उनेपाको घोषणापत्रमा लेखिएको छ– ‘प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसद्को आधा कार्यकाल सरकार सञ्चालन गर्न पाउने सुनिश्चितता गरिनुपर्दछ।’
What you should know
काठमाडौँ — निर्वाचन गराउने जिम्मेवारीसहित गठन भएको सरकारमा तीन मन्त्रालयको जिम्मेवारी लिएर काम गरिरहेका मन्त्री कुलमान घिसिङको संरक्षकत्व र अगुवाइमा गठन भएको उज्यालो नेपाल पार्टी (उनेपा)ले संविधानमा संशोधन गर्नुपर्ने अवधारणा अगाडि सारेको छ ।
उनेपाको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय छन् । बुधबार पार्टी घोषणा कार्यक्रममा जारी गरिएको घोषणापत्रमा नै संविधानमा कार्यपालिका र व्यवस्थापिकालगायतका सम्बन्धमा व्यवस्था गरिएका विषयमा संशोधन गर्नुपर्ने विषय लेखेको छ ।
संविधानलाई गतिशील दस्तावेजको रूपमा स्वीकार गरिएको भनी घोषणापत्रमा लेखेको उनेपाले ‘नेपालको उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्था संशोधन गरिनुपर्दछ’ भनेको हो ।
उनेपाका केन्द्रीय सदस्य शंकर ढकाल संयोजक रहेको टीमले तयार पारेको घोषणापत्रमा संविधानमा संशोधन गर्नुपर्ने पहिलो बुँदा नै कार्यपालिका र व्यवस्थापिकासँग सम्बन्धित छ । ‘हालको व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गरिनुपर्दछ,’ संविधान संशोधनबारे अगाडि भनिएको छ, ‘प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसद्को आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्दछ ।’
प्रधानमन्त्रीमा निर्वाचित भएको व्यक्तिले संसद्को आधा कार्यकाल (२ वर्ष ६ महिना) काम गर्न पाउनुपर्ने व्यवस्था संविधानमा नै लेख्नुपर्ने प्रस्ताव यो पार्टीले गरेको हो । त्यस्तै, संघीयताका सम्बन्धमा पनि संविधानमा सुधार गर्नुपर्ने उनेपाको धारणा छ ।
‘संघीयताको अभ्यासलाई कायम राख्दै व्यवहारिक, परिणाममुखी र प्रभावकारी बनाउनुपर्दछ । देशको जनसंख्या, भूगोल, पहिचान, सामर्थ्य र आर्थिक सम्भावना समेतलाई मध्यनजर गर्दै प्रदेश र स्थानीय तहको संरचना र संख्या पुनरावलोकन गर्न सकिन्छ । बृहत् राष्ट्रिय सहमतिको आधारमा संघीयतासँग जोडिएका विषयलाई सम्बोधन गरिनुपर्दछ ।’
मन्त्रालयको संख्या पुनरावलोकन गर्नका लागि पनि संविधानमा संशोधन गर्नुपर्ने उनेपाको प्रस्ताव छ । संविधानमा हाल प्रधानमन्त्रीसहित २५ मन्त्रालय राख्न पाउने व्यवस्था गरेको छ । २५ जनाभन्दा बढी मन्त्री हुन पाउँदैनन् । ‘शासकीय सुधारका सन्दर्भमा विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त भएका सुझावका आधारमा मन्त्रालयको संख्या पुनरावलोकन गरिनुपर्दछ,’ उनेपाको घोषणापत्रमा लेखिएको छ ।
स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्ने र त्यसका लागि संविधान संशोधन गर्नुपर्ने उनेपाको प्रस्ताव छ । ‘न्यायपालिकामा दलीय हस्तक्षेप नहुने गरी न्यायपरिषद्को पुनः संरचना गरिनुपर्ने’ अवधारणा अघि सारेको उनेपाले भनेको छ, ‘बहुसंख्यक जनताले संविधानको अन्तरवस्तुमा संशोधन गर्न माग गरेमा उज्यालो नेपाल पार्टी जनअभिमतको पक्षमा उभिनेछ ।’
उनेपाले संविधानलाई गतिशील दस्तावेजको रुपमा स्वीकार्य रहेको पनि स्पष्ट पारेको छ । नेपालको संविधान २०७२ मा उल्लिखित लोकतान्त्रिक मूल्य–मान्यताहरूलाई पार्टीको वैचारिक निर्देशक सिद्धान्त मान्ने उल्लेख गरेकव छ ।
