देशभर बेरोजगारी बढ्दै गएको र भ्रष्टाचारको अन्त्यका लागि समाजवाद नै एक मात्र विकल्प भएको खनालको दाबी छ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले बिदेसिएका युवालाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताएका छन्। जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार फैलिएको जिकिर गरे।
उनले भ्रष्टाचारीहरूले देशलाई नराम्रोसँग डसिरहेको भन्दै त्यसको अन्त्य गर्ने समाजवाद नै एक मात्र विकल्प रहेको बताए ।
उनले देशमा रोजगारी सिर्जना नहुँदा ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेको बताए ।
उनले भने, ‘आज देशमा जुन प्रकारको भ्रष्टाचार भइरहेको छ, देशभर नै भ्रष्टाचार छ। शिरदेखि तीरसम्म भ्रष्टाचार छ। भ्रष्टाचारीहरूले देशलाई नराम्रो ढंगले डसिरहेको छ। त्यसलाई अन्त्य गर्ने व्यवस्था भनेको समाजवाद हो। त्यस कारण हामीलाई समाजवाद चाहिन्छ। देशभर बेरोजगार नै बेरोजगार छ। १८ देखि ४० वर्ष समूहका युवाहरूको ठूलो संख्या खाडीमा छ। श्रमजीवी जनता बाहिर गइरहेका छन्, पेसा–व्यवसाय सिर्जना नहुँदा उनीहरू बाहिर पुगेका छन्। उनीहरूलाई देश फर्काउन एउटा ठूलो शक्तिशाली कम्युनिस्ट पार्टीको आवश्यकता छ।’
उनले देशमा रोजगारी सिर्जना गर्नु जरुरी रहेको बताए।
