जनकपुरधाममा सम्पन्न सभा मार्फत् कम्युनिस्ट नेताहरूले एमालेसहित सबै देशभक्तलाई एकतामा सहभागी हुन आह्वान गरे र नयाँ समीकरणको सुरुवात भएको बताए।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरूमा पनि बनाउनुपर्ने बताएका छन्। शनिबार जनकपुरधाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले मधेसमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी तथा मधेस–केन्द्रित दलहरूबीच समीकरण बनेर नयाँ समीकरण बनेको र अब यस्तै समीकरणको सुरुवात अन्य प्रदेशहरूमा पनि बन्ने विश्वास व्यक्त गरे।
कम्युनिस्टहरूबीचको एकता प्रक्रियालाई जारी राख्ने बताउँदै दाहालले एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सहभागी हुन आह्वान गरे।
उनले भने, ‘यो एकता प्रक्रिया नेकपा माले, मसाल हुँदा देखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिस्टहरूलाई नेकपामा सहभागी हुन आह्वान गर्न चाहन्छु।’
उनले शक्तिशाली नेपाली कम्युनिस्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने दाबी गरे। नेपाली कम्युनिस्ट पार्टीले जनकपुरधाममा एकताको सन्देश सभा सम्पन्न गरेको छ।
