नेता खनालले जेन-जी पुस्तामा आक्रोश मात्रै भएर नपुग्ने बताएका हुन् ।
गुल्मी — नेपाली कम्युनिस्ट पार्टीका नेता चक्रपाणी खनालले जेन-जी पुस्तामा नेतृत्व र योजना हुनुपर्ने बताएका छन् ।
नेकपा जिल्ला समिति गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको एकता सन्देशसभामा सम्बोधन गर्दै नेता खनालले जेन-जी पुस्तामा आक्रोश मात्रै भएर नपुग्ने बताएका हुन् ।
'सुदन गुरुङले भ्रष्टाचार न्यूनीकरण गर्ने भनेर हामीले पत्याउनै सकिँदैन,' उनले भने, 'जेन-जी पुस्तामा आक्रोश मात्रै भएर हुँदैन, नेतृत्व र योजना पनि चाहिन्छ ।'
उनले जेन-जी पुस्तालाई समेटेर लैजाने पार्टी नेपाली कम्युनिस्ट पार्टी मात्रै रहेको दाबी गरे । उनले १० वर्षको जनआन्दोलनबाट निर्माण भएको संविधान बल्लतल्ल जोगिएको बताए । राष्ट्रपति रामचन्द्र पौडेलको चट्टानी अडान र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको समन्वयकारी भूमिकाले संविधानको रक्षा भएको पनि बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटपछि दुवै पार्टी संसद् पुनःस्थापनका लागि सर्वोच्च अदालत गए पनि त्यसले आफ्नो पार्टीलाई कुनै असर नगर्ने उनले बताए । ओलीले आफ्नो पार्टी एमाले ध्वस्त पारिसकेको र कांग्रेसलाई ध्वस्त बनाइरहेको तर नेपाली कम्युनिस्ट पार्टीलाई नसक्ने उनको दाबी छ ।
