लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिलो पार्टी
What you should know
विराटनगर — मोरङको बबियाबिर्ताको एउटा साधारण किसान परिवारमा जन्मे-हुर्केका थिए, चक्र साउदेन लिम्बू। दुई छोरीपछि परिवारमा जन्मिएको ‘छोरो’ भएकैले उनलाई सानैदेखि परिवारको लाडप्यार थियो। तर, हुर्किंदै जाँदा उनीभित्र यस्तो परिवर्तन देखिन थाल्यो, जसले परिवार र समाजलाई चकित पार्यो ।
छोरीहरूसँग मात्र घुलमिल, उनीहरूकै कपडा–गरगहना–लिपस्टिकप्रति आकर्षण थियो, चक्रको। यो परिवर्तन एकातिर कौतुहल, अर्कातिर पीडाको कारण बन्दै गयो। स्कुलमै साथीहरूले अपमान गर्न थाले। यो अपमान लामै समय सहनुपर्यो। क्याम्पस जीवनमा यो दुर्व्यवहार रोकिने ठाउँ थिएन, बरु अझै बढ्यो।
निरन्तरको अपमानका कारण कहिलेकाहीँ त उनी जीवन नै समाप्त पार्ने बाटोतिर पनि उन्मुख हुन पुग्थिन्। तर, अचानक उनको जीवनमा नयाँ घुम्ती आयो। सन् २००८ तिर उनी लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारका क्षेत्रमा काम गर्ने एक संस्थासँग जोडिइन्। पहिलोपटक आफैंलाई पहिचान गर्ने बाटोमा उभिँदै आफूलाई सम्हाल्ने माध्यम पाइन्।
समाज र परिवारको अपेक्षा थियो- छोरोले वंश चलाउने, जिम्मेवारी निभाउने। तर, चक्र छोराभित्रको छोरी थिइन्। तेस्रोलिङ्गी पहिचानलाई खुला रूपमा स्वीकार्ने साहस जुटाउन उनलाई वर्षौँ लाग्यो। संस्थासँगको सहकार्यले उनलाई बलियो बनायो। जीवन जिउने कला सिकायो। अन्ततः सन् २०१४ मा थाइल्यान्ड पुगेर उनले लिङ्ग परिवर्तन गराइन्। चक्र साउदेन लिम्बूबाट नुमा लिम्बू ‘चञ्चला’ बनिन्।
अधिकारकर्मीबाट राजनीतिक यात्रातर्फ
चञ्चला २० वर्षयतादेखि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका आवाज उठाउँदै आएकी छन्। झापाको दमकस्थित ‘लिड नेपाल’ संस्थाकी संस्थापक कार्यकारी निर्देशककf रूपमा उनले सयौँ युवालाई पहिचान खोज्ने बाटो देखाइन्।
त्यही सोच, त्यही पीडा र दशकौँको संघर्षबाट जन्मियो-समावेशी समाजवादी पार्टी। जसको चुनाव चिह्न श्रीवत्स अर्थात् अनन्त गाँठो छ। हुन त विगत ८ महिनादेखि काठमाडौंमै रहँदै आएकी नुमाको पार्टी खोल्ने पुरानै सपना थियो। उनी काठमाडौंमै बसेरै दल दर्ताको मनस्थितिमै थिइन्। संयोगले जेनजी विद्रोह भइदियो, जसले उनलाई थप उत्साहित बनायो।
तेस्रोलिङ्गी अध्यक्षको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेपालको पहिलो यस्तो दल, जसको केन्द्रमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका नागरिक, मनोरञ्जन व्यवसायमा संलग्न महिला र अन्य वर्षौँदेखि राज्यबाट ओझेलमा पारिएका समुदायहरू छन्।
नयाँ दलका रूपमा कात्तिक २७ मा निर्वाचन आयोगमा दर्ता भयो। मंसिर १४ मा प्रमाणपत्र हात पर्यो । दल दर्ताको प्रेरणादायी शक्ति थिए- नेपालमा पहिलोपटक समलिङ्गी–तेस्रो लिङ्गी पहिचानलाई संविधानमा मान्यता दिलाउने लडाइँका अगुवा, पूर्व-संविधानसभा सदस्य सुनिलबाबु पन्त। मूलधारका दलहरूले वर्षौँसम्म आफूहरूलाई ‘भोट बैंक’ मात्र ठानेर धोका दिएको अनुभूति अहिले चञ्चला र उनका साथीसँग निको नभएको घाउझैँ बाँकी छ।
२४ कात्तिकमा काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले चञ्चलालाई अध्यक्ष बनायो र समुदायलाई नयाँ राजनीतिक दिशातर्फ धकेल्यो। पार्टीमा २१ केन्द्रीय सदस्य छन्। जसमा पार्टीको नामझैँ समावेशी सहभागिता छ। आदिवासी, जनजाति, दलित, मधेसी, मुसलमान, अपाङ्ग, पिछडिएको क्षेत्र-सबै अटाएका छन्।
पार्टीकी प्रवक्ता प्रतिक्षा चापागाईं दृष्टिविहीन हुन्। उनी भन्छिन्,‘हामी कमाउन हैन, अस्तित्व र पहिचानका खातिर राजनीतिमा उभिएका हौँ।’ उनका अनुसार आगामी फागुन २१ को निर्वाचनमा उनीहरूको पार्टीले पनि भाग लिनेछ। जसका लागि उनीहरू चुनावी तयारीमा जुटेका छन्। ‘पुराना दलहरूले भोट बैंक मात्रै बनाए,’ नुमाले सुनाइन्, ‘अब चुनावमा जितेर आफ्ना अधिकारका लागि आफैँ तयार हुन्छौँ।’
दलको एजेन्डा मात्र अधिकारको माग होइन, देशकै विकास मोडेल परिवर्तन गर्ने दृष्टि पार्टीको रहेको उनी बताउँछिन्। भ्रष्टाचारमुक्त शासन, रोजगारी सिर्जना, वातावरण-मैत्री विकास, सहभागी लोकतन्त्र-यी सबै मुद्दामा उनीहरूको ‘भिन्नता’ सैद्धान्तिक मात्र होइन, व्यवहारिक विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
‘पुरुष, महिला या तेस्रो लिङ्गी भएर मात्रै नेता राम्रो हुँदैन,’ नुमा भन्छिन्,‘राम्रो राजनीति र नेतृत्वको आधार क्षमता, इमानदारी र दूरदृष्टि हो। हामी त्यही मूल्य बोकेर अघि बढेका छौँ।’ नुमाको राजनीतिक उडान उनको व्यक्तिगत रूपान्तरणको कथा मात्रै होइन, यो हजारौँ चक्रहरूका लागि सम्भावनाको ढोका हो- जसले अझै पनि डर, लाज र अपमान सहेर आफ्नो पहिचान लुकाइरहेका छन्।
२०७८ को जनगणना अनुसार लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जनसंख्या ३ हजार हाराहारी मात्रै छ। नुमाका अनुसार, ‘हामी लाखौँको संख्यामा छौँ। तर समाजको डरले धेरै खुल्न सकेका छैनन्।’ ‘हामीले पार्टी दर्ता गरेको थाहा पाएपछि हाम्रो समुदायका ६०-७० वर्षका वृद्धवृद्धाले फोन गरेर 'पार्टी खोलेको सुनेर खुसी लाग्यो' भनेर बधाई दिए,’ नुमा भन्छिन्, ‘लाखौँ जनता हाम्रो पक्षमा छन्।’
