बालुवाटारमा भएको निर्वाचनसम्बन्धी बहुपक्षीय छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूले निर्वाचनको प्रचार प्रसार स्वतन्त्र रूपमा हुने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।
What you should know
काठमाडौँ — राजनीतिक दलहरू तोकिएकै मितिमा चुनाव हुने/नहुने र सुरक्षाका विषयमा अझै सशंकित देखिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा दलहरूले शान्ति–सुरक्षालाई प्राथमिकतासाथ उठाएका छन् । प्रधानमन्त्री कार्कीले भने तोकिएको मितिमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै शान्ति–सुरक्षाका विषयमा पनि ढुक्क रहन आग्रह गरेकी छन् ।
बालुवाटारमा भएको निर्वाचनसम्बन्धी बहुपक्षीय छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूले निर्वाचनको प्रचार प्रसार स्वतन्त्र रूपमा हुने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका थिए । मतदाता भयरहित रूपमा मतदान स्थलसम्म पुग्ने र उम्मेदवार सुरक्षित रहने सुनिश्चितता हुनुपर्नेमा पनि उनीहरूको जोड थियो ।
छलफलको सुरुमै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगको तयारीबारे जानकारी गराएका थिए । आयोग कार्यतालिका नै निर्माण गरेर अघि बढिसकेको उल्लेख गर्दै उनले २१ फागुनको निर्वाचन एकै चरणमा सम्भव गराउन लागिपरेको बताएका थिए । बैठकमा निर्वाचन आयोगका तर्फबाट तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको उपस्थिति थियो ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए । दलहरूले यसअघिका बैठकमा सुरक्षा सवाललाई जोड दिएर उठाउने गरेकाले प्रधानमन्त्री कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई पनि बैठकमा बोलाएकी थिइन् । आयोगपछि गृहमन्त्री अर्याल, चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीबारे ‘ब्रिफिङ’ गरेका थिए ।
गत २७ भदौमा प्रधानमन्त्रीका रूपमा शपथ लिएपछि कार्कीले दलसँगको छलफलमा राष्ट्रपति र निर्वाचन आयोगलाई अघि सारेकी थिइन् । पछिल्लो समय भने कार्की आफैंले संवादमा अग्रसरता लिएकी छन् । दलहरूसँग दुईपक्षीय हँॅदै शुक्रबार उनले बहुपक्षीय छलफल गरेकी हुन् । उनले यसबीचमा दल र जेन–जी प्रतिनिधिसँग समेत बैठक गरेकी थिइन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच जेन–जी आन्दोलनपछि शुक्रबार पहिलो भेट भइरहेका बेला प्रधानमन्त्री कार्कीले बालुवाटारमा खुलेर दलहरूसँग सहयोग मागिन् । बालुवाटार बैठकमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता पुष्पा भुसाल, एमालेबाट महासचिव शंकर पोखरेल र नेता महेश बर्तौला, नेकपाबाट शक्ति बस्नेत र प्रकाश ज्वाला सहभागी थिए । रास्वपाबाट शिशिर खनाल र सोविता गौतम, राप्रपाबाट भुवन पाठक र राजेन्द्र गुरुङ, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमतबाट नरेन्द्र चौधरी उपस्थित थिए ।
राजनीतिक दलहरूले मुख्य रूपमा निर्वाचनको सुरक्षा र तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएको कांग्रेस नेता पुष्पा भुसालले बताइन् । ‘कांग्रेसले निर्वाचनमा जाने भनी केन्द्रीय समितिबाट निर्णय गरिसकेकाले अब बल सरकारको कोर्टमा छ भन्यौं,’ उनले भनिन्, ‘सबै दलको मुख्य चासो निर्वाचनको वातावरणलाई लिएर थियो । चुनाव प्रचारदेखि मतदान र मतको सुरक्षासम्मको विषय दलहरूबाट राखिएको छ ।’
