एमाले महाधिवेशन प्रतिनिधि छान्न निर्वाचन : मतदानमा ५० प्रतिशतभन्दा कमको सहभागिता

धनुषा–२ मा १४ हजार संगठित सदस्य रहेकामा १६० मात्र मत खस्यो, उपत्यकाको काठमाडौं र ललितपुरमा समेत ५० प्रतिशत मात्र मतदान ।

मंसिर १६, २०८२

कान्तिपुर संवाददाता

Election to select UML general convention representatives: Less than 50 percent voter turnout

What you should know

काठमाडौँ — नेकपा एमालेको २७–२९ मंसिरमा हुने ११औं महाधिवेशनका प्रतिनिधि चयनका लागि सहमति हुन नसकेका २० जिल्लामा निर्वाचन भएको छ । तर मतदानमा ५० प्रतिशतभन्दा पनि कम संगठित सदस्य मात्र सहभागी भएका छन् । मधेशको धनुषा–२ मा १४ हजार संगठित सदस्य रहेकामा १ सय ६० मात्र मत खसेको छ । सुगम स्थल उपत्यकाको काठमाडौं र ललितपुरमा समेत ५० प्रतिशतभन्दा कम नै मतदान भएको छ ।

ललितपुर–१ मा २ हजार ३ सय ६ संगठित सदस्यमध्ये १ हजार २ सय ८६ जनाले मात्र मतदान गरे । ललितपुर–२ मा १ हजार ५ सय ३८ सदस्य भए पनि ७ सय ६ जना मतदानमा सहभागी भए । ललितपुर–३ मा पनि संगठित सदस्यको सहभागिता आधाजसो मात्र रह्यो, १ हजार ३ सय ९८ सदस्य रहेकामा ७ सय २३ जनाले मात्र मतदान गरे । 

ललितपुरका एमाले अध्यक्ष पुरुषोत्तम आचार्य भन्छन्, ‘सहमतिको प्रयास पनि भएकाले मतदानमा कम सदस्यको सहभागिता रहन पुग्यो ।’ ललितपुरबाट ४ महिला, ३ जना ४० वर्षमुनिका युवा, १ दलित प्रतिनिधि महाधिवेशनका लागि निर्वाचित भएका छन् ।

काठमाडौंबाट ४८ प्रतिनिधि चयन भएका छन् । काठमाडौं–१ मा ४ जना, काठमाडौं–२ मा ५ जना, काठमाडौ–३ मा ५ जना, काठमाडौं–४ मा ५ जना, काठमाडौं– ५ मा ४ जना, काठमाडौं–६ मा ५ जना, काठमाडौं–७ मा ५ जना, काठमाडौं–८ मा ४ जना, काठमाडौं–९ मा ५ जना, काठमाडौं–१० मा ५ जना र एक दलित गरी ४८ जना एमाले महाधिवेशन प्रतिनिधि काठमाडौंबाट चयन भएका छन् । ४८ प्रतिनिधिमध्ये १५ महिला, ४० वर्षमुनिका १० युवा र दलित एक छन् ।

काठमाडौंमा निर्वाचन क्षेत्र–१० बाहेक अरूमा एमाले महाधिवेशन प्रतिनिधि छान्न चुनाव भयो । ‘महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएका काठमाडौंका ९ वटा क्षेत्रमा ५० प्रतिशतसम्म मत खस्यो,’ एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला भन्छन्, ‘सहमतिको प्रयास गर्दागर्दै ढिला भयो, त्यसैले मतदानमा सदस्यको संख्या बढ्न सकेन ।’

मकवानपुर–१ मा पनि एमाले महाधिवेशन प्रतिनिधि छान्न चुनाव भएको थियो । यहाँ ४ हजार १ सय ९ जना संगठित सदस्य मतदाता रहेकामा १ हजार ५ सय ४७ ले मतदान गरे । निर्वाचनबाट तीन महिला र युवासहित ८ जना निर्वाचित भएका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा संगठित सदस्य १८ हजार ३ सय ३६ रहे पनि करिब आधाले मात्र मतदान गरे । जिल्ला अध्यक्ष प्रेम गिरीका अनुसार झापामा करिब ५६ प्रतिशत सदस्य मात्र मतदानमा सहभागी भए । 

एमालेभित्र ओलीइतर समूह प्रभावशाली मानिने मोरङमा पनि स्थिति उस्तै देखियो । २३ हजार १ सय ७८ संगठित सदस्य रहेको मोरङमा करिब ५५ प्रतिशत सदस्यले मात्र महाधिवेशन प्रतिनिधि छान्न मतदाता गरेको जिल्ला सचिव सोमराज थापाले बताए । 

विवादमा आएको धनकुटाको अवस्था पनि भिन्न रहेन । ८ हजार २ सय ३६ मतदातामध्ये ४ हजार ६ सय ८८ ले मात्र मतदान गरे, यसले करिब ५७ प्रतिशत सहभागिता देखाउँछ ।

