अब सच्चिएर अघि बढ्नुपर्छ : गौतम

नेता गौतमले भदौ २३ र २४ को जेन-जी आन्दोलनले आफूहरुले विगतमा गल्ती गरेको आभास भइसकेकाले सच्चिनुपर्नेमा जोड दिए ।

मंसिर २०, २०८२

रामप्रसाद चौहान 

Now we must move forward with honesty: Gautam

बर्दिया — नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले अब नेताहरु सच्चिएर अघि बढ्नुपर्ने बताएका छन् । 

गुलरियामा शनिबार आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गौतमले भदौ २३ र २४ को जेन-जी आन्दोलनले आफूहरुले विगतमा गल्ती गरेको आभास भइसकेकाले सच्चिनुपर्नेमा जोड दिए । 

‘कम्युनिष्टहरु इमान्दार हुन्छन्, आफ्नो गल्ती स्वीकार गर्छन्, तर जो नक्कली कम्युनिष्ट हुन्छ त्यसले आफ्नो गल्ती स्वीकार गर्दैन,’ गौतमले भने, ‘विगतको गल्ती स्वीकार गरेर म सच्चा कम्युनिष्ट बन्न चाहन्छु किन भने गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले हामीले पनि विगतमा गल्ती गरेको आभास भइसकेको छ र अब सच्चिएर अघि बढ्नुपर्छ ।’ 

नेपाली कम्युनिष्ट पार्टी ठूलो शक्तिको रुपमा निर्माण भएको उनको दाबी छ । 'अब देशको नेतृत्व, संरक्षण र रक्षा गर्न सक्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको छ,’ उनले भने ।

गौतमले थपे, ‘पाँच वटा पार्टीले सुरु गरेको एकतामा अहिले १७ वटा पार्टी एकीकृत भइसकेका छन्, अन्य पार्टी निर्माण हुँदा कति थिए ?’ 

एकता सन्देश सभामा भीमबहादुर रावल र शक्तिबहादुर बस्नेतलगायत नेताको उपस्थिति थियो ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully