८८ वटा राजनीतिक दलले एक्लाएक्लै तथा १२ वटा दलले विभिन्न ५ वटा अलग-अलग समूहबाट एकल चुनाव लिएर प्रतिस्पर्धामा उत्रिने गरी निवेदन दिएका छन् ।
काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनावमा प्रतिस्पर्धा गर्न सयवटा राजनीतिक दलका तर्फबाट ९३ वटा निवेदन परेको छ ।
८८ वटा राजनीतिक दलले एक्लाएक्लै तथा १२ वटा दलले विभिन्न ५ वटा अलग-अलग समूहबाट एकल चुनाव लिएर प्रतिस्पर्धामा उत्रिने गरी निवेदन दिएका छन् ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरुलाई दर्ताका लागि आह्वान गरेको थियो । २१–२३ मंसिर तीन दिनसम्मको अवधिमा ९३ वटा निवेदन आएको आयोगका सहायक प्रवक्ता सीता पुनले जानकारी दिएकी छन् ।
निर्वाचनमा भाग लिने भनेर यसअघि दल दर्ता गराएका राजनीतिक दलहरूले मात्रै समानुपातिकतर्फ निवेदन दिन पाउने थियो । आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन दिएको १-१४ मंसिरको अवधिमा ११४ दलबाट १०७ निवेदन परेको छ । त्यसअनुसार अयोगले १०७ वटा निर्वाचन चिह्न वितरण गरिसकेको छ । अघिल्लो निवेदनमा स्विकृत भएका १०७ दल दर्ताबाटै समानुपाकितका लागि ९३ वटा निवेदन आएको पुनले बताइन् ।
यसअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता गराए पनि समानुपातिक निर्वाचनमा भाग लिन नआएका १४ राजनीतिक दल देखिएका छन् । प्राप्त निवेदनउपर छानबिनपछि समानुपातिकतर्फ प्रतिस्पर्धामा उत्रिने राजनीतिक दलहरूको अन्तिम नामावली प्रकाशित गरिने पुनले जानकारी दिएकी छन् ।
- शीर्षकमा यसअघि अन्यथा भएकाले सच्याइएको छ।
