लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिलो पार्टी बन्यो ससपा

चञ्चला १८ वर्षयता लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका आवाज उठाउँदै आएकी छन् । झापाको दमकस्थित ‘लिड नेपाल’ संस्थाकी संस्थापक कार्यकारी निर्देशकका रूपमा उनले सयौं युवालाई पहिचान खोज्ने बाटो देखाइन् ।त्यही सोच, त्यही पीडा र दशकौंको संघर्षबाट जन्मियो– समावेशी समाजवादी पार्टी ।

मंसिर १९, २०८२

पर्वत पोर्तेल

SSP becomes the first party of the gender and sexual minority community

What you should know

विराटनगर — मोरङको बबियाबिर्ताको एउटा साधारण किसान परिवारमा जन्मे–हुर्केका थिए, चक्र साउदेन लिम्बू । परिवारमा दुई छोरीपछि जन्मिएको ‘छोरो’ भएकैले उनलाई सानैदेखि परिवारको लाडप्यार थियो । तर हुर्किंदै जाँदा उनीभित्र यस्तो परिवर्तन देखिन थाल्यो, जसले परिवार र समाजलाई चकित पार्‍यो ।

छोरीहरूसँग मात्र घुलमिल, उनीहरूकै कपडा–गरगहना–लिपिस्टिकप्रति आकर्षण थियो । यो परिवर्तन एकातिर कौतुहल, अर्कातिर पीडाको कारण बन्दै गयो । स्कुलमै साथीहरूले अपमान गर्न थाले । यो अपमान लामै समय सहनुपर्‍यो । क्याम्पस जीवनमा यो दुर्व्यवहार रोकिने ठाउँ थिएन, बरु अझै बढ्यो ।

अपमानका कारण कहिलेकाहीँ त उनी जीवन नै समाप्त पार्ने बाटोतिर पनि उन्मुख हुन पुग्थिन् । तर, उनको जीवनमा नयाँ घुम्ती आयो । सन् २००८ मा उनी लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकारका क्षेत्रमा काम गर्ने एक संस्थासँग जोडिइन् । आफैंलाई पहिचान गर्ने बाटोमा उभिँदै आफूलाई सम्हाल्ने माध्यम पाइन् ।

समाज र परिवारको अपेक्षा थियो– छोरोले वंश चलाउने, जिम्मेवारी निभाउने । तर, चक्र छोराभित्रको छोरी थिइन् । तेस्रोलिंगी पहिचानलाई खुला रूपमा स्विकार्ने साहस जुटाउन उनलाई वर्षौं लाग्यो । संस्थासँगको सहकार्यले उनलाई बलियो बनायो, जीवन जिउने कला सिकायो । अन्ततः सन् २०१४ मा थाइल्यान्ड पुगेर उनले लिंग परिवर्तन गराइन् । चक्र साउदेन लिम्बूबाट नुमा लिम्बू ‘चञ्चला’ बनिन् ।

चञ्चला १८ वर्षयता लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका आवाज उठाउँदै आएकी छन् । झापाको दमकस्थित ‘लिड नेपाल’ संस्थाकी संस्थापक कार्यकारी निर्देशकका रूपमा उनले सयौं युवालाई पहिचान खोज्ने बाटो देखाइन् ।

त्यही सोच, त्यही पीडा र दशकौंको संघर्षबाट जन्मियो– समावेशी समाजवादी पार्टी । जसको चुनाव चिह्न ‘श्रीवत्स’ अर्थात् अनन्त गाँठो छ । ८ महिनादेखि काठमाडौंमै रहँदै आएकी नुमाको पार्टी खोल्ने पुरानै सपना थियो । उनी काठमाडौंमै बसेर दल दर्ताको मनस्थितिमै थिइन् । संयोगले जेन–जी विद्रोह भयो, जसले उनलाई थप उत्साहित बनायो । तेस्रोलिंगी अध्यक्षको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेपालको पहिलो यस्तो दल, जसको केन्द्रमा लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका नागरिक, मनोरञ्जन व्यवसायमा संलग्न महिला र अन्य वर्षौंदेखि राज्यबाट ओझेलमा पारिएकाहरू छन् ।