‘प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, सङ्गीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, धर्मनिरपेक्षता, स्वायत्तता र स्वशासनको अधिकार, समानुपातिक समावेशिता तथा लोकतान्त्रिक समाजवाद-उज्यालो नेपाल पार्टीको वैचारिक दिशानिर्देशकका रूपमा रहनेछन्,’ घोषणापत्रमा भनिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रता, फरक मतको सम्मान, बालिग मताधिकार, आवधिक स्वतन्त्र निर्वाचन, जनमतमा आधारित सरकार निर्माण, पारदर्शी र सहभागितामूलक निर्णय प्रक्रिया तथा शक्ति पृथकीकरण पार्टीको शासन सिद्धान्तका आधारस्तम्भ हुन् ।’
पार्टी घोषणा कार्यक्रममा घिसिङले नयाँ राजनीतिक शक्तिहरू एक ठाउामा आउनुपर्ने बताए । ‘२१ फागुनपछि कस्तो सरकार आउाछ भन्ने धेरै नागरिकको चासो छ । त्यही कारण उज्यालो पार्टी जन्मेको हो । अब परिवर्तनको नेतृत्व नयाँ विकल्प दिनसक्ने व्यक्तित्व, संस्था र पार्टीले गर्नुपर्छ । यसको लागि आम जनसमूदायको इच्छा, आकंक्षाका आधारमा आपसमा एकताबद्ध भएर लाग्नुपर्छ,’ घिसिङले भने, ‘अब सबै नयाँ र वैकल्पिक साथिहरु एकठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एक ठाउँमा आएर परिवर्तनलाइ परिणाममा बदल्नुर्छ । यो परिणाम दिनको लागि नयाँ र युवाको नेतृत्व आउनुपर्छ । बिग्रिएको बेला सबैले गाली गर्ने तर जुनबेला अवसर आउँछ त्यो बेला भाग्ने हो भने फेरि पनि परिवर्तन आउँदैन ।’
परिवर्तनका लागि देशभित्र तथा देशबाहिर रहेका नेपालीको योगदान आवश्यक रहेको घिसिङको भनाइ थियो । अबको राजनीति विकासको हुनुपर्ने बताउँदै उनले नेपाल समृद्ध बनाउन धेरै समय नलाग्ने पनि दाबी गरे । मुलुकमा सुशासन भएन र राजनीतिक नेतृत्वको आचरण बिग्रियो, भ्रष्टाचार मौलायो भने जनताको विश्वास गुम्ने उनको भनाइ छ ।
‘नेपालको समृद्धिको आधार भनेको सुशासन हो । भ्रष्टाचारमुक्त देश बन्नु नै नेपालको समृद्धिको प्रमुख आधार हो । जेनजीले उठाएका मागहरुको सम्बोधन गर्न सबैभन्दा पहिले भ्रष्टाचारमुक्त मुलुक बनाउनुपर्छ । भ्रष्टाचारमुक्त देश बनाउन सक्यौं भने मात्र हामी समृद्धितर्फ अगाडि बढ्छौं । अब राजनीतिमा पनि सही व्यक्तिहरु आउनुपर्यो । बाहिर बसेर गालि गरिरहने तर राजनीतिमा आउन नचाहाने प्रवृत्तिले देश परिवर्तन हुँदैन,’ उनले भने ।
उनेपा घोषणासभालाई सम्बोधन गर्न पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ पनि पुगेकी थिइन् । रास्वपा छोडेर नयाँ राजनीतिक दलहरूलाई एकताबद्ध भएर जानुपर्छ भनेर विभिन्न पक्षसँग संवादमा रहेकी उनले पनि वैकल्पिक राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताएकी थिइन् ।
‘हामी एकता भएर जानुपर्छ । छुट्टाछुट्टै जाने हो भनेको पुराना पार्टीहरूलाई रेड कार्पेट लगाएर जानु हो,’ उनले भनिन्, ‘मन फराकिलो पारेर जानुपर्छ । फरक–फरक जाने होइन ।’ अबको राजनीतिक दलको यात्रा विधि, सुशासनको स्थापना तथा भ्रष्टाचार, नातावाद, कृपावाद र वेथितिको अन्त्य भएको सुमनाको भनाइ थियो ।
जेन–जी आन्दोलनपछिको परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको सरकारमा तीन महत्त्वपूर्ण विकासे मन्त्रालय सम्हालिरहेका घिसिङ नेतृत्वको पार्टीले २००७ देखि भदौ २३–२४ को आन्दोलनलाई स्मरण गरेको छ । ‘जेन–जी नवयुवाहरूको विद्रोहले असक्षम एवं अनुत्तरदायी सरकार र पुरानो पार्टीसत्तालाई केही घण्टामै घुंडा टेक्न बाध्य’बनाएका रूपमा भदौ २३ र २४ को घटनालाई व्याख्या गरेको छ ।
