गलोपा अध्यक्ष प्रसाईंले भने, 'डरलाग्दो कुरा- सिंहदरबार, सर्वोच्च अदालत, अदालत, प्रतिष्ठान, राष्ट्रका धरोहर जले । निजी व्यवसायमा आक्रमण भए । जेन-जी आन्दोलनमा निजी व्यवसायमा आक्रमण भयो, यो तहको आक्रमण यसअघि भएको थिएन ।'
What you should know
कास्की — नेपालको राजनीति, अर्थतन्त्र, समाज र संस्कृति पुरानो तरिकाले चल्दैन भन्ने भदौ २३ र २४ भएको जेन-जी आन्दोलनले देखाएको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा)का अध्यक्ष दिनेश प्रसाईंले बताएका छन् ।
मुलुकको राजनीतिमा सुधार नभएमा समाज र अर्थतन्त्र सुधार नहुने पनि उनको भनाइ छ । गतिशील लोकतान्त्रिक पार्टीले कास्कीको पोखरामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रसाईंले नेपालमा प्रत्येक १० वर्षमा ठूला राजनीतिक आन्दोलन हुने गरेकाले पनि अस्थिरता देखिएको बताए ।
'जेन-जी मुभमेन्टले धेरै कुरा परिवर्तन गरिदिएको छ । अब यो नेपाल पुरानो नेपाल छैन । राजनीति, अर्थतन्त्र, संस्कृति, समाज पुरानो तरिकाले चल्दैन भन्ने देखाइदिएको छ,' प्रसाईंले भने, 'नेपालमा आधुनिक किसिमले राजनीतिक आन्दोलन भइरहेका छन् । प्रत्येक १० वर्षमा राजनीतिक आन्दोलन भइरहेका छन् । समयसँगै आन्दोलन हिंसात्मक पनि हुँदै गएका छन् । अस्तिको आन्दोलन माओवादी कालमा जस्तो हिंसात्मक त थिएन तर घरघर छिर्यो । डरलाग्दो कुरा- सिंहदरबार, सर्वोच्च अदालत, अदालत, प्रतिष्ठान, राष्ट्रका धरोहर जले । निजी व्यवसायमा आक्रमण भए ।'
नेपालको निजी क्षेत्रमा जेन-जी आन्दोलनमा जस्तो आक्रमण यसपहिले नभएको अध्यक्ष प्रसाईंको भनाइ थियो । 'जेन-जी आन्दोलनमा निजी व्यवसायमा आक्रमण भयो । यो तहको आक्रमण यसअघि भएको थिएन,' उनले भने ।
राजनीतिक परिवर्तनसँगै हुने राजनीतिक आन्दोलन हिंसात्मक भइरहेको र त्यसको कारण राजनीति नै रहेको अध्यक्ष प्रसाईंको भनाइ थियो । परिवर्तनसँगै राज्यका संरचनामा परिवर्तन नगर्दा जनतामा राज्य सञ्चालकप्रति आक्रोश बढ्ने गरेको बताउँदै उनले पुरानो सत्ता ढाल्ने र नयाँ सत्ताधारी आउने क्रम चलिरहेको बताए ।
नयाँ सत्ताधारीले पनि जनतामाझ गरेका बाचा पूरा नगर्दा फेरि आन्दोलन हुँदै आएको कुरालाई अब मनन गर्नुपर्ने उनको भनाइ छ । 'छोराछोरी पुस्ताले बाआमा पुस्तालाई जलाउँदै हिँड्ने काम भएको छ । जेन-जी पुस्ताकै राजनीतिक दल गठन भएर चुनाव जिते भने पनि संरचना निर्माण गर्न सकेन भने जेन अल्फाले जेनजी पुस्तालाई जलाउँछ,' गलोपा अध्यक्ष प्रसाईंले भने, 'अब परिवर्तन गर्नुपर्छ, गर्न सम्भव छ । परिवर्तन गर्नका लागि राजनीति नै मिलाउने हो । राजनीति नमिलाउने हो भने अर्थतन्त्र पनि मिल्दैन ।'
अध्यक्ष प्रसाईंले नेपालमा यो स्तरमा राजनीतिक आन्दोलन होला भन्ने नलागेको बताए । केही समययता नेपालमा राजनीतिक आन्दोलन हुने आँकलन गरिएको तर जेन-जी विद्रोहको स्तरमा हुने नसोचिएको उनले बताए ।
'धेरै कुरा परिवर्तन हुनुपर्छ भनेर विभिन्न क्षेत्रका व्यक्तिहरू लागिरहेका थियौं । शिक्षा, स्वास्थ्य, ऊर्जा लगायतका क्षेत्रका व्यक्तिहरूले यो महसुस गरेका थियौं,' उनले भने, '२०८४ को निर्वाचनमा भाग लिने खास योजना थियो । हामी यो समयमा देशभरी गएर हाम्रा एजेन्डा प्रस्तुत गर्दै सबै जनतासँग सरसल्लाह, संवाद गरेर आगामी वैशाखमा पार्टी घोषणा गर्छौं भन्ने थियो । तर जेन-जी मुभमेन्टले धेरै कुरा परिवर्तन गरिदिएको छ । अब यो नेपाल पुरानो नेपाल छैन ।'
