मधेश फेरि अर्को सरकारको प्रसव वेदनामा

प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि बुधबार बिहान साढे ८ बजे नै बैठक तोकेको छ ।

मंसिर १७, २०८२

अजित तिवारी

Madhesh in labor pains for another government

What you should know

जनकपुर — सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश जारी गरे पनि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार मात्र विश्वासको मत लिने भएका छन् । अदालतको परमादेश मंगलबार दिउँसो ३ बजे मात्र पाएको जनाउँदै उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार २ बजे प्रदेशसभा बैठक राख्न पत्राचार गरेका छन् ।

प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि बुधबार बिहान साढे ८ बजे नै बैठक तोकेको छ । 

तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले राजीनामा दिएपछि यादव २३ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेशसभाको सबैभन्दा ठूलो संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम नियुक्ति गरिएको थियो । काठमाडौं हिँडेकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बीपी राजमार्गमा पर्ने बर्दिबासको कालापानीस्थित पानस कटेज होटलमा २४ कात्तिकमा यादवलाई शपथ गराएकी थिइन् । 

 संविधानको धारा १६८ (२) बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि नबढाई सोझै धारा १६८ (३) मा गएको भन्दै कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दल नेता सरोजकुमार यादव, माओवादी संसदीय दल उपनेता युवराज भट्टराई, लोसपा संसदीय दल नेता जयलुन राईसहित ७४ सांसद २५ कात्तिकमा सर्वोच्च पुगेका थिए ।

त्यसैमा सोमबार विवादमा निर्णय गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिने प्रक्रियामा जान परमादेश गरेको थियो । मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त नगरे संविधानको धारा १६८ (२) बमोजिमको सरकार गठनको प्रक्रिया अघि बढाउन पनि सर्वोच्चको आदेश छ । 

यो आदेश न्यायाधीशहरू हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासले सुनाएको हो । मधेश प्रदेशमा १ सय ७ सांसद छन्, जसअनुसार सरकार बनाउन ५४ सांसद चाहिन्छ । एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, माओवादीका ९, लोसपाका ९, एकीकृत समाजवादीका ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ सांसद छन् ।

एमाले सांसद दीपेन्द्र ठाकुर, जसपा सांसद सरोजसिंह कुशवाह, लोसपा सांसद अभिराम शर्मा निलम्बित छन् । मधेश प्रदेशसभामा हाल कायम सदस्य संख्या १ सय ४ छ । मुख्यमन्त्री यादवसँग एमालेबाहेक अरू दलको समर्थन देखिएको छैन । यादवको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने सांसदकै संख्या ७४ छ । 

सर्वोच्चको परमादेशपछि मधेश प्रदेशका मुख्यमन्त्री यादवसामु तीन विकल्प छन् । पहिलो, विश्वास मत लिने, दोस्रो, विश्वासको मत नपाएपछि राजीनामा गर्ने र तेस्रो, २४ घण्टा नघाएर स्वतः पदमुक्त हुने । मुख्यमन्त्री यादवले भने विश्वासको मत पाउने दाबी गरेका छन् । ‘विश्वासको मत मैले नै पाउँछु । एमालेले मधेशमा ज–जसलाई मुख्यमन्त्री बनाएको छ । ती सबै दलले मलाई सघाउँछन्,’ उनले भने । 

एमालेको मंगलबार बिहान बसेको प्रदेश किमिटी र दलका नेता, उपनेता र सचेतकसहितको बैठकमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो । जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले विपक्षी सात दल एकढिक्का रहेकाले मुख्यमन्त्री यादवले विश्वासको मत नपाउने दाबी गरे । कांग्रेसका प्रमुख सचेतक कुवरकान्त झाले पनि एमालेसँग कुनै प्रकारको वार्ता र छलफल नहुने बताए । ‘कांग्रेसका सबै सांसद जनकपुर आइपुगेका छन्,’ झाले भने, ‘सबै सांसदलाई सतर्क अवस्थामा राखिएको छ । मुख्यमन्त्रीले विश्वासको मत पाउने कुनै सम्भावना छैन ।’ 

मुख्यमन्त्रीमा यादवको नियुक्ति विवादित बनेपछि संघ सरकारले तत्कालीन प्रदेश प्रमुख भण्डारीलाई पदबाट हटाएको थियो । उनलाई बर्दिबासको होटलमा मन्त्रीका रूपमा एमालेका लखन दास तत्मा, संघीय समाजवादीकी विमला अन्सारी र राप्रपाकी कञ्चन बिच्छालाई समेत शपथ गराएकी थिइन् ।

अहिले सुरेन्द्र लाभ प्रदेश प्रमुख छन् । यहीबीचमा पदअनुकूल आचरण नगरेको भन्दै प्रदेशसभाले तत्कालीन सभामुख रामचन्द्र मण्डललाई दुईतिहाइ बहुमतको निर्णयबाट पदमुक्त गरेको थियो । मण्डल एमालेका सांसद हुन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully