पूर्वराष्ट्रपति भण्डारीप्रति एमाले अध्यक्ष ओलीको कटाक्ष– ‘राष्ट्रपति भइसकेपछि फुत्रुक्क आएर अध्यक्ष भइन्छ भन्ने ठान्नुहुन्न । अर्को, यसबीचमा उहाँ १० वर्ष पार्टी काममा त हुनुहुन्न । अनि उहाँले सबभन्दा एक्सपिरियन्स छु भन्न मिल्छ ?’
What you should know
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूले 'ग्रुम' गरेको कार्यकर्ताको रुपमा टिप्पणी गर्दै उनले आगामी महाधिवशेनमा प्रतिस्पर्धामा उठे जित्न सम्भव नभएको टिप्पणी गरेका छन् । उनले प्रश्न गरेका छन्, 'उहाँले पार्टीमा कति, २५–३० प्रतिशत भोट ल्याउनुहुन्छ ?'
कान्तिपुरसँगको विस्तृत कुराकानीमा उनले पूर्वराष्ट्रपतिबारे तिखो विश्लेषण गर्दै भण्डारी पार्टी राजनीतिमा फर्किन नहुने बताउँदै भने, 'उहाँले सदस्यताका लागि आवेदन दिनुभएको छैन । त्यसलाई प्रतिष्ठाको विषय बनाउने होइन । उहाँले आवेदन गर्नुभएमा पार्टीले विचार गर्छ, फेरि पार्टीमा फर्केर सक्रिय राजनीतिमा काम गर्न दिने कि नदिने भनेर ? एउटा भ्रम के पाल्नुहुन्न भने राष्ट्रपति भइसकेपछि फुत्रुक्क आएर अध्यक्ष भइन्छ भन्ने ठान्नुहुन्न । अर्को, यसबीचमा उहाँ १० वर्ष पार्टी काममा त हुनुहुन्न । अनि उहाँले सबभन्दा ‘एक्सपिरियन्स’ छु भन्न मिल्छ ?'
उनले पूर्वराष्ट्रपति भण्डारी मदन भण्डारीको वैचारिक उत्तराधिकारी पनि नभएको टिप्पणी गरेका छन् । उनले भने, 'उहाँ मदन भण्डारीकी श्रीमती हुनुहुन्छ । वैचारिक उत्तराधिकारी होइन । वैचारिक उत्तराधिकारी बाबु, दाजुभाइ, श्रीमती, छोराछोरी कोही पनि हुँदैन । विभिन्न देशका विभिन्न नेताहरूले जब आफ्नै परिवारकै सदस्यलाई उत्तराधिकारी बनाउँदै जान खोज्छन् नि, त्यो आन्दोलन, संस्था, पार्टीको कमजोरी नै त्यही भएको देखिन्छ । आफन्तवाद नातावादबाट मुक्त हुनुपर्छ ।'
उनले भण्डारी पार्टीमा फर्किनमा लागि गरेका प्रयत्नहरुमाथि पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पार्टी राजनीतिमा फर्किनका निम्ती भण्डारीले चालेका कदमहरुमा व्यंग्य भावसहित टिप्पणी गर्दै भने, 'पार्टीले राष्ट्रपति जस्तो गरिमामय पदमा पठायो । उहाँ फर्केर पार्टीमै आउनुहुन्छ भने पनि सल्लाह नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झर्ल्याङ्–झर्ल्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन ? एउटा तरिका हुन्छ नि त आउने ।'
उनले आसन्न अधिवेशनमा भण्डारीले उम्मेदवार खडा गरेको विषयमा पनि आफ्नो मत राखेका छन् । उनले पार्टीलाई एक बनाएर लैजानुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीले पार्टी विभाजनको शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै भने, 'उहाँ आउँदा यहाँ एउटा समस्याको भुमरी लिएर आउने त होइन होला । उहाँ आउँदा एउटा अभिभावकीय हिसाबमा, समस्या छन् भने त्यसलाई समाधान दिने हिसाबमा आउने होला नि त । अनि उहाँ आउँदा विभाजनकारी ढंगले, हराइदिन्छु, यो गर्छु, त्यो गर्छु भनेर आउने होइन होला नि त । मलाई दिँदैनौ भने म एउटाचाहिँ उम्मेदवार खडा गर्दिन्छु, शिवजीले जटाबाट खडा गरे जस्तो नन्दीभृङ्गी निकाले जस्तो । मलाई नदिने भए निकाल्दिन्छु भनेर आउने होइन होला नि ।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले कान्तिपुर टेलिभिजनको फायर साइडमा आफूप्रति टिप्पणी गरेको विषयमासमेत प्रतिक्रिया जनाएका छन् । उनले राष्ट्रपतिबाट हटेपछि भण्डारीले पार्टी अध्यक्षको कुर्सी देखेको बताउँदै उनी एमालेको एकताविरुद्ध लागेको बताएका छन् । उनले भने, 'अहिले उहाँ नेकपा एमालेको एकताविरुद्ध लाग्नुभएको छ । वाण त अर्जुन ठानेर उहाँले चलाइराख्नुभएको छ । कान्तिपुर टेलिभिजनको फायर साइडबाट पनि वाण चलाउनुभएको छ । तिखा तिखा वाण चलाउनुभएको छ । हामीले यसो नगर्नुस् न भनेर आग्रह गर्यौं भने तीचाहिँ झुटा हुने ? हामीले कुनै वाण पनि चलाएको छैन, चलाउन जरुरी पनि छैन । कुनै झटारा पनि हान्या छैन । केही पनि गर्या छैन ।'