उक्त आन्दोलनले माग गरेको सुशासन, समृद्धि र सामाजिक न्यायको आकांक्षा पूरा गर्न नयाँ दलको स्थापना र विस्तार गर्नु अपरिहार्य भएको घोषणापत्रमा उल्लेख गरेको छ । नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको अभ्यास गर्ने संकल्प र योजनासहित आएको दाबी गरेको यो पार्टीले पुराना पार्टीमा रहेका नेता तथा विभिन्न तहका जनप्रतिनिधिहरूलाई आफूसँग जोडिन आहृवान गरेको छ ।
‘उज्यालो नेपाल पार्टीले नागरिक स्वतन्त्रता, विधिको शासन, आवधिक निर्वाचन, बालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र प्रेस स्वतन्त्रता जस्ता विश्वव्यापी रुपमा अभ्यास भइरहेका लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरूलाई स्वीकार गरी उत्कृष्टता, पारदर्शिता र जवाफदेहिताको आधारमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नेछ,’ घोषणापत्रमा लेखिएको छ, ‘उज्यालो नेपाल पार्टी र उत्कृष्टता पर्यायवाची हुनेछन् । योग्य र उपयुक्त व्यक्तिलाई उपयुक्त भूमिकामा स्थापित गरिनेछ ।’
यो पार्टीले आफ्नो लक्ष्यबारे भनेको छ, ‘नेपालको राष्ट्रिय हितको संरक्षण प्रबर्धन गर्दै सुशासन र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको जीवनलाई समृद्ध बनाउनु पार्टीको प्राथमिक लक्ष्य हुनेछ ।’ नेपाली समाजमा निराशा र पलायनको दुष्चक्र खडा हुनुमा कांग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक दलहरूको असक्षमता, कुशासन, अराजकता र विभाजन जिम्मेवार रहेको उनेपाको ठहर छ ।
पार्टी घोषणापत्रमा सार्वजनिक सेवा प्रवाहलाई सजिलो, व्यवस्थित, छरितो बनाउन सार्वजनिक निकायहरुको पुनःसंरचना गरी प्रविधिमैत्री जनप्रशासनको अभ्यास गरिनुपर्ने यो पार्टीले उल्लेख गरेको छ । ‘वैदेशिक रोजगारीमा रहेका र गैर–आवासीय रुपमा विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, विज्ञता र अनुभवलाई उज्यालो नेपाल निर्माणको लागि उपयोग गरिनुपर्दछ । भ्रष्टाचार वा अन्य गैरकानूनी माध्यमबाट आर्जन गरिएको सम्पत्ति छानविन गरी जफत गरिनुपर्दछ,’ उनेपाले भनेको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गरिनु पर्ने अवधारणा अगाडि सारेको यो पार्टीले त्यो कसरी गर्ने भन्नेबारे पनि केही उल्लेख गरेको छैन । बरु देशमै रहेका तर आफ्नो मतदान केन्द्रमा जान नपाउनेहरूका लागि भने विद्युतीय मतदानको प्रावधान गर्नुपर्ने विकल्प सुझाएको छ ।
नेपाली नागरिकले विदेशमा गएर सोही देशको नागरिकता लिए पनि नेपाली नै रहने कुराको पनि उनेपाले वकालत गरेको छ । ‘गैरआवासीय नेपालीलाई नेपालमा फर्किन र नेपालमा लगानी गर्न प्रोत्साहित गरिनेछ । एक पटकको नेपाली सधैंको नेपाली भन्ने अवधारणालाई आत्मसाथ गरिनेछ,’ घोषणापत्रमा उल्लेख छ ।
नेपालबाट लोडसेडिङ अन्त्य गर्दा घिसिङ विद्युत प्राधिकरणको प्रमुख थिए । त्यतिबेला गरेको कामको जश उनेपाले लिन खोजेको छ । चिलिमे जलविद्युत आयोजनाको मोडल र लोडसेडिङ अन्त्य गरी विद्युत प्राधिकरणलाई नाफामा पुर्याएको र विदेशमा विद्युत निर्यातको अवस्थालाई व्यवस्थापकीय एवं शासकीय क्षमता देखिएको र त्यसलाई जनताले पनि स्वीकार गरेको घोषणापत्रमा लेखिएको छ ।
‘प्राधिकरणको तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको यो ऐतिहासिक योगदान नै उज्यालो नेपाल निर्माण गर्न सकिन्छ भन्ने प्रेरणाको प्रस्थानबिन्दु हो । जेनजी पुस्ताको बलिदानीपूर्ण यो श्रृंखलाको महत्वपूर्ण हस्तक्षेप हो,’ घोषणापत्रमा उल्लेख छ ।
