खुट्टा गुमाएका राजेशले अस्पतालको बेडबाटै जन्माए नयाँ पार्टी

उनी भन्छन्- 'अन्तरिम सरकारले जेन-जीको माग पूरा गर्न सकेन । सहिद र घाइतेको सपना मरेको छ, त्यो सपना साकार पार्न पार्टी दर्ता गरेको हुँ ।’

मंसिर १३, २०८२

पर्वत पोर्तेल

Rajesh, who lost his leg, founded a new party from his hospital bed

विराटनगर — २३ भदौमा इलामको सुर्योदय नगरपालिका–१० फिक्कलका २८ वर्षीय राजेश पोर्तेल विर्तामोडस्थित सुनचाँदी कारखानामा दैनिकजस्तै काममा व्यस्त थिए । 

त्यहीबेला काठमाडौंमा १९ जना विद्यार्थीमाथि राज्यबाटै भएको नरसंहारको खबर फैलिएको थाहा पाए । त्यो खबरले उनको मन एकाएक चिरियो । औजार हातमै छाडेर उनी भदौ २४ को बिहानै सडकतर्फ निस्किए । यस्तो घटनामा ‘चुप बस्न मिल्दैन’ भन्ने एकै आवाजले उनलाई तान्यो । 

देशभरै आन्दोलनको आगो फैलिसकेको थियो । राजेश पनि हजारौं आक्रोशित युवाको भिडमा मिसिए । उनी शान्तिपूर्ण जुलुसमा सहभागी भएर फर्कने सोचका साथ निस्किएका हुन् । तर, सडकको ऊर्जाले उनलाई फर्किन दिएन । आन्दोलन चर्कदै गयो, भिड उग्र बन्दै गयो । 

विर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि तनाव बढ्यो । आन्दोलनकारी झन् आक्रोशित हुँदै प्रहरीमाथि जाइलाग्न थाले । प्रहरी पनि प्रतिकारमा ओर्लियो । त्यही भिडभाडमा राजेशका अघिल्तिर प्रहरीको गोली लागेर पाँथचरका कमल भण्डारी ढले । त्यो घटनापछि भिड झनै भड्कियो । ‘आगोमा घिउ’ थपिएझैं भयो । 

आन्दोलनकारी–प्रहरीबीचको भिडन्तवाट उम्किएर राजेश भाग्दै थिए । अचानक एउटा ठूलो आवाज आयो । ग्यास सिलिन्डर विस्फोट भएछ । उनलाई केही थाहा भएन । उनी सडकमा लडे । दायाँ खुट्टा उछिट्टिएर अलि पर पुग्यो । 

प्रहरी गोली चलाइरहेकै थियो । भिड तितरबितर हुँदै थियो । सबै ज्यान बचाउन दौडिरहेका थिए । तर, उनका दुई साथी मात्रै फर्किए । एकले राजेशलाई काँधमा उचाले, अर्कोले छुट्टिएको खुट्टा उठाए । ज्यानको बाजी थापेर राजेशलाई घिसार्दै बीएन्डसी अस्पताल पुर्‍याए । 

Rajesh, who lost his leg, founded a new party from his hospital bed

‘अस्पताल पुर्‍याउन ढिला भएको भए म पनि आज सहिदको सूचीमा हुन्थेँ,’ राजेश त्यो दिन सम्झिन्छन्, ‘जेन-जी साथीहरुको सहयोग र अस्पतालको उपचारले ज्यान बच्यो ।’ 

दुई साता लामो उपचारपछि उनको शरीर त बाँच्यो, तर खुट्टा फर्किएन । घाउ अझै पनि पूरै निको भइसकेको छैन । उनी निरन्तर फलोअपमा छन् । 

अपरेसनको सबै खर्च अस्पतालले व्यहोरे पनि त्यसपछिका सबै उपचार खर्च उनी स्वयंले धाने । राज्यबाट भने एकसुको सहयोग पनि नपाएको उनले गुनासो पोखे । 

सुन–चाँदी कारखाना यतिबेला बन्द छ ।

दुबईमा काम गर्दै आएकी  श्रीमती पनि सबै छाडेर फर्किएकी छन् । तर, घरमै रहेकी आमा जापान उडेको डेढ महिना जति भयो । 

‘खुट्टा पुर्ण रुपमा निको भइसकेको छैन’, उनी भन्छन्,‘परिवार पाल्ने जिम्मेवारी पनि मेरै काँधमा छ ।’ 

उनकी ७ वर्षकी छोरी छन् । सानैमा बुबा गुमाएका उनी र भाइलाई आमाले निक्कै संघर्ष गरेर हुर्काएकी थिइन् । राजेश १० कक्षासम्म मात्रै पढ्न पाए । तर भाइलाई चाहिँ आफूले पढ्ने धोको पनि पुरा गरे । भाइ अहिले नेपाल प्रहरीमा कार्यरत छन् । 

नयाँ पार्टीको जन्म 

अस्पतालको ओछ्यानमै लडिरहेका बेला राजेशको मनमा एउटा विचार पलायो, नयाँ पार्टी बनाउने । 

उनले नजिकका साथीहरुसँग सल्लाह गरे । फेसबुक र टिकटकमा उनीसँग जोडिएका युवाहरूले समेत उत्साह दिए । अनि अस्पतालमै बसेर उनले निर्वाचन आयोगमा पार्टी दर्ता गराउने प्रक्रिया सुरु गरे । 

अन्ततः घाइतेको घाउबाटै जन्मियो, राष्ट्रिय परिवर्तन पार्टी । 

गत कात्तिक ३० मा दर्ता भएको पार्टीमा संयोजक उनी स्वयं छन् ।  २१ सदस्यीय केन्द्रीय समिति बनेको छ । पार्टीमा  सबै जाति, लिङ्ग, क्षेत्र र समुदायको समावेशी प्रतिनिधित्व गरेको छन् । 

Rajesh, who lost his leg, founded a new party from his hospital bed

उनले आगामी चुनावमा भाग लिएर जितेर जेन-जीको आवाज केन्द्रीय राजनीतिमा बुलन्द पार्ने पार्टीको योजना छ । 

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले सहकार्यका लागि प्रस्ताव गरिरहेको छ । तर, अहिले नै उनीहरुले निर्णय गरेका छैनन् । भविष्यमा त्यो र अन्य पार्टीसँग पनि सहकार्य हुन सक्ने उनी बताउँछन् । 

पार्टीका मूल्य–मान्यता लोकतन्त्रका आदर्श गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षताअनुसार चलाइने उनको भनाइ छ । दलित समुदाय, घाइते र सहिद परिवारलाई विशेष प्राथमिकता दिने योजना बनाउँदै छन् । 

सामाजिक सञ्जालमार्फत अहिलेसम्म ५० हजारभन्दा धेरै युवा पार्टीमा जोडिइसकेको दाबी उनको छ । 

 ‘अन्तरिम सरकारले जेन-जीको माग पूरा गर्न सकेन । सहिद र घाइतेको सपना मरेको छ,' राजेश अस्पतालको बेडबाटै देश बदल्ने सपना बुनिरहेका राजेश भन्छन्, 'त्यो सपना साकार पार्नका लागि पार्टी दर्ता गरेको हुँ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully