दे नखेल भन्ने ?’ ओलीले समय आएपछि ‘गेम खेल्न छोड्ने’ बताउँदै अहिले खेल्न सक्ने भएकाले नै पार्टी नेतृत्वमा आफूले दुई कार्यकाल कटाएको बताए । एमालेभित्र निरंकुश शैली अपनाएको आरोप लागिरहेकै बेला ओलीले २०७१ को नवौं महाधिवेशनभन्दा अघि नै आफूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सुरु गरेको दाबी गरे । ‘पार्टीभित्र लोकतान्त्रिक अभ्यासको सुरुवात मैले गरेको हुँ । पार्टी जीवनको लोकतन्त्रीकरणका लागि अरूलाई दबाब दिएको हुँ’ उनले भने ।
ओली पक्षले प्रतिस्पर्धाका लागि खुला भए पनि पराजित भएपछि त्यसलाई स्वीकार गर्नुपर्ने बताए । ‘चुनावमा म, कोही वा वरिष्ठ उपाध्यक्ष, कसैले पनि प्रतिस्पर्धा गर्न चाहेमा मलाई कति कार्यकर्ताले मन पराउनुहोला ? कतिले भोट दिनुहोला ? भनेर हिसाब–किताब गरेर आउनु नै भएको होला,’ उपमहासचिव विष्णु रिमालले भने, ‘आफू पराजित भइयो भने पार्टीमा लोकतन्त्र भएन, आन्तरिक लोकतन्त्र खस्कियो, अनि आफू जित्यो भनेचाहिँ गजब गरियो भन्ने भाष्य गलत हुन जान्छ ।’
पोखरेलको पक्षमा खुलेका नेता योगेश भट्टराईले पार्टीको आन्तरिक प्रतिस्पर्धालाई स्वच्छ र मर्यादित बनाउनुपर्ने बताए । ‘आन्तरिक प्रतिस्पर्धालाई स्वच्छ र मर्यादित बनाउनुपर्छ । अध्यक्ष कमरेड र नजिकका मान्छेबाट पनि यस्तै अपेक्षा गर्छौं । हामी कस्तो स्कुलिङ गर्छौं भन्ने कुरा महत्त्वपूर्ण हो,’ उनले थपे, ‘हामीले भाषा, सभ्यता, कार्यशैली सिकाउने हो । प्रतिस्पर्धालाई मर्यादित बनाउन सबैले ध्यान दिनुपर्छ ।’
उनले पार्टीभित्रको पुनर्गठन, शुद्धीकरण, एमालेको पुनर्जीवनका लागि प्रतिस्पर्धामा उत्रिएको बताए । ‘हाम्रो मुद्दा नयाँ ढंगले विचार, कार्यशैली, व्यवहारबाट अघि बढाउने हो,’ उनले सुनाए, ‘पार्टीलाई व्यापक र बहुआयामिक ढंगले पुनर्गठन गर्ने हो । पार्टीलाई जनतातिर फर्काउने हो । जनतालाई सुन्ने अनि जनतालाई संगठित गर्ने हाम्रो लक्ष्य हो ।’
पोखरेलले आफू अध्यक्षका लागि प्रतिस्पर्धा गरे पनि परिणामलाई स्वीकार गर्न तयार रहेको बताइसकेका छन् । ‘म अध्यक्षका लागि प्रतिस्पर्धा गरे पनि परिणामलाई स्वीकार गर्न तयार छु’ उनले भने । दसौं महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गरेका भीम रावललाई पार्टी छाड्न बाध्य पारेको विषय पनि पोखरेल पक्षले उठाएको छ ।
त्यसैले उनीहरूले नेतृत्वका लागि हुने ‘स्वस्थ’ प्रतिस्पर्धालाई स्वीकार गरी पार्टी जीवनमा काम गर्ने बताए । संस्थापन पक्षले महाधिवेशन प्रतिनिधि अस्वस्थ ढंगले चयन गरेको भन्दै पोखरेल पक्षले ओलीसमक्ष आपत्ति जनाएको थियो । त्यसलाई ओलीले ‘आफूले धाँधली गर्न नपाएपछि प्रतिनिधि चयन अस्वस्थ भएको भनिएको’ कान्तिपुरलाई बताएका थिए ।
पोखरेल पक्षले लिखित दस्ताबेज नै तयार गरी पार्टीभित्र विगतमा फरक मत राख्नेहरू डरैडरमा बस्न बाध्य भएको बताएको छ । ‘भयरहित वातावरणमा आफूलाई लागेका कुरा प्रस्टसँग राख्ने अवस्था बन्न सकेन । कमिटीहरूमा राजनीतिक, वैचारिक बहसको वातावरण कमजोर भएको छ । सिंगो पार्टी राजनीतिक, वैचारिक रूपमा होइन, प्राविधिक रूपमा, गैरसरकारी संस्थाको ढाँचाबाट चल्ने गरी रूपान्तरित हुने जोखिम बढेको छ,’ पोखरेल पक्षको दस्ताबेजमा भनिएको छ, ‘आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्छ । प्रतिस्पर्धाको परिणामलाई सबैले स्वीकार गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनुपर्छ । निर्वाचनपछि पनि प्रतिस्पर्धीबीच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्छ ।’
