पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनबाट एमालेले सरकार बनाउने दाबी गर्दै वर्तमान सरकार असंवैधानिक भएको टिप्पणी गरे।
काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।
आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभए पनि कुनै पनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाइ थियो। शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरू सो निर्वाचनको पर्खाइमा रहेको समेत बताए।
अध्यक्ष ओलीले एमालेलाई नदीसँग तुलना गर्दै साना–साना भाटा लगाएर निर्वाचनपछि सरकार बन्नबाट कसैले रोक्न नसक्ने बताए।
उनले भने, ‘फागुन २१ मा चुनाव हुँदैन, हामीलाई थाहा छ। तर हामी चुनाव पर्खिरहेका छौँ। जहिले चुनाव हुन्छ, म सबैले सुन्ने गरी भन्न चाहन्छु– अबको चुनावबाट आउने सरकार नेकपा एमालेको हो।
तिनै पुराना पार्टी आउने हो भनेर भन्छन्। अरू आउँछन् आउँदैनन् म जान्दिन, तर एमाले आयो–आयो। अहिले एमाले एउटा बाढी जस्तो होइन, विशाल नदीमा आएको बाढीजस्तो हो, जसलाई माछाको भाटा–साटा लगाएर, के–के गरेर, आली जस्तो बनाएर रोक्नेवाला छैन। त्यो आयो, आयो।’
अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको वैधानिकतामाथि प्रश्न उठाउनुपरेको पनि दोहोर्याए ।