एमालेले भने मतदातासमक्ष जान चुनौती रहेको उल्लेख गर्दै निष्पक्ष निर्वाचनमा शंका रहेको जनाएको थियो । ‘विभिन्न समूह, साना हतियारदेखि सुरक्षाकर्मीको मनोबलसम्मको सवालमा सरकारसँगको योजना र तयारीबारे जिज्ञासा राख्यौं,’ एमाले नेता बर्तौलाले भने, ‘एमाले निर्वाचनबाट पछि हट्दैन तर स्वतन्त्र रूपमा निर्वाचन हुँदैन कि भन्ने मात्र चिन्ता छ भन्यौं ।’
नेकपाका नेता प्रकाश ज्वालाका अनुसार सबै दल निर्वाचनमा जान तयार रहेको तर त्यसका केही सवालमा अझै शंका रहेको बताएका थिए । ‘हाम्रो पार्टीले निर्वाचनमा जाने निर्णय नै गरेर प्रचार थालेकाले शंकाभन्दा निर्वाचनको वातावरण बनाउन र दलहरूलाई साथमा लिएर अघि बढ्न सुझाव दिएका छौं,’ उनले भने, ‘प्रधानमन्त्रीको निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्न आतुर रहेको भनाइ थियो ।’
रास्वपा नेता खनालले आयोग तथा सुरक्षा निकायको तयारीमा अविश्वास नभएको उल्लेख गर्दै सरकारको तयारी कमी नहोस् भन्नेमा जोड दिएको बताए । ‘यो सरकार गठन नै २१ फागुनमा निर्वाचन गर्नका लागि हो, यसबाट कतै पनि चुक नहुने गरी सरकारले तयारी गरोस् भनेका छौं,’ उनले भने, ‘हामीले विदेशमा रहेका मतदातालाई मतदानको व्यवस्था हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थियौं तर त्यसको ठोस जवाफ आएन ।’
रास्वपाकी गौतमले निर्वाचन भयरहित रूपमा हुनुपर्नेमा आफूहरूले जोड दिएको जानकारी दिइन् । राप्रपा महामन्त्री भुवन पाठकले राप्रपा सधैं निर्वाचनको पक्षमा उभिने बताएका थिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचनका विषयमा दलहरूबाट व्यक्त आशंकालाई सरकारले अन्यथा नमानेको बताइन् । ‘अहिलेको परिस्थिति के छ, व्यवधान के कस्तो छ भनेर बताइदिने दलहरूको धर्म हो,’ उनले बैठकमा भनेकी थिइन्, ‘ हामीले एउटा दृष्टिकोणबाट हेरेका हुन सक्छौं, तपाईंहरूले आफ्नो दृष्टिकोणबाट थप भनिदिनुहुन्छ । यसबाट सुधार गर्दै अगाडि बढ्ने मौका मिल्छ ।’
सर्वोच्च अदालत पुगेका रिटहरूमा अन्तरिम आदेश नभएकाले अब दलहरू निर्वाचनको तयारीमै केन्द्रित हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो । ‘अदालतले गर्ने कुरा आफ्नो ठाउँमा छ । हामीविरुद्ध अन्तरिम आदेश जारी भएको भए हात बाँध्नुपर्थ्यो । तर त्यो भएको छैन । हामी अगाडि बढ्नु नै पर्ने हुन्छ,’ उनले भनिन्, ‘यो सरकार अन्तरिम कालको व्यवस्थापनका लागि आएको हो । थकाइ पनि नभनी काम गर्दै छौं ।’
समयमै भयरहित वातावरणमा निर्वाचन गर्न राजनीतिक दल, जेन–जी, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर छलफल भइरहेको कार्कीले जानकारी दिइन् । ‘मुलुकप्रति हामी सबैको दायित्व छ । जेन–जी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्,’ उनले भनिन्, ‘निर्वाचन आयोगले तत्कालै सक्रिय भएर तयारी अघि बढाएको छ । चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोच्नुहोस् । कसरी चुनाव सफल पार्ने भनेर सोचौं । हामी एकमत भयौं भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन । खराब तत्त्वले आक्रमण गर्न सक्दैन ।’
सुरक्षाको पहिलो कडी जनता भएको र त्यसपछि मात्र नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना हुने उनको भनाइ थियो । ‘हामी जेन–जी आन्दोलनबाट आयौं तर दलका विरोधी होइनौं । राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो,’ उनले थपिन् ।
