विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित ७ जनाका तर्फबाट रिट निवेदन पेस गरेका छन्।
What you should know
काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका श्याम घिमिरेसहित ७ जनाका तर्फबाट रिट निवेदन पेस गरिएको हो । यसअघि एमालेले पनि प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरेको थियो । दुवै दल अलग–अलग सर्वोच्च पुगेका हुन् ।
कांग्रेसबाट पेस भएको रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनका अनुसार निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुनेछ ।
योसँगै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी दुईवटा राजनीतिक दल अनि सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन छन् । एमाले र अन्य १७ थान निवेदनमा यसअघि नै पहिलो सुनुवाइ भएको छ । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ । कांग्रेसका तर्फबाट पेस भएको रिट पनि दर्ता भएर पहिलो सुनुवाइ हुँदै लगाबमा राखिनेछ । सर्वोच्चले यी सबै निवेदनलाई एकैपटक सुनुवाइ गरेर किनारा लगाउन सक्ने देखिन्छ ।
तत्कालीन सत्ता गठबन्धनमा रहेका दुई दल कांग्रेस र एमालेका विघटित संसद्का बहुमत सांसदको समर्थनसहित प्रतिनिधिसभा पुनःस्थापनाका माग राखेर संयुक्त रिट हाल्ने तयारीका साथ हस्ताक्षर गरिएको थियो । तर दुई दलको
जोड्दा पनि बहुमत नपुग्ने भएपछि अलग–अलग रिट निवेदन दिएका हुन् । एमालेले ९ मंसिरमै प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको थियो । एमालेका तर्फबाट तत्कालीन संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको दुई दिनपछि कांग्रेसले पनि संसद् विघटनविरुद्ध रिट निवेदन दिएको हो । देउवा र ओलीबीच गत शुक्रबार महाराजगन्जमा भेटवार्ता भएको थियो । २३ भदौको जेन–जी आन्दोलनपछि उनीहरूबीचको त्यो पहिलो भेट थियो । २३ भदौको जेन–जी आन्दोलन र २४ भदौको प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा सरकार बनेको थियो । कार्कीले शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन् । उक्त सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।