नयाँ दलका रूपमा २७ कात्तिकमा निर्वाचन आयोगमा दर्ता भयो, १४ मंसिरमा प्रमाणपत्र हात पर्‍यो । दल दर्ताको प्रेरणादायी शक्ति थिए– नेपालमा पहिलो पटक समलिंगी–तेस्रोलिंगी पहिचानलाई संविधानमा मान्यता दिलाउने लडाइँका अगुवा, पूर्वसंविधानसभा सदस्य सुनीलबाबु पन्त । मूलधारका दलले वर्षौंसम्म आफूहरूलाई ‘भोट बैंक’ मात्र ठानेर धोका दिएको अनुभूति अहिले चञ्चला र उनका साथीहरूसँग निको नभएको घाउझैं बाँकी छ ।

२४ कात्तिकमा काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले चञ्चलालाई अध्यक्ष बनायो र समुदायलाई नयाँ राजनीतिक दिशातर्फ धकेल्यो । पार्टीमा २१ केन्द्रीय सदस्य छन् । जसमा पार्टीको नामझैं समावेशी सहभागिता छ । आदिवासी, जनजाति, दलित, मधेशी, मुसलमान, अपांग, पिछडिएको क्षेत्र– सबै अटाएका छन् । पार्टी प्रवक्ता प्रतीक्षा चापागाईं दृष्टिविहीन हुन् ।

उनी भन्छिन्, ‘हामी कमाउन हैन, अस्तित्व र पहिचानका खातिर राजनीतिमा उभिएका हौं ।’ उनका अनुसार २१ फागुनको निर्वाचनमा उनीहरूको पार्टीले पनि भाग लिनेछ । जसका लागि उनीहरू चुनावी तयारीमा जुटेका छन् । ‘पुराना दलहरूले भोट बैंक मात्रै बनाए,’ नुमाले सुनाइन्, ‘अब चुनावमा जितेर आफ्ना अधिकारका लागि आफैं तयार हुन्छौं ।’

दलको एजेन्डा मात्र अधिकारको माग होइन, देशकै विकास मोडेल परिवर्तन गर्ने दृष्टि पार्टीको रहेको उनी बताउँछिन् । भ्रष्टाचारमुक्त शासन, रोजगारी सिर्जना, वातावरणमैत्री विकास, सहभागी लोकतन्त्र– यी सबै मुद्दामा उनीहरूको ‘भिन्नता’ सैद्धान्तिक मात्र होइन, व्यावहारिक विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

‘पुरुष, महिला या तेस्रोलिंगी भएर मात्र नेता राम्रो हुँदैन,’ नुमा भन्छिन्, ‘राम्रो राजनीति र नेतृत्वको आधार क्षमता, इमानदारी र दूरदृष्टि हो, हामी त्यही मूल्य बोकेर अघि बढेका छौं ।’ नुमाको राजनीतिक उडान उनको व्यक्तिगत रूपान्तरणको कथा मात्र होइन, यो हजारौं चक्रहरूका लागि सम्भावनाको ढोका हो– जसले अझै पनि डर, लाज र अपमान सहेर आफ्नो पहिचान लुकाइरहेका छन् ।

२०७८ को जनगणनामा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको जनसंख्या ३ हजार हाराहारी रेकर्डमा छ । नुमा भन्छिन्, ‘हामी लाखौंको संख्यामा छौं तर समाजको डरले धेरै खुल्न सकेका छैनन् ।’ आफूहरूले पार्टी दर्ता गरेको थाहा पाएपछि आफ्नो समुदायका ६०–७० वर्षका वृद्धवृद्धाले समेत फोन गरेर ‘पार्टी खोलेको सुनेर खुसी लाग्यो’ भनेर बधाई दिएको नुमाले सुनाइन् । भन्छिन्, ‘लाखौं जनता हाम्रो पक्षमा छन् ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully