खुट्टा गुमाएका राजेशले अस्पतालको बेडबाटै जन्माए नयाँ पार्टी

उनी भन्छन्- 'अन्तरिम सरकारले जेन-जीको माग पूरा गर्न सकेन । सहिद र घाइतेको सपना मरेको छ, त्यो सपना साकार पार्न पार्टी दर्ता गरेको हुँ ।’

मंसिर १३, २०८२

पर्वत पोर्तेल

Rajesh, who lost his leg, founded a new party from his hospital bed

विराटनगर — २३ भदौमा इलामको सुर्योदय नगरपालिका–१० फिक्कलका २८ वर्षीय राजेश पोर्तेल विर्तामोडस्थित सुनचाँदी कारखानामा दैनिकजस्तै काममा व्यस्त थिए । 

त्यहीबेला काठमाडौंमा १९ जना विद्यार्थीमाथि राज्यबाटै भएको नरसंहारको खबर फैलिएको थाहा पाए । त्यो खबरले उनको मन एकाएक चिरियो । औजार हातमै छाडेर उनी भदौ २४ को बिहानै सडकतर्फ निस्किए । यस्तो घटनामा ‘चुप बस्न मिल्दैन’ भन्ने एकै आवाजले उनलाई तान्यो । 

देशभरै आन्दोलनको आगो फैलिसकेको थियो । राजेश पनि हजारौं आक्रोशित युवाको भिडमा मिसिए । उनी शान्तिपूर्ण जुलुसमा सहभागी भएर फर्कने सोचका साथ निस्किएका हुन् । तर, सडकको ऊर्जाले उनलाई फर्किन दिएन । आन्दोलन चर्कदै गयो, भिड उग्र बन्दै गयो । 

विर्तामोडस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि तनाव बढ्यो । आन्दोलनकारी झन् आक्रोशित हुँदै प्रहरीमाथि जाइलाग्न थाले । प्रहरी पनि प्रतिकारमा ओर्लियो । त्यही भिडभाडमा राजेशका अघिल्तिर प्रहरीको गोली लागेर पाँथचरका कमल भण्डारी ढले । त्यो घटनापछि भिड झनै भड्कियो । ‘आगोमा घिउ’ थपिएझैं भयो । 

आन्दोलनकारी–प्रहरीबीचको भिडन्तवाट उम्किएर राजेश भाग्दै थिए । अचानक एउटा ठूलो आवाज आयो । ग्यास सिलिन्डर विस्फोट भएछ । उनलाई केही थाहा भएन । उनी सडकमा लडे । दायाँ खुट्टा उछिट्टिएर अलि पर पुग्यो । 

प्रहरी गोली चलाइरहेकै थियो । भिड तितरबितर हुँदै थियो । सबै ज्यान बचाउन दौडिरहेका थिए । तर, उनका दुई साथी मात्रै फर्किए । एकले राजेशलाई काँधमा उचाले, अर्कोले छुट्टिएको खुट्टा उठाए । ज्यानको बाजी थापेर राजेशलाई घिसार्दै बीएन्डसी अस्पताल पुर्‍याए । 

Rajesh, who lost his leg, founded a new party from his hospital bed

‘अस्पताल पुर्‍याउन ढिला भएको भए म पनि आज सहिदको सूचीमा हुन्थेँ,’ राजेश त्यो दिन सम्झिन्छन्, ‘जेन-जी साथीहरुको सहयोग र अस्पतालको उपचारले ज्यान बच्यो ।’ 

दुई साता लामो उपचारपछि उनको शरीर त बाँच्यो, तर खुट्टा फर्किएन । घाउ अझै पनि पूरै निको भइसकेको छैन । उनी निरन्तर फलोअपमा छन् । 

अपरेसनको सबै खर्च अस्पतालले व्यहोरे पनि त्यसपछिका सबै उपचार खर्च उनी स्वयंले धाने । राज्यबाट भने एकसुको सहयोग पनि नपाएको उनले गुनासो पोखे । 

सुन–चाँदी कारखाना यतिबेला बन्द छ ।

दुबईमा काम गर्दै आएकी  श्रीमती पनि सबै छाडेर फर्किएकी छन् । तर, घरमै रहेकी आमा जापान उडेको डेढ महिना जति भयो । 

‘खुट्टा पुर्ण रुपमा निको भइसकेको छैन’, उनी भन्छन्,‘परिवार पाल्ने जिम्मेवारी पनि मेरै काँधमा छ ।’ 

उनकी ७ वर्षकी छोरी छन् । सानैमा बुबा गुमाएका उनी र भाइलाई आमाले निक्कै संघर्ष गरेर हुर्काएकी थिइन् । राजेश १० कक्षासम्म मात्रै पढ्न पाए । तर भाइलाई चाहिँ आफूले पढ्ने धोको पनि पुरा गरे । भाइ अहिले नेपाल प्रहरीमा कार्यरत छन् । 

नयाँ पार्टीको जन्म 

अस्पतालको ओछ्यानमै लडिरहेका बेला राजेशको मनमा एउटा विचार पलायो, नयाँ पार्टी बनाउने । 

उनले नजिकका साथीहरुसँग सल्लाह गरे । फेसबुक र टिकटकमा उनीसँग जोडिएका युवाहरूले समेत उत्साह दिए । अनि अस्पतालमै बसेर उनले निर्वाचन आयोगमा पार्टी दर्ता गराउने प्रक्रिया सुरु गरे । 

अन्ततः घाइतेको घाउबाटै जन्मियो, राष्ट्रिय परिवर्तन पार्टी । 

गत कात्तिक ३० मा दर्ता भएको पार्टीमा संयोजक उनी स्वयं छन् ।  २१ सदस्यीय केन्द्रीय समिति बनेको छ । पार्टीमा  सबै जाति, लिङ्ग, क्षेत्र र समुदायको समावेशी प्रतिनिधित्व गरेको छन् । 

Rajesh, who lost his leg, founded a new party from his hospital bed

उनले आगामी चुनावमा भाग लिएर जितेर जेन-जीको आवाज केन्द्रीय राजनीतिमा बुलन्द पार्ने पार्टीको योजना छ । 

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले सहकार्यका लागि प्रस्ताव गरिरहेको छ । तर, अहिले नै उनीहरुले निर्णय गरेका छैनन् । भविष्यमा त्यो र अन्य पार्टीसँग पनि सहकार्य हुन सक्ने उनी बताउँछन् । 

पार्टीका मूल्य–मान्यता लोकतन्त्रका आदर्श गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षताअनुसार चलाइने उनको भनाइ छ । दलित समुदाय, घाइते र सहिद परिवारलाई विशेष प्राथमिकता दिने योजना बनाउँदै छन् । 

सामाजिक सञ्जालमार्फत अहिलेसम्म ५० हजारभन्दा धेरै युवा पार्टीमा जोडिइसकेको दाबी उनको छ । 

 ‘अन्तरिम सरकारले जेन-जीको माग पूरा गर्न सकेन । सहिद र घाइतेको सपना मरेको छ,' राजेश अस्पतालको बेडबाटै देश बदल्ने सपना बुनिरहेका राजेश भन्छन्, 'त्यो सपना साकार पार्नका लागि पार्टी दर्ता गरेको हुँ ।’

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully