समाजवादको रटान लामो समयदेखि चल्दै आएको तर अझै नआएकोमा निराश नहुन आग्रह गर्दै युवादेखि वृद्धसम्म अधिकारको पक्षमा पार्टीले आवाज उठाउने दाबी गरिएको छ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले मुलुकमा अब धूमधामका साथ समाजवाद आउने दाबी गरेका छन्। जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आए पनि नआएकोमा निराश रहेको भन्दै अब निराश नहुन आग्रह गरे।
युवा, महिला, दलित, मुस्लिमसहित वृद्धहरूको अधिकारका लागि बोल्ने आफूहरू नै रहेको दाबी गर्दै उनले नेपाली कम्युनिस्ट पार्टीमा सहभागी हुन आह्वान गरे।
जेन–जीहरू समेत नवगठित नेपाली कम्युनिस्ट पार्टीमाथि विश्वास गरिरहेको नेपालले दाबी गरे।
उनले भने, ‘जेन–जी पुस्तालाई समेत यही दल आशा तथा भरोसा केन्द्र लागिरहेको छ। शोषित, पीडित तथा मिटरव्याजपीडितहरूमा समेत नेपाली कम्युनिस्ट पार्टीप्रति आकर्षण रहेको छ।’
सभामा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।