सुनसरीमा भने ११ हजार ५ सय संगठित सदस्यमध्ये करिब ७ हजारले मतदान गरेको एमाले जिल्ला कमिटीले जनाएको छ । यहाँ करिब ६० प्रतिशत संगठित सदस्य मतदानमा सहभागी भएको देखिन्छ । 

झापा, मोरङ, धनकुटा लगायतका केही स्थानीय तहमा विवाद बढेपछि मतदानदेखि मतगणना प्रक्रियासम्म समस्या देखिएको थियो । कतिपय मतदान केन्द्रमा मतदाता लामबद्ध हुन समय लाग्नु, सूची व्यवस्थापनमा कमजोरी देखिनु र गुटबन्दीका कारण दुवै पक्षले आ–आफ्नो रणनीति कडाइका साथ अपनाउनुले पनि वातावरण जटिल बनेको टिप्पणी स्थानीय नेताहरूको छ । 

‘आधा हाराहारी मात्र सहभागिता देखिनु भनेको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाप्रति सदस्यको उत्साह अपेक्षाकृत कम भएको संकेत हो,’ एमालेका एक प्रदेश कमिटी सदस्यले भने । उनका अनुसार असन्तुष्ट नेतृत्व, स्थानीय तहमा देखिएका उपसमूहका गतिविधि र संगठनभित्रको शक्ति–समीकरणले पनि मतदाताको मनोबलमा प्रभाव पारेको छ ।

यस्तै मधेशमा तीन जिल्ला धनुषा, महोत्तरी र सिरहाका एक/एक निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनका लागि निर्वाचन भयो । धनुषा–२ मा १४ हजार सदस्य भएकामा १ सय ६० सदस्यले मात्र मतदान गरे । १९ प्रतिनिधिमध्ये ६ महिला र एक ४० वर्षमुनिका युवा चयन भएका छन् । 

महोत्तरी–१ र ४ मा प्रतिनिधि छान्न निर्वाचन भएको थियो । महोत्तरी–१ मा ६ हजार १० मतदाता रहेकामा ८ सय ९६ मात्र मत खसेको थियो । त्यस्तै क्षेत्र नम्बर ४ मा १२ हजार ८ सय ५२ सदस्यमध्ये ३ हजार ७ सय ७ ले मात्र मतदान गरेका थिए । सिरहा–१ मा ३ हजार २ सय सदस्यमध्ये १ हजार ५ सय ६२ जना मात्र मतदानमा सहभागी भए । सिरहा एमाले उपाध्यक्ष नवीन यादवले सर्वसम्मत प्रयास गर्दा ढिलाइ भएकाले अपेक्षाकृत सदस्य मतदाता सहभागी हुन नसकेको बताए ।

गण्डकीका गोरखा, लमजुङ र तनहुँमा महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन भएको थियो । तनहुँ–१ मा करिब ५० प्रतिशत र लमजुङमा २० प्रतिशत मत खसेको थियो । लमजुङमा एमालेको संगठित सदस्य ५ हजार ४ सय ७३ रहेकामा १ हजार ९ सय १६ मात्र मत खसेको थियो । खुलातर्फ १ हजार ६ सय ९३ र दलिततर्फ २ सय २३ मत खसेको थियो । तनहुँ–१ मा २ हजार ३५ मतदाता रहेकामा १ हजार एक ६६ मत खसेको छ । गोरखा–१ मा १ हजार २ सय संगठित सदस्य भए पनि ४ सय ९७ ले मात्र मतदान गरे । 

कर्णालीमा भने रुकुम पश्चिममा मात्र एमाले महाधिवेशन प्रतिनिधि छान्न मतदान भएको थियो । रुकुम पश्चिममा संगठित सदस्य २ हजार ६५ भएकामा ३ सय ५४ जनाले मात्र मतदान गरेका थिए । यो १७ प्रतिशत मात्र सहभागिता हो । 

लुम्बिनीमा मतदान भएका जिल्लामा पनि ५० प्रतिशत हाराहारीमा मात्र एमालेका संगठित सदस्यले भाग लिएका छन् । एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार लुम्बिनीका अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी र रूपन्देहीका २ वटा निर्वाचन क्षेत्रमा चुनावमार्फत प्रतिनिधि छनोट भएका थिए । 

रूपन्देही–१ मा २ हजार ६ सय ३० सदस्य रहेकामा १ हजार ४ सय ५ मत मात्र खसेको थियो । रूपन्देही–२ मा ६ हजार ५२ सदस्यमध्ये १ हजार ९ सय ७८ जना मतदान गरे । रूपन्देही–१ बाट ६ जना र रूपन्देही–२ बाट १० जना प्रतिनिधि चयन भएका छन् ।

अर्घाखाँचीमा ७ हजार ८ सय ३३ संगठित सदस्य थिए । तीमध्ये दलित कलस्टरबाट १ हजार २ सय २७ मत घटाएर खुला प्रतिनिधि छनोटका लागि ६ हजार ६ सय ६ जना मतदाताको सूची तयार भएको थियो । तर, तीमध्ये ३ हजार ६ सय ४९ जनाको मात्र मत खसेको थियो । 

अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल भन्छन्, ‘पहिलो त भूगोल बाहिर कपिलवस्तु, बुटवल, काठमाडौंमा ठूलो संख्यामा पार्टी सदस्य छन्, दोस्रो त्यही दिन विवाहको लगन, कुलपूजा लगायतका धार्मिक कार्य परेकाले पनि कम मतदान भयो ।’ अर्घाखाँचीबाट १३ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

यस्तै, पाल्पा–१ मा ३ हजार ५ सय सदस्य रहेकामा ४ सय ५७ र पाल्पा–२ मा ३ हजार १ सय सदस्य रहेकामा ८ सय ५ जनाले मात्र मतदान गरे । एमाले अध्यक्ष ओमबहादुर घर्तीले नजिकका संगठित सदस्य मात्र निर्वाचन प्रक्रियामा सहभागी भएको बताए ।

यस्तै नवलपुर–१ मा ३ हजार ७ सय ४२ संगठित सदस्यमध्ये १ हजार ८ सय ४५ ले मात्र मतदान गरे । नवलपुर–२ मा ३ हजार ३ सय ४२ सदस्यमध्ये १ हजार ३ सय ८ जना मात्र मतदानमा सहभागी भए । एमाले लुम्बिनी प्रदेश अध्यक्ष कँडेलका अनुसार लुम्बिनी प्रदेशमा ८२ हजार १ सय ३५ सदस्यमध्येबाट १ सय ९० जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । आठ जिल्लाबाट प्रतिनिधि निर्विरोध चुनिएको उनले बताए । 

सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटा निर्वाचन क्षेत्रमा मतदानद्वारा एमाले महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

कैलाली–१ मा १ हजार ३५ सदस्यमध्ये ५ सय ४ मत मात्र खसेको छ । कैलाली–४ मा ३ हजार १ सय ३९ संगठित सदस्य रहेकामा ८ सय ८२ जनाले मात्र मतदान गरे । कैलाली–५ मा ३ हजार ८ सय ४३ मतदाता रहेकामा १ हजार १ सय ५८ मत मात्र खस्यो । अधिकांश संगठित सदस्य जिल्ला बाहिर रहेको र कतिपयमा उत्साह नभएकाले न्यून मतदान भएको कैलालीका जिल्ला कमिटी उपसचिव चूडामणि भट्ट बताउँछन् । 

कञ्चनपुर–१ मा २ हजार ८७ सदस्यमध्ये १ हजार ६० जनाले मतदान गरे । कञ्चनपुर–३ मा १ हजार ३ सय ८२ मतदाता रहेकामा ८ सय १६ मात्र मत खसेको छ ।

'दलप्रति संगठित सदस्यकै लगाव घट्दै'

दलको सम्मेलनलाई राजनीतिक उत्सवका रूपमा लिइँदै आए पनि एमाले महाधिवेशन प्रतिनिधि चयनमा पार्टीकै संगठित सदस्यको उपस्थिति न्यून हुनु दलप्रतिको लगाव घट्दै गएको टिप्पणी राजनीतिकशास्त्रीले गरेका छन् । 

‘महाधिवेशन प्रतिनिधि छान्न पार्टीका संगठित सदस्यको सहभागिता कम हुनु भनेको दलप्रति लगाव र चासो घट्दै गएको राजनीतिक सन्देश हो,’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘आमनिर्वाचन भएमा अर्कै कुरा हो । महाधिवेशनका लागि प्रतिनिधि छान्न शतप्रतिशत नजिक मत खसेको हुनुपर्थ्यो । संगठित सदस्यबाट बढीमा ५० प्रतिशत मात्र मत खस्नु पार्टीप्रति विश्वास डगमगाएको अवस्था हो ।’

उनले महाधिवेशन पार्टी जीवनमा उत्सव भए पनि त्यसमा मत हाल्न नआउनु भनेको पार्टीप्रतिको भरोसा कम हुँदै गएको स्पष्ट संकेत भएको बताए । ‘जेन–जी आन्दोलनपछि पुराना पार्टीहरूप्रति आफ्नै सदस्यको विश्वास घट्दै गएको संकेत हो,’ उनले भने ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कम मतदान भए पनि फरक नपर्ने मनोविज्ञानले काम गर्दा मतदानमा सहभागिता घटेको बताए । ‘कम मतदान भए पनि आफ्नै कमरेड छानिने हो भन्ने मनोविज्ञानले काम गरेको हुनुपर्छ,’ उनले भने, ‘धेरै ठाउँमा सर्वसम्मत भएकाले पनि सदस्यहरू आ–आफ्नो काममा व्यस्त भए ।’ 

- गंगा बीसी (काठमाडौं), पर्वत पोर्तेल (विराटनगर), अजित तिवारी (जनकपुर), सुवास बिडारी (हेटौंडा), आश गुरुङ (लमजुङ), सम्झना रसाइली (तनहुँ), घनश्याम गौतम (बुटवल), महेश केसी (रुकुम) र अर्जुन शाह (धनगढी)

कान्तिपुर

Link copied successfully