डडेलधुराबाट पुनः चुनाव लड्ने तयारीमा देउवा

दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको संसदीय यात्रा अपराजित छ । उनी ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा डडेलधुराबाटै निर्वाचित भएका थिए ।

मंसिर २२, २०८२

अर्जुन शाह

Deuba preparing to contest re-election from Dadeldhura

धनगढी — कांग्रेसको विद्यमान पार्टी विधानमा भएको बाध्यकारी व्यवस्थाअनुरूप पार्टी सभापतिबाट विश्राम लिने निश्चित भए पनि शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा भने पुनः होमिएलान् वा त्यसबाट पनि विश्राम लेलान् भन्ने सर्वत्र चासो छ ।

सोही चासोबीच कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा भने डडेलधुराबाटै पुनः प्रतिस्पर्धा गर्ने तयारी गरेको देउवा निकटस्थ कांग्रेस नेता कार्यकर्ताहरूले बताएका छन् । 

‘डडेलधुराबाटै निर्वाचन लड्ने इच्छा रहेको बताइसक्नु भयो,’ डडेलधुरा कांग्रेसका एक नेताले भने, ‘हाल निवासमा भेटघाटमा आउने नेता कार्यकर्ताहरूसँग अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्छु भन्नु भएको छ ।’ देउवा प्रतिनिधिसभाका सात वटा चुनावमा होमिएर निरन्तर विजयी हुँदै आएका नेता हुन् ।

फागुन २१ हुने निर्वाचनका लागि कांग्रेसले यतिबेला उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरिसकेको छ । यही २५ गतेभित्र जिल्ला कार्यसमितिले उम्मेदवारहरूको सिफारिस पठाइसक्ने तालिका निर्धारण गरेको छ । ‘सभापति नै चुनावमा लड्ने छलफल भइरहेको छ । तर अन्तिम कुरा अहिल्यै नभनौं । एक/दुई दिनमा थाहा भइहाल्छ,’ डडेलधुरा कांग्रेसका सभापति भीमबहादुर साउदले भने ‘देउवाले चुनाव लड्ने टुंगो लागेपछि एकल नाम सिफारिस गर्ने तयारी छ ।’

दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको संसदीय यात्रा अपराजित छ । उनी ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा डडेलधुराबाटै निर्वाचित भएका थिए । डडेलधुरासहित उनी कञ्चनपुर र कैलालीबाट दोहोरो चुनाव लड्दा पनि उनी एक-एक पटक निर्वाचित भएका थिए । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully